मंगलबार, वैशाख १५, २०८३

म्याग्दीस्थित मङ्गला गाउँपालिकाको कुहुँ १० दिन सिल

मेरोन्यूज २०७८ असार १४ गते ८:०७

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–१ मा पर्ने कुहुँलाई १० दिन सिल गरिएको छ । कुहुँ र पूर्णगाउँमा एकै दिन लक्षणसहितका ३९ जना कोरोना सङ्क्रमित भेटिएपछि नियन्त्रणका लागि वडाबाहिर र एकदेखि अर्को टोलमा आवतजावत बन्द गरिएको हो ।

Advertisement
NiccNicc

गाउँपालिकाले आइतबार जारी गरेको सूचनामा कुहुँमा एम्बुलेन्स, बिरामी बोक्न प्रयोग भएको गाडी, औषधि र विकास आयोजनाका सामग्री बोकेका बाहेकका गाडी र मानिसको आवतजावतलाई बन्द गरिएको उल्लेख छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यही असार २३ गतेसम्मका लागि कुहुँ वडा सिल गरिएको जानकारी दिए । वडा कार्यलय तथा सहकारीको सेवा बन्द भएको छ । खाद्यान्नका सामग्री गाउँपालिकाको सहमति लिएर तोकिएको समयमा ढुवानी गर्नुपर्नेछ ।

आइतबार वडाध्यक्ष डेकबहादुर राम्जाली र कर्मचारीसहित ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३९ जनाको परीक्षण गर्दा सबैमा कोरोना सङ्क्रमण पुष्टि भएको स्थानीय अगुवा एकजित रोकाले बताए । सङ्क्रमित सबैमा ज्वरो आउने तथा रुघाखोकीको लक्षण देखिएको छ ।

गाउँपालिकाको निर्देशन नमान्नेलाई सवारी साधन नियन्त्रणमा लिने र कारबाहीका लागि प्रशासनमा बुझाइने बताइएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, कार्यपालिका सदस्य डिलकुमारी खत्री र कुहुँ स्वास्थ्य चौकीका प्रमुख माया अधिकारीको टोलीले होम आइसोलेशनमा बसेका सङ्क्रमितको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन् ।

पछिल्लो केही हप्ता घट्दै गएको कोरोनाको सङ्क्रमणदर एकै पटक ह्वात्तै बढेपछि सरोकारवाला झस्किएका छन् ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार हालसम्म जिल्लाभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ४३४ जना पुगेको छ । हाल १२६ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया