शनिबार, फागुन ९, २०८२

पोखरा स्पोर्ट्स अवार्ड : ‘वर्ष उत्कृष्ट खेलाडी’ बने नवीन र पार्वती

मेरोन्यूज २०७८ असार १८ गते २०:०८

कास्की । पोखरामा आज साँझ सम्पन्न ‘पाँचौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड’मा पुरुषतर्फ कराँतेका नवीन रसाइली र महिलातर्फ तेक्वान्दोका पार्वती गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा भएको अवार्ड वितरण कार्यक्रममा मनोनयनमा परेका फुटबलका सुमन अर्याल र टेबलटेनिसका विनेश खनियाँलाई पछि पार्दै रसाइली पुरुषतर्फको विधामा उत्कृष्ट बन्न सफल भएका हुन् ।

रसाइलीले उपाधिसहित रु दुई लाख र ट्रफी प्राप्त गरे । उनले १३ औँ सागमा स्वर्ण पदक जिते । यसैगरी महिलातर्फ तेक्वान्दोका गुरुङले साइक्लिङका जमुना थापा र तेक्वान्दोका प्रशंसा क्षेत्रीलाई पछि पारी उत्कृष्ट घोषित भइ रु दुई लाख र ट्रफी प्राप्त गरे ।

गुरुङ नेपाल प्रहरीमा कार्यरत छन् । उनले पनि १३ औँ सागमा स्वर्ण पदक हात पारेका थिए । वर्ष उदीयमान खेलाडीको अवार्ड पौडी खेलका दुवाना लामाले प्राप्त गरे । मनोनयनमा परेका लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्रीलाई पछि पार्दै दुवानाले अवार्ड हात पार्न सफल भएका हुन् ।

लामाले १३ औँ सागमा छ काश्य पदक जित्न सफल भएका थिए । यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड बक्सिङका सुरेश मल्ल ठकुरीले हात पार्न सफल भए । उनले पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठलाई उछिन्दै उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्न सफल भएका हुन् ।

मल्लको प्रशिक्षणमा नेपालले सागमा तीन स्वर्णसहित १० पदक जितेको थियो । वर्ष उत्कृष्ट खेल सङ्घको अवार्ड कास्की जिल्ला आर्चरी सङ्घले प्राप्त गरेको छ । यसैगरी वर्ष उत्कृष्ट खेलकूद पत्रकारिता अवार्ड, २०७६ बाट सन्देश श्रेष्ठ र विसं २०७७ बाट केशव पाठक पुरस्कृत भए ।

हरेक विधामा उत्कृष्ट खेलाडी, खेल सङ्घ र खेलपत्रकारलाई जनही रु ३५ हजार, ट्रफी र सम्मानपत्र प्रदान गरिएको थियो । पूर्वफुटबल खेलाडी एवं जिल्ला फुटबल सङ्घका पूर्वअध्यक्ष आनन्द रञ्जित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भए । उनलाई चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्लाबाट सम्मान गरिएको थियो ।

वार्ड विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुुरुङ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, मञ्चका अध्यक्ष एकराज गिरीले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री नेपालीले खेलकूद क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताए । अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको बताउँदै उनले खेलकूद पूर्वाधार निर्माणलाई सरकारले बजेट कार्यक्रममा समावेश गरेको जानकारी दिए ।

अघिल्लो वर्षसमेत कोरोनाका कारण सञ्चालन हुन नसकेको अवार्ड यसवर्ष विसं २०७६/७७ दुई वर्षलाई जोडेर संयुक्तरूपमा प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी वितरण गरिएको मञ्चले जनाएको छ ।

प्रतिक्रिया