कांग्रेसका तर्फबाट गण्डकी प्रदेशकाे नेतृत्व गर्न लागेका कृष्णचन्द्र काे हुन् ?

काठमाडाैं । गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोचा स्वतन्त्रका दिपक मनाङेसहितले कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रूपमा अघि सारेका छन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न नसकी पदमुक्त भएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८(५) अनुसार भोलि दिनको ३ बजेसम्म प्रदेश सभाका कुनै पनि सदस्यलाई बहुमतको आधारमा सरकार दावी गर्न समय दिएकी थिइन् ।
सोही आधारमा कांग्रेसका कृष्णचन्द्रले आजै बहुमत सांसदको हस्ताक्षर र शशरीर उपस्थित भएर मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
को हुन् त पोखरेल ?
गोवर्द्धन शर्मा र द्राैपदा शर्माको कोखबाट २००६ साल मंसिर १३ गते जन्मेका कृष्णचन्द्र परिवारमा माइला छोरा हुन् । जेठा दाजु रामचन्द्र पोखरेल जिल्ला विकास समिति तनहुँ पूर्वसभापति हुन् । उनले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामै समय सचिवको जिम्मेवारी पनि पाए ।
साइँला भाइ जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजनाका पूर्वउपाध्यक्ष हुन् । उनका कान्छा भाइ अमेरिका बस्छन् । बाबु गोवर्द्धन नै राणा शासनको विरोधमा नेपाली कांग्रेसमा लागेर क्रियाशील रहे । बाबु पनि कांग्रेसकाे केन्द्रीय सदस्य समेत भए । ७१ वर्षे कृष्णचन्द्रले तनहुँमा जन्मेर विद्यार्थी राजनीति पनि त्यहीबाट सुरु गरेका थिए ।
२०२८ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य बने उनी । प्रजातान्त्रिक आन्दोलनकै क्रममा उनी ६ पटक जेल परेका छन् । २०३५ सालको विद्यार्थी आन्दोलनमा कास्की कारागारमा दुई पटक गरेर ५ महिना जेल जीवन बिताएका छन् । २०३७ सालको जनमतसंग्रहका क्रममा फेरि ८ महिना कास्की कारागारमै बसे । २०३८ सालमा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेपेका पोखरेलले अर्को २ महिना जेलमा बसे ।
देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा गर्यो । नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर १ वर्ष फेरि जेल परे । २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि राखिए । त्यसपछि ९ महिना पाल्पा जेल बसे ।
२०४८ को अधिवेशनपछि पोखरेल निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए । २०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । २०६२/६३ सालको जनआन्दोलनमा उनले नवलपुरको कमान्ड सम्हाले । त्यो बेला पनि पनि उनले जेल परे ।
कांग्रेसको १२औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७० सालको संविधानसभा चुनावमा कृष्णचन्द्र ३२५ मतले पराजित भए । उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रेका थिए । संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा पूर्वीनवलपरासी १ (क) बाट कांग्रेस उम्मेदवार बने ।
वाम गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी उनी गण्डकी प्रदेश सभा सदस्य बन्न सफल भए । गण्डकी प्रदेशमा १५ सांसद रहेको कांग्रेसका कृष्णचन्द्र संसदीय दलका नेता हुन् । अहिलेसम्म कांग्रेस प्रमुख प्रतिपक्षी दल छ । कृष्णचन्द्र प्रमुख प्रतिपक्षी दलका नेता थिए ।
प्रमुख प्रतिपक्षी दल हुने बेलामा उनले प्रदेश सभाका कामकारवाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन जहिल्यै क्रियाशील रहे । बजेट बाँडफाँटमा सरकारको मनोमानी होस या निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सांसदलाई गरिएको विभेदका विषयमा होस उनले संसदमा सशक्त आवाज उठाए ।
भारतको दरभंगाबाट मानविकीमा स्नातक गरेका पोखरेलले पछि नेपालकै त्रिभुवन विश्वविद्यालयबाट कानूनमा पनि स्नातक गरे । प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिए । त्यसपछि उनी माध्यमिक शिक्षाका लागि भारत पुगेका हुने । माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका कृष्णचन्द्र दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किए ।
प्रतिक्रिया