शुक्रबार, वैशाख १८, २०८३

सात लाख नगदसहित ११ जुवाडे पक्राउ

मेरोन्यूज २०७८ असार २३ गते ७:४७

दमक । तास खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट सात लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ । दमक–८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा मङ्गलबार ११ बजे इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीसहितको टोलीले छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

Advertisement
NiccNicc

प्रहरीले पक्राउ परेका साथबाट छ बुक ताससहित सात लाख ४५ हजार ५०० रुपैयाँ समेत बरामद गरेको उनले जानकारी दिए ।

पक्राउ पर्नेमा २९ वर्षीय घरधनी खतिवडासहित दमक–१ का ५४ वर्षीय नरेन्द्र थापा, सोही वडाका २३ वर्षीय नरेन्द्र लिम्बू, दमक–२ का ४३ वर्षीय हर्क धिमाल, दमक–६ का ३१ वर्षीय चन्द्र लिम्बू, दमक–७ का ४० वर्षीय कृष्ण खतिवडा, दमक–९ का ३७ वर्षीय सुरेन्द्र श्रेष्ठ, दमक–८ का ४४ वर्षीय पूर्णप्रकाश रिजाल, सोही वडाका २८ वर्षीय सुशन रिजाल, दमक–७ कै ३८ वर्षीय कुलराज खड्का र इलाम चुलाचुली–६ का ३७ वर्षीय हर्क लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताए । रासस

प्रतिक्रिया