गाउँपालिका केन्द्र निर्धारणप्रति स्थानीयकाे विरोध, अध्यक्षको पुत्ला जलाए

सोलुखुम्बु । यहाँको महाकुलुङ गाउँपालिका केन्द्र निर्धारणको निर्णयप्रति असहमति जनाउँदै दुई दिनदेखि स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् ।
सर्वसम्मतिमा केन्द्र निर्धारण गर्न नसकेको गाउँपालिकाले मतदान प्रक्रिया अपनाए पनि स्थानीयवासीले भने विरोध जनाएका हुन् ।
गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार उपलब्ध भएको चारवटै स्थानमा सहमति नजुटेपछि शनिबार मतदानमार्फत सर्सिलामा प्रशासनिक केन्द्र रहने गरी छनोट गरिएको थियो ।
गाउँपालिकाको वडा नं १ मा पर्ने उक्त स्थान अपायक पर्ने भएकाले सोही वडाको गत्तेल या चौखिदोमा हुनुपर्ने मागसहित स्थानीयवासी आन्दोलित बनेका हुन् ।
जनप्रतिनिधिको निर्णय गलत भएको भन्दै स्थानीयवासीले आइतबारदेखि गाउँपालिका केन्द्रमा नारा, जुलुस जारी राखेका छन् । गाउँपालिका अध्यक्ष सागर किराँतीको पुत्ला जलाएका स्थानीयवासीले निर्णय सच्याउनुपर्ने, स्थानीयवासीको मागअनुसार सम्बोधन हुनुपर्नेलगायतका माग राखेका छन् ।
गाउँपालिकाले माटो परीक्षणदेखि भूगर्भविद्समेतलाई जग्गा व्यवस्थापन समितिमार्फत प्राप्त चारवटै ठाउँको रिपोर्ट गुपचुपमा राखेको स्थानीयवासी दुतिमान कुलुङले बताए ।
गाउँपालिकाको लाखौँ खर्चबाट प्राविधिक टोली ल्याएको भए पनि त्यसको रिपोर्ट सार्वजनिक नहुनु र सबैलाई केन्द्र हुने स्थान उपलब्ध हुँदाहुँदै बस्ती नै नरहेको एकान्तमा रहेको जग्गामा बढी मत आउनु षड्यन्त्रपूर्ण रहेको कुलुङको भनाइ छ ।
स्थानीयवासी आन्दोलनमा उत्रिँदासमेत गाउँपालिकाका जनप्रतिनधिले बेवास्ता गर्दा समस्या थपिँदै जाने कांग्रेसका नेता सुवास कुलुङले बताए ।
जनप्रतिनिधिसमेत किनबेचमा लाग्दा आम महाकुलुङवासीले दुःख पाउने भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ । यस विषयमा गाउँपालिका अध्यक्ष किराँतीसँग कुरा गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।
यता वडा नं ४ का वडाध्यक्षसमेत रहेका कार्यपालिका सदस्य जयकुवेर राईले भने भौगोलिक हिसाबसँगै भविष्यका लागि सर्सिलामा केन्द्र राख्न उपयुक्त हुने दाबी गरे ।
भूगोलका हिसाबले बलियो, सहज सञ्चारको पहुँच, खुला स्थान र दुई गाउँपालिका मिलेर नगरपालिका बन्ने अवस्थामा उपयुक्त हुनेलगायतका कारण उक्त स्थानमा बढी मत आएको उनको भनाइ छ ।
यता वडा नं २ का वडाध्यक्ष प्रदीप कुलुङले भने क्षेत्रगत हिसाबमा सर्सिला अपायक पर्ने बताए । साविक बुङ गाविसलाई समेत उक्त क्षेत्रमा सेवा लिन सहज नहुने उनको तर्क छ ।
अहिले त्यस क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । स्थानीयवासीले गाउँपालिकामा तालाबन्दी गर्ने बताउँदै आएका छन् भने प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलन भड्किन सक्ने अवस्थामा बल प्रयोग गर्न बाध्य हुने बताउँदै आएको छ ।
सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक दिनेश शर्माले आफूहरुको टोलीसमेत त्यस क्षेत्रमा पुगेकाले भौतिक संरचनामा तोडफोड हुने अवस्थामा बल प्रयोगको सिद्धान्त लागू गरिने बताए ।
यता नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक कवित कटवालले शान्ति, सुरक्षा मजबुत रहेको बताए । वार्ता र संवादका माध्यमबाट सहमति खोजिनुपर्ने भन्दै उनले तोडफोडजन्य कार्यमा नउत्रन आग्रहसमेत गरे ।
विसं २०७६ मङ्सिर २ गतेको कार्यपालिका बैठकको निर्णयानुसार हालको गाउँपालिका केन्द्रलाई आधार मानी पूर्व, पश्चिम, उत्तर र दक्षिणतर्फ एक किलोमिटर क्षेत्रभित्र निःशुल्क जग्गा उपलब्ध गराउने सार्वजनिक सूचना जारी गरिएको थियो ।
यस्तै गाउँपालिकाद्वारा २०७६ जेठ ७ गते जग्गा व्यवस्थापन समितिसमेत गठन गरिएको थियो । उक्त व्यवस्थापन समितिले सर्सिलामा ६८ रोपनी, गत्तेल र चौखिदोमा ३५ रोपनी जग्गा उपलब्ध हुने बताएपछि गाउँपालिकाले भूगर्भविद्सहितको टोली ल्याई माटोसमेत परीक्षण गरेको थियो ।
यद्यपि उक्त ठाउँमध्ये न कुनैमा सहमति जुट्यो न त रिपोर्ट नै सार्वजनिक भयो । यसबाट अहिले नारा, जुलसको अवस्था सिर्जना भएको स्थानीयवासी बताउँछन् ।
सोलुखुम्बुको थुलुङदूधकोशी, लिखुपिके, खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाहेकले अझै पनि केन्द्र निर्धारण गर्न सकेका छैनन् ।
माप्य दूधकोशी र नेचा सल्यान गाउँपालिकाले जग्गा व्यवस्थापनमै चार वर्ष बिताइसकेका छन् भने थुलुङदूधकोशीले यसअघि नै केन्द्रको टुङ्गो लगाएसँगै प्रशासनिक भवनसमेत निर्माण गरिसकेको छ ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया