यान्छीलाई फिर्ता बोलाउने चीनको तयारी

काठमाडौं । चीनले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीलाई फिर्ता बोलाउने तयारी गरेको छ । उनलाई नेपालबाट फिर्ता लगेर दक्षिण कोरियाका लागि राजदुत बनाउने तयारीमा चीन लागेको छ ।
सामान्यतयाः चिनियाँ राजदुतको नेपाल बसाई दुई वर्षको हुँदै आएको थियो । तर, उनी नेपालमा राजदुत भएर आएको तीन वर्ष पुगेको छ ।
उनलाई सन् २०२० मा नै चिनले फिर्ता लैजान चाहेको थियो । तर सत्तासिन दल नेकपाभित्रको विवादका बेला राजदुत फिर्ता लैजादा र नयाँ राजदुत नियुक्त गर्दा त्यसले प्रभावकारी सन्देश नजाने देखेपछि चीन रोकिएको थियो ।
नत्र उसले राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण लगत्तै राजदुत यान्छीलाई फिर्ता बोलाउने तयारी गरेको थियो ।
अहिले भने उनको भूमिका नेपालमा कमजोर देखिएको विश्लेषणका साथ फिर्ता बोलाउने निश्कर्षमा चीन पुगेको उच्च स्रोतले जनाएको छ । नेकपा विवादको सुरुआती चरणमा राजदुत यान्छीको दौडधुपले केही ‘हस्तक्षेप’ कारी भूमिका पुगेको विश्लेषणमा रहेको चीन पछिल्लो चरणमा भने आफनो राजदुतको भूमिका कमजोर भएको र नेपालमा भारतीय प्रभाव फेरी अस्वभाविक रुपमा बढेको वुझाईमा पुगेको छ ।
राजदुत यान्छीको भूमिका कमजोर देखिएको र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले राजदुत यान्छीलाई गर्ने ब्यवहारमा पनि पहिलेभन्दा फरक पन देखिएको वुझाईमा चीन पुगेको छ । नेकपा विवाद भईरहँदा राजदुत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा ठूलो दलको नेताका हैसियतमा र पहिलो नेताको रुपमा पनि पार्टी एकजुट बनाउन र विवाद मिलाउन आवश्यक परे प्रधानमन्त्री या पार्टी अध्यक्ष मध्ये एक पद छोडेर भएपनि तयार हुनुपर्ने सन्देश दिएकी थिइन् ।
त्यसपछि भने उनका लागि बालुवाटार या शित्तल निवासको ढोका नै करिव बन्द अवस्थामै पुगेको थियो । त्यसपछि भने प्रधानमन्त्री ओलीले भारतसाग हिमचिम बढाएको र राजदुत यान्छीले भेटको मौका पाएपनि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसम्म मात्र पहुँच विस्तार हुन पुगेको अवस्था थियो ।
पछिल्लो पटक राजदुत यान्छी पनि पहिले जस्तो नेपालको आन्तरिक राजनीतिमा प्रभावी देखिन छोडेकी छिन् । उनको सक्रियता पनि निक्कै कम देखिन थालेको छ । यो वुझेर पनि चीनले राजदुत यान्छीलाई फिर्ता लैजाने गरी भित्री तयारी शुरु गरेको निकट स्रोतले मेरोन्यूजलाई जानकारी दिएको छ ।
राजदुत यान्छी चीनका प्रधानमन्त्री लि खाछियान निकटकी हुन् ।
राष्ट्रपति सिले नेपालको भू–सामारिक महत्वका कारण सिधै आफुसँगै जोडिन सक्ने गरी विश्वासिला पात्रलाई राजदुत नियुक्त गरेर नेपाल पठाउने तयारी गरेका थिए । सोही कारण पनि उनलाई गत वर्ष नै फिर्ता लैजान चिनले चाहेको थियो ।
प्रतिक्रिया