कांग्रेसका तर्फबाट गण्डकी प्रदेशकाे नेतृत्व गर्न लागेका कृष्णचन्द्र काे हुन् ?

काठमाडाैं । गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोचा स्वतन्त्रका दिपक मनाङेसहितले कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रूपमा अघि सारेका छन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न नसकी पदमुक्त भएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८(५) अनुसार भोलि दिनको ३ बजेसम्म प्रदेश सभाका कुनै पनि सदस्यलाई बहुमतको आधारमा सरकार दावी गर्न समय दिएकी थिइन् ।
सोही आधारमा कांग्रेसका कृष्णचन्द्रले आजै बहुमत सांसदको हस्ताक्षर र शशरीर उपस्थित भएर मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
को हुन् त पोखरेल ?
गोवर्द्धन शर्मा र द्राैपदा शर्माको कोखबाट २००६ साल मंसिर १३ गते जन्मेका कृष्णचन्द्र परिवारमा माइला छोरा हुन् । जेठा दाजु रामचन्द्र पोखरेल जिल्ला विकास समिति तनहुँ पूर्वसभापति हुन् । उनले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामै समय सचिवको जिम्मेवारी पनि पाए ।
साइँला भाइ जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजनाका पूर्वउपाध्यक्ष हुन् । उनका कान्छा भाइ अमेरिका बस्छन् । बाबु गोवर्द्धन नै राणा शासनको विरोधमा नेपाली कांग्रेसमा लागेर क्रियाशील रहे । बाबु पनि कांग्रेसकाे केन्द्रीय सदस्य समेत भए । ७१ वर्षे कृष्णचन्द्रले तनहुँमा जन्मेर विद्यार्थी राजनीति पनि त्यहीबाट सुरु गरेका थिए ।
२०२८ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य बने उनी । प्रजातान्त्रिक आन्दोलनकै क्रममा उनी ६ पटक जेल परेका छन् । २०३५ सालको विद्यार्थी आन्दोलनमा कास्की कारागारमा दुई पटक गरेर ५ महिना जेल जीवन बिताएका छन् । २०३७ सालको जनमतसंग्रहका क्रममा फेरि ८ महिना कास्की कारागारमै बसे । २०३८ सालमा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेपेका पोखरेलले अर्को २ महिना जेलमा बसे ।
देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा गर्यो । नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर १ वर्ष फेरि जेल परे । २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि राखिए । त्यसपछि ९ महिना पाल्पा जेल बसे ।
२०४८ को अधिवेशनपछि पोखरेल निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए । २०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । २०६२/६३ सालको जनआन्दोलनमा उनले नवलपुरको कमान्ड सम्हाले । त्यो बेला पनि पनि उनले जेल परे ।
कांग्रेसको १२औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७० सालको संविधानसभा चुनावमा कृष्णचन्द्र ३२५ मतले पराजित भए । उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रेका थिए । संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा पूर्वीनवलपरासी १ (क) बाट कांग्रेस उम्मेदवार बने ।
वाम गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी उनी गण्डकी प्रदेश सभा सदस्य बन्न सफल भए । गण्डकी प्रदेशमा १५ सांसद रहेको कांग्रेसका कृष्णचन्द्र संसदीय दलका नेता हुन् । अहिलेसम्म कांग्रेस प्रमुख प्रतिपक्षी दल छ । कृष्णचन्द्र प्रमुख प्रतिपक्षी दलका नेता थिए ।
प्रमुख प्रतिपक्षी दल हुने बेलामा उनले प्रदेश सभाका कामकारवाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन जहिल्यै क्रियाशील रहे । बजेट बाँडफाँटमा सरकारको मनोमानी होस या निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सांसदलाई गरिएको विभेदका विषयमा होस उनले संसदमा सशक्त आवाज उठाए ।
भारतको दरभंगाबाट मानविकीमा स्नातक गरेका पोखरेलले पछि नेपालकै त्रिभुवन विश्वविद्यालयबाट कानूनमा पनि स्नातक गरे । प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिए । त्यसपछि उनी माध्यमिक शिक्षाका लागि भारत पुगेका हुने । माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका कृष्णचन्द्र दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किए ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया