युरोकप फुटबल
कस्ले जित्ला फाइनल पुग्ने लडाई : इटाली कि स्पेन ?

काठमाडौँ । जारी १६ औँ संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेलको तयारी हुँदै गर्दा फाइनलमा को पुग्ला भन्ने चासो बढेको छ । आज राति १२ः४५ बजेदेखि इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुने खेलमा इटाली र स्पेन भिड्ने भएसँगै फाइनल पुग्ने टोलीको टुंगो लाग्ने भएको हो ।
आजको खेल जित्दै दुवै टिम फाइन प्रवेश गर्न चाहन्छन् । इटाली र स्पेन फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठूला टिमबीचको खेल रोमाञ्चक हुने भएको हो ।
फिफा वरियताको शीर्ष टिम बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै इटालीले सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । त्यसअघि इटालीले प्रि क्वाटरफाइनलमा अष्ट्रियालाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
तर, इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिसी स्पेनविरुद्धको खेल कठिन हुने बताउछन् । ‘स्पेन बेल्जियमभन्दा फरक भए पनि जित्न कठिन हुनेछ, स्पेन वर्षौंदेखि बलियो टिम हो,’ प्रशिक्षक मान्सिनी भन्छन्, ‘उनीहरूसँग धेरै राम्रो प्रशिक्षक र खेलाडीहरू छन् ।’
तीनपटक च्याम्पियन स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गरेको थियो । यस्तै प्रि क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई ५–३ गोल अन्तरले पराजित गरेको थियो ।
स्पेनिस प्रशिक्षक लुइस इन्रिके पनि इटालीविरुद्धको खेल सहज नहुने बताउँछन् । उनी भन्छन् – ‘मलाई लाग्दैन की हामी दुवै टिम एक अर्कामा हाबी हुन्छौँ, त्यसले खेल रोमाञ्चक हुनेछ । इटाली वास्तवमै बलियो टिम हो । उनीहरू धेरै पक्षमा बलिया छन् ।’
इटाली र स्पेनबीच हालसम्म ३३ खेल भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ भने ९ खेल इटालीले जितेको छ र १२ खेल बराबरीमा सकिएको छ ।
पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र दुईपटक हराउन सकेको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ । दुई टिमबीच सातौँपटक युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा हुन लागेको हो ।
इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्याण्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति १ः४५ मा हुनेछ ।

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया