मंगलबार, जेठ ६, २०८२

गण्डकीमा नयाँ सरकार गठन

देउवा निवास बूढानीलकण्ठमा विपक्षी पाँच दलको बैठक, गण्डकीमा एमालेका एक सांसद चोर्ने !

माधव नेपाल पक्षका १ सांसद विपक्षीकाे ताराेमा

मेरोन्यूज २०७८ जेठ २७ गते २१:१८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध एक भएर लडेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी पाँच दल आगामी रणनीति बनाउन जुटेका छन् ।

ओली र ओली प्रवृत्तिलाई परास्त गर्ने भन्दै मोर्चाबन्दीमा कसिएका उनीहरु संघीय सरकारबाट केपी ओली र विभिन्न प्रदेशमा रहेका ओली गुटका मुख्यमन्त्री हटाउन लागि परेका छन् ।

सोही क्रममा विपक्षी गठबन्धनले नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री रहेका कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिएर जोगाएका छन् भने ओली गुटको मुख्यमन्त्री रहेका प्रदेशमा सरकार परिवर्तन गर्न कम्मर कसेर लागेका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सत्तारुढ दल नेकपा (एमाले) कै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले साथ दिएर उनको सरकार जोगाइदिएको छ । यस्तै गत महिना कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार पनि कांग्रेस र एमालेको माधव नेपाल पक्षले जोगाइदिएको थियो ।

गण्डकीमा विपक्षी गठबन्धन सरकार बनाउने तयारीमा जुट्याे

कर्णाली र सुदूरपश्चिम सरकार जोगाएपछि विपक्षी गठबन्धनको ध्यान अहिले गण्डकी प्रदेशमा केन्द्रित भएको छ । गण्डकी प्रदेशमा ओलीको विश्वासपात्र पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री छन् । उनले आज प्रदेशसभाबाट विश्वासको मत पाउन सकेनन् ।

कुल ६० प्रदेशसभा सदस्यमध्ये उनको पक्षमा २७ मत खस्यो भने विपक्षमा ३० मत खस्यो । प्रदेशसभामा बहुमतका लागि ३१ मत पुर्याउनुपर्छ ।
गण्डकी प्रदेशमा ओली बाहेकको सरकार बनाउन आवश्यक रणनीति तय गर्ने विषयमा आज साँझ कांग्रेस सभापति देउवा निवासमा विपक्षी ५ दलको बैठक बसेको थियो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराई र जनमोर्चाका संघीय सांसद दुर्गा पौडेल सहभागी थिए ।

छलफलले विपक्षी दलबीच बलियो गठबन्धन गरेर जाँदा जुनजुन प्रदेशमा विपक्षीको सकरकार बन्न सक्छ त्यहाँ सरकार बनाउने निर्णय गरेको स्रोतको दाबी छ ।

गण्डकी प्रदेशमा विपक्षीको बहुमतका लागि १ सांसद आवश्यक परेको अवस्थामा कसरी बहुमत पुर्याउने भन्ने विषमा पनि शीर्ष नेताबीच छलफल भएको थियो । गण्डकी प्रदेशसभामा एमालेको २७, कांग्रेसको १५, माओवादी केन्द्रको १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टी (जसपा) को २ र स्वतन्त्र १ सांसद छन् ।

जनमोर्चाका एक सांसदले यसअघि नै पार्टी निर्णयविपरित गएर मुख्यमन्त्रीलाई समर्थन गर्ने बताउँदै आइरहेका छन् । यसो गर्दा विपक्षी दलसँग सरकार बनाउने मत पुग्दैन । गुरुङको मन्त्रिपरिषद्मा रहेका दिपक मनाङे सरकार छाडेर विपक्षी गठबन्धनमा आएका छन् । त्यति गर्दा पनि विपक्षीलाई १ सांसद्को खाँचो छ ।

अन्य प्रदेशमा एमालेको नेपाल पक्षका सांसदको संख्या उल्लेख्य भए पनि गण्डकी प्रदेशमा भने नेपाल पक्षीय सांसद १ जना मात्र रहेका छन् ।
विपक्षी गठबन्धनमा नेपाल पक्षका उनै सांसदलाई सामेल गराउने विषयमा बूढानीलकण्ठमा नेता नेपालसँग छलफल भएको स्रोतले बतायो । छलफलमा माधव नेपालले विपक्षीलाई बहुमत पुग्ने अवस्थामा उनलाई सहयोग गर्न लगाउन सकिनेमा सहमति जनाएका छन् ।

गण्डकीका मुख्यमन्त्री गुरुङ पदमुक्त

मुख्यमन्त्री पदमुक्त भएपछि विपक्षी गठबन्धन नयाँ सरकार बनाउने तयारीमा जुटेका छन् । उनीहरूले संविधानकाे धारा १६८ (५) अनुसार प्रदेशसभाकाे बहुमत पुर्याएर नयाँ सरकार बनाउन तयारीमा लागेका हुन् । प्रदेशसभामा भएकाे मतदानमा मुख्यमन्त्री गुरुङले राखेकाे विश्वासकाे मतकाे पक्षमा २७ र विपक्षमा ३० मत खसेकाे थियाे ।

गण्डकी प्रदेशसभामा कूल ६० सदस्य रहेकामा विश्वासको मतका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्थ्याे । बैठकमा ५८ प्रदेशसभा सदस्य उपस्थित भएकामा मतदान प्रक्रियामा ५७ जना सहभागी हुनाका साथै एक जना तटस्थ रहे । मनाङ, प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ मतदान प्रक्रियामा अनुपस्थित भए ।

विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णचन्द्र पाेखरेललाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरिएकाे छ । विपक्षी गठबन्धन नयाँ सरकार बनाउन आवश्यक बहुमत पुर्याउने तयारीमा जुटेकाे उनले बताए । ‘बहुमत पुग्ने निश्चित छ । प्रदेश प्रमुखले आह्वान गरेपछि हामी प्रस्ताव लिएर जान्छाैं’, उनले भने ।

प्रतिक्रिया