शनिबार, मंसिर ६, २०८२

भुसालको फोनबाट प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता

मेरोन्यूज २०७८ असार १९ गते १६:४२

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच लामो कुराकानी भएको छ । आफ्नो पक्षका नेता घनश्याम भुसालको फोनमार्फत नेता नेपालले ओलीसँग फोन वार्ता गरेका थिए ।

यसअघि उनीहरूबीच गत बिहीबार राति लामो समय कुराकानी भएको थियो । सो फोन वार्तामा नेता नेपाल पक्षले हिजो शुक्रबार बसेको बैठक रोकेर पार्टी जोगाउन भूमिका खेल्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।

आजको फोन वार्तामा नेता नेपालले पार्टीलाई जेठ २, २०७५ सालको अवस्थामा लैजानु पर्ने माग राखेका थिए । तर, ओलीले पार्टी तपाईहरूको मागअनुसार पहिलेको अवस्था पुगेको बताएका थिए । ओलीको प्रतिउत्तरमा नेपालले अहिले पार्टी फागुन २८, २०७७ अनुसार चलेको बताएका थिए ।

ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका ६ जना नेताहरू ललितपुरस्थित समिट होटलमा वार्तामा जुटेका थिए । वार्ता हुँदै गर्दा घनश्याम भुसाल नेता नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वर पुगेसँगै भुसालले आफ्नो फोनबाट ओली र नेपालबीच फोन वार्ता गराएका थिए ।

दुई नेताको फोन वार्तासँगै नेता भुसाल समिट होटल हिँडेका थिए । अहिले ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले माधव पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्यसँग वार्ता गरिरहेका छन् ।

प्रतिक्रिया