बाढीले घरहरू-घर रहेन, खेत-खेत रहेनन्

सिन्धुपाल्चोकको मेलम्चीबाट जुली गिरीको रिपोर्ट
सिन्धुपाल्चोक । गत मंगलबार मेलम्ची बजारका बासिन्दाहरू आफ्नै सुरका काममा व्यस्त थिए । व्यापार गरिरहेका थिए । आफ्नै सुरमा काम गरिरहेका बासिन्दाहरूलाई नगरपालिकाका मेयरले एक्कासी सुरक्षित ठाउँमा जान माइकिङ गर्दै आए ।
मेयर डम्बर कुमार अर्यालले एक्कासी सुरक्षित ठाउँमा जान आग्रह गरेपछि सर्वसाधरण अन्योलमा परे । के गर्ने, के नगर्ने भए ।
स्थानीयहरू केही चनाखो भए । तर, आफूले जे भोग्दै छु, त्यसबारे कल्पनासम्म गरेका थिएनन् । यति ठूलो पीडा, दुःख र विछोडबारे सोचेका थिएनन् ।

उनीहरू चनाखो भए । तर, आफूले जीवनभर कमाएको श्रीसम्पत्ति छाडेर जान सकेनन् । बसिरहे । तर, के गर्नु आँखा अगाडि बाढी घरभित्र पस्न थालेपछि उनीहरू केही माथि सरे । बाढी बढ्दै गयो । उनीहरू सुरक्षित ठाउँमा सर्दै गए ।
हेर्दाहेर्दै इन्द्रावती र मेलम्ची बजार पसे । उसले आफ्नो ताण्डव रुप देखाए । सयौँ घरहरू जमिनमा समाहित गरे । सुन्दर शहर कुरुप भए । बाढीले सयौँ घरहरू, घर भएनन् । सुन्दर खेत, खेत रहेनन् ।
बाढीले घरजमिन मात्र लगेन । मान्छेका अमूल्य जीवन लगे । ७ जनाका ती सुन्दर जीवन आफैमा विलिन गराए ।

बाढीसँगै कुरुप बनेका घर खेतहरू बगर बने पनि आफू बाँचेकोमा लामो सास फेर्दै छन्, मेलम्चीबासीहरू । बाचेकोमा हर्षको आँसु बगेका उनीहरूको आँखामा टेक्ने ठाउँ, समाउने हाँगा बाढीसँगै बगेकोमा दुःखी छन् ।
बाढीले घरजग्गा बगर बनाएसँगै भोलिका दिनमा कहाँ जाने थाहा छैन, उनीहरूलाई । बाँकी जीवन कसरी चलाउने सोचेका छैनन्, उनीहरू । निशब्द छन् ।

तर, उनीहरूको मनमा कही कतै आफ्नै सम्पत्तिको माया छ । बगर बनेको घरमा फर्किँदै छन् । बाढी आएसँगै झरीले परेर भिजेका आँखाहरू ओभाएका छन् । मनहरू विस्तारै सम्हालिन खोज्दै छन् ।
त्यसैले उनीहरू शुक्रबारदेखि बगर बनेको आफ्नो घरमा पुगेका छन् । खोला पन्छाउने काममा जुटेका छन् ।

घरभित्रै बालुवाको ढिको खोतल्दै उनीहरू कोठा चोटा सफा गर्न खोज्दै थिए । भेटिएका सामान जतन गरी राख्दै थिए ।














जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
प्रतिक्रिया