बेपत्ता शिक्षक कार्कीको खोजी र दोषीलाई कारबाहीको माग

म्याग्दी । विभिन्न संघ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।
बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक कार्की आइतबार साँझदेखि बेपत्ता छन् । विद्यालय नजिकै म्याग्दी नदीको किनारमा रगतका दाग, कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
म्याग्दीस्थित नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले मङ्गलबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई बेपत्ता कार्कीको खोजी गरी घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदीको नेतृत्वमा शिक्षक संघ सङ्गठनका प्रतिनिधिहरुले प्रशासनमा पुगेर ध्यानाकर्षण गराएका थिए । बौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालन भएको बालजागृति आधारभूतका प्रअ कार्की साहित्यसँगै विभिन्नि सामाजिक संघसंस्थामा आवद्ध थिए ।
यसैगरी म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्मा, सूर्यनारायण पुरस्कार संस्थाका सचिव अजयमिलन श्रेष्ठ र पुलत्स्य साहित्य समाजका अध्यक्ष कृष्णबहादुर बानियाले मङ्गलबार नै संयुक्त विज्ञप्ति जारी गर्दै बेपत्ता कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।
पौलस्त्य साहित्य समाज, म्याग्दीका संस्थापक अध्यक्ष/संरक्षक, म्याग्दी साहित्य समाजका सल्लाहकार कार्की जनसाहित्य मञ्च नेपालका केन्द्रीय सदस्य छन् । मञ्चका अध्यक्ष राम विनयले पनि मङ्गलबार एक विज्ञप्ति जारी गरेर बेपत्ताको खोजीको माग गरेका छन् ।
कार्कीलाई बेपत्ता बनाएको अभियोगमा प्रहरीले बेनी नगरपालिका–५ चुत्रेनीका एक युवालाई कुश्माबाट पक्राउ गरेको छ । विद्यालयमा कार्यरत अन्य दुई कर्मचारीसँग पनि प्रहरीले निरन्तर सोधपुछ गरिरहेको छ । पक्राउ परेका कसैको पनि नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
आइतबार बगुवाखोलामै देखिए पनि पक्राउ परेका व्यक्ति घटनापछि हिँडेरै कुश्मा पुगेका बताइएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले अनुसन्धानकै क्रममा रहेकाले हत्या अथवा बेपत्ता भन्ने खुलिनसकेको बताए ।
“घटनास्थलको प्रकृति हेर्दा कर्तव्य ज्यान गरेको जस्तो देखिन्छ”, उनले भने, “बेपत्ताको खोजीसँगै शङ्कास्पद व्यक्तिहरुसँग सोधपुछ र अनुसन्धानलाई निरन्तरता दिएका छौं ।”
बेपत्ता कार्कीको खोजीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ । नदी किनार र सम्भावित ठाउँमा निगरानी बढाइएको छ ।
कपडा भेटिएको ठाउँ नजिकै स्काभेटरले खोलाको बहाव फर्काएर पनि खोजी गरिएको थियो । आइतबार बिहान ८ बजे घरबाट विद्यालय जान भनेर निस्किएका कार्की साँझ घर नआएपछि परिवारले खोजी थालेको थियो ।

















बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
झापामा दुइवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु, एक गम्भीर घाइते
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
इनड्राइभले आयोजना गर्यो ‘काठमाडौं क्लिन एयर डायलोग’
प्रतिक्रिया