ओलीले किन छान्छन् कडा बोल्न असार १४ कै दिन ?
गत वर्ष आजकै दिन प्रधानमन्त्री ओलीले आफुलाई हटाउन भारतीय एम्वेसीको सक्रियता बढेको वताएर चर्काे भाषण दिएका थिए
काठमाडौं । गत वर्ष आजकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले ठिक आजकै जस्तो गरी प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा मदन भण्डारी जन्मजयन्तीको अवसरमा कार्यक्रम राखेका थिए । त्यसबेला उनको पार्टी नेकपा एमाले र प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्र एकै पार्टीमा थिए – नेकपामा । ओली र प्रचण्ड उक्त पार्टीको जोर पाइलटका रुपमा थिए ।
अन्तरविरोध पार्टीभित्रै चरमोत्कर्षमा थियो । पार्टी बैठक बोलाउन पनि ओलीले अटेर गर्न थालेपछि स्थायी समिति बैठक बोलाउन २० जना स्थायी समिति सदस्यले वैसाख ११ मा दुवै अध्यक्षलाई सम्बाेधन गरेर पत्र नै लेख्नु परेको थियो ।
पार्टीभित्र ओलीमाथि चौतर्फी घेराबन्दी जारी थियो । ओलीले आफ्ना अप्ठ्यारो फुकाउन यो गर्दा हुन्छ कि, उ गर्दा हुन्छ भनेर दल विभाजन सम्बन्धी अध्यादेशदेखि संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसम्म ल्याए । मधेस केन्द्रीत पार्टी विभाजनका लागि अध्यादेश ल्याएदेखि सांसद अपहरण गराउनसम्म महेश बस्नेतलगायत नेता तथा पूर्व प्रहरी प्रमुखसम्म परिचालन गरेको आरोप ओलीमाथि थियो ।
मुलुक कोरोना भाइरसको महामारीमा लकडाउनमा थियो । पार्टीभित्रै चर्काे दबाब बढ्न थालेपछि उनी असार १० बाट पार्टी (तत्कालीन नेकपा)को स्थायी समिति बैठक बोलाउन तयार भएका थिए । प्रधानमन्त्रीलाई पनि सहज हुने ठानेरै बैठक बालुवाटारमै राखिएको थियो ।
त्यो स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको साझा दस्तावेज आउन सकेन । दुईतिर मुख फर्काइसकेका ओली र प्रचण्डले आ-आफ्नोतर्फबाट मौखिक रुपमा आफ्ना प्रस्ताव राख्दै एक अर्काको निक्कै आलोचना गरेर बैठकमा प्रस्तुत भएका थिए ।
७ ओटा एजेण्डा बनाएर बैठक शुरु भएको थियो । अघिल्लो दिन दुई अध्यक्षको आरोप-प्रत्यारोपको मौखिक प्रस्ताव पेश भएपछि भोलिपल्टदेखि कोभिडमा सरकारले खेलिरहेको भूमिकाका विषयको अर्काे एजेण्डामा छलफल हुँदै थियो । बैठक दुवै अध्यक्षले १३ गतेबाट एकैपटक १६ गते बस्ने गरी स्थगित गरे ।
दुई दिन प्रधानमन्त्री ओलीको पूर्व निर्धारित कार्यक्रम भन्दै त्यसबेला बालुवाटारकै बैठक रोकिएको थियो । त्यसपछि भने आजकै दिन अर्थात २०७७ असार १४ मा ओलीले बालुवाटारमै मदन भण्डारी प्रतिष्ठानले राखेको मदन जन्मजयन्तीको कार्यक्रममा कडा भाषण दिए ।
उनले त्यसदिन भारततिर संकेत गर्दै आफू नेतृत्वको सरकार फाल्न काठमाडौंको होटलमा विभिन्न गतिविधि हुन थालेको, एम्बेसी सक्रियतापूर्वक लागेको, दिल्लीका सञ्चारमाध्यमका गतिविधिले पनि धेरै कुरा पुष्टि गरेको र त्यसमा पार्टीभित्रकै नेताहरुको समेत संग्लन्नता रहेको भन्दै निक्कै ‘विवादास्पद’ अभिव्यक्ति दिए ।
त्यसले नेकपाभित्र ठूलै हलचल पैदा गरिदियो । ओलीको राजीनामा माग्नुपर्छ भनेर उनको कमजोरी केल्याइरहेको पार्टीभित्रको ओलीइतर समूहलाई त्यसले ठूलै ‘मसला’ बनाइदियो ।
ओलीले त्यसबेला भनेका थिए
म तपाईहरुलाई यत्ति भन्दिन्छु – नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन । यो नसोचे पनि हुन्छ । प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्यो कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ । नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस्।
प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन । तर, म अहिले हट्ने हो भने गलत नजिर स्थापित हुन्छ । म हटुँला, तर भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्ने अवस्था हुन्छ । त्यसैले म आफ्नो लागि होइन, देशका लागि, आजका लागि होइन, भोलिका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ । हामीले नक्सा सच्यायौँ । यसलाई संवैधानिक रूप दियौँ ।
तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ भनिँदैछ । भारतीय मिडिया र बुद्धिजीवीको कुरा सुन्नु भएकै होला । भारतको राज्यसंयन्त्र अचम्मसम्म सक्रिय छ । यसका लागि होटेलमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।
यहाँहरुलाई सम्झना होस्, चीनतिर पनि ट्रान्सपोर्ट ट्रान्जिट एग्रिमेन्ट गरेर फर्किएपछि सरकार ढल्याथ्यो, किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो । बाहिर–बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई चाहिँ, दिल्लीका सञ्चार माध्यमहरु सुन्नोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ केके भइरहेकाे छ ।
तर मेरो पार्टी र संसदीय दल यस्तो बहकावमा लाग्दैन । कोसिस गर्नेलाई त गर्न दिनू, तर हिजोको जस्तो होइन । कसैले हतारो नगरे पनि हुन्छ । र, कसैले विभिन्न आग्रहहरु नपाले पनि हुन्छ ।’ मैले भन्ने गर्या छु पोइन्ट अफ नो रिटर्न नै गर्या हो । हामीलाई हाम्रो भूमि चाहियो । फिर्ता नलिइकन छोड्दैनौं । पोइन्ट अफ रिटर्न छैन । पोइन्ट अफ नो रिटर्न नै हो ।
000
त्यसपछि त नेकपामा हंगामा भइहाल्यो । देशका प्रधानमन्त्रीलाई नेपालको सरकार हटाउन कुनै विदेशी दुतावास वा राजदूत नेपालभित्रै त्यस्तो गतिविधिमा लागेको छ भने उसलाई बालुवाटार बोलाएर सचेत गराउने, फिर्ता पठाउनेसम्म प्रधानमन्त्रीसँग अधिकार रहन्छ । सार्वजनिक रुपमा त्यसो बोल्दै हिड्ने होइन ।
१६ गतेको पार्टी बैठकमा थप अर्काे मसला पनि थपिदियो -सन्ध्या तिवारीको नाममा निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको निवेदन । ओली निकट नेता महेश बस्नेतसँग नजिकका मान्छेहरु एमाले दर्ता गर्न गएको विषयसँगै मिसिएर आएपछि १६ असारको नेकपा स्थायी समिति बैठकमा गर्मागर्मी भइदियो ।
प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत १६ असारको बैठकमा बोलेका १७ नेताले नै ओलीलाई तत्काल प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदवाट राजीनामा दिन प्रस्ताव नै गरे । ओलीको बैठकमा निक्कै आलोचना भयो ।
उनी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमै पनि अल्पमतमा थिए । त्यसपछि भने ओलीले बालुवाटारभित्रकै पार्टी स्थायी समिति बैठकमा समेत जानै छोडिदिए । त्यही विवादले उनले संसदको चलिरहेको अधिवेशन पार्टीसाग एकवचन परामर्श नगरी एकाएक मनत्रीपरिषद्को बैठक राखेर अन्त्य गरिदिए ।
असार १० देखि शुरु भएको स्थायी समिति बैठक गर्ने नेताहरुलाई भदौँको २८ सम्म कुर्नुपर्ने अवस्था आयो । अन्तिममा कार्यदल बनाई दुई अध्यक्षको जिम्मेवारीलाई ठोस रुपमा परिभाषित गर्ने र विवाद मिलाउने समझदारी पछि अब भदौँ २९ लाई ‘कट अफ डे’ का रुपमा लिँदै पूरानो विवादमा नफर्किने निर्णय लिएका थिए ।
तर त्यो सहमति टिकेन । फेरि नेताहरुका बीचमा आगो झोसाझोस भयो। अन्ततः प्रधानमन्त्री ओलीले संसद नै विघटनसम्मको निर्णय लिए । नेकपा करिब विभाजन भयो । ओली अल्पमतमा मात्रै परेनन्, प्रचण्ड र माधव नेपाल समूह मिलेर ओलीलाई एक्लाएर कारबाहीसम्म गरे ।
अन्ततः ओलीलाई फागुन २३ को सर्वाेच्चको एउटा आदेशले प्राण दियो । अर्थात नेकपाको एकता बदर गर्दै एमाले र माओवादी नै ब्यूँताइदिने निर्णय अदालतले दिएपछि ओलीलाई राहत मिलेको थियो ।
यो प्रकरणपछि माओवादी आफ्नो बाटो लागेको छ भने एमालेभित्र माधव नेपालहरुको संर्घष टुँग्गिएको छैन । ओलीले फेरि दोहोर्याएर संसद विघटन गरिदिएका छन् । मुद्दा फेरि पनि सर्वाेच्चको संवैधानिक इजालसमा सुनुवाइकै क्रममा छ ।
तर एमालेभित्रकै माधव नेपाल समूह कांग्रेस–माओवादीसहितको विपक्षी गठबन्धनमा छन् । माधव नेपाललाई समेत मिलाएर एमाले एकता जोगाउनु पर्छ भनिरहँदा फेरि असार १४ को मदन जन्मजयन्तीकै दिन पारेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि पार्टीका वरिष्ठ नेता माधव नेपालसम्मलाई तीव्र आक्रोश पोख्दै खरो आलोचनामा उत्रिए ।
ठिक एक वर्षपछि…
माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन् । नेपालको राजनीतिमा सबैले चिन्छन्, प्रायः । किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुने रहेछ । कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने । यस्तो लाज सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि हुन्छ ।
मैले भनेको थिएँ, माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् । तर, धाक के लगाएर हिँडेका छन्, भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र ? अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ? यिनी एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन् । पुच्छर भएपछि जन्तु पूर्वतिर फर्कियो भने त्यो पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने त्यो पूर्वतिर हुन्छ । तर, सँगै हुन्छ ।
प्रचण्ड हेर्नुहोस् त फेरि के के बोलिराख्या छन् । उनले बोलेकोमा किन छक्क मान्ने ? छेपारोले रंग छिनछिनमा फेर्छ त ! खैरोखैरो मुढामा गयो भने खैरो रंग बनाउँछ । हरियोमा गयो भने हरियो, कालोकालो बोक्रो भएकामा पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रंग फेर्छ त । कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छन् । कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकी के हेरेर बसेका छन्, किन हस्ताक्षेप गर्दैन भन्छन् । कहिले गणतन्त्र ल्याउने मैं हुँ भन्छन्, कहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्न पुग्छन् । कहिले राष्ट्रपतिभन्दा राजा नै ठीक भन्छ ।
अहिले प्रचण्ड पथ सुप्रिम कोर्टमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरु किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् र पो त काटिदा रहेछन्, अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नु पर्छ । यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमै भने । नेपाली कांग्रेसका कार्यकर्ताहरुले नाथुराम गोड्से मै बन्छु अर्को ठाउँमा भने ।
नेपाली कांग्रेसका नेताहरु नै नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफैं हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्ड पथ नै अँगालेको हो ? आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न अथवा विद्वान अधिवक्ता जी तपाईं आफ्नो वक्तव्य सम्हालेर राख्नुस् भनेर के न्यायमूर्तिहरुले त्यो सुझाव पनि राख्न सक्नु हुन्न र ?
शेरबहादुर जीको प्रधानमन्त्री फेरि हुने उत्कष्ट इच्छाले उहाँले लोकतान्त्रिक मार्ग छोड्दिनु भयो । जनतामाथिको भरोसा छोड्दिनु भयो र केही जालीफटाहाहरु टिपेर कृत्रिम अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री हुने बाटो समाउनु भयो । पार्लियामेन्टबाट भए हुन्थ्यो, अन्तैबाट हुनुपर्यो । जनतामा गएको भए हुन्थ्यो, जनतामा जाने बाटो अवरोध गरेर अन्तैबाट ।
000
ओलीको आजको यो सम्बोधनले पनि माधव नेपाल, प्रचण्ड र देउवालाई थप चिढ्याएको छ । एमालेभित्रको एकतामा लचकता प्रर्दशन गर्न दुवै पक्षका नेताहरुले ओली र माधव नेपाल दुवैलाई दबाब दिइरहेका बेला ओलीको यो अभिव्यक्तिले नेपाल ओली सम्बन्धमा झन फाटो ल्याउने देखिएको छ ।
प्रतिक्रिया