आइतबार, वैशाख १३, २०८३

मेलम्ची नगरले ६० वर्ष पुगेका एकल महिलापुरुषलाई मासिक एक हजार भत्ता दिने

मेरोन्यूज २०७८ असार ९ गते २०:१९

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको नवौं नगरसभाले आगामी वर्षका लागि चालू खर्चतर्फ रु ७६ करोड र पूँजीगततर्फ रु ४२ करोड गरी रु एक अर्ब १८ करोड रकम विनियोजन गरेको छ । नगर प्रमुख डम्बर अर्यालद्वारा आजै प्रस्तुत नीति तथा कार्यक्रममा कोभिड– १९ रोकथाम तथा मेलम्ची इन्द्रावती बाढी प्रभावितलाई प्राथमिकतामा राखिएको छ ।

Advertisement
NiccNicc

नगरले केही लोकप्रिय कार्यक्रम पनि ल्याएको छ । साठी वर्ष उमेर पुगेका अविवाहित एकल महिला तथा पुरुषलाई मासिक रु एक हजार भत्ताको व्यवस्था, आधारभूत तहसम्मको अध्ययन पूरा गरी विद्यालय छाडेका १६ वर्षभन्दा माथिका इच्छुक व्यक्तिलाई रोजगारमूलक तालीमको व्यवस्था मिलाउने जस्ता कार्यक्रम परेका छन् ।

नीति तथा कार्यक्रममा बाढी प्रभावितलाई घरधनीले तीन महिनासम्मको घरभाडा छुट गरेमा सोही आवमा तिर्नुपर्ने सबै बहाल कर छुट गरिने पनि उल्लेख गरिएको छ । कृषिलगायत क्षेत्रमा यसअघि नै ल्याइएको लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिइने पनि कार्यक्रममा समावेश छ ।

सञ्चार जगत्लाई साझेदारी अवधारणानुसार सहयोग गर्ने, पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि नेपाल पत्रकार महासङ्घ, सामुदायिक रेडियो र सञ्चार सम्बद्ध निकायसँग समन्वय गरी काम गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नगरसभामा उपप्रमुख भगवती नेपालले बजेट वक्तव्य प्रस्तुत गरेकी थिइन् । सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया