कमरेड पुष्पलाल श्रेष्ठको मूल्यांकन गर्दा

आज ४३औं पुष्पलाल स्मृती दिवस ! नेपाली राजनैतिक इतिहासमै सबैभन्दा इमान्दार, सबैभन्दा क्रान्तिकारी र सबैभन्दा त्यागी, तपस्वी, तेजस्वी र यशस्वी राजनीतिक नेतृत्व, वैचारिक व्यक्तित्व, अविचलित योद्धा र अथक अध्येताको नाम हो – पुष्पलाल श्रेष्ठ । त्यसैले सबैभन्दा श्रद्धेय, सबैभन्दा अनुकरणीय र सबैभन्दा स्तुत्य एक अद्वितीय व्यक्तित्व पुष्पलाल श्रेष्ठ नेपाली राजनीतिक इतिहासका सर्वश्रेष्ठ नेतृत्व नै हुनुहुन्छ ।
क्रान्तिकारी कम्युनिस्ट विचार, राजनीति, संगठन र संघर्षका क्षेत्रमा उहाँका योगदानहरुका साथै त्याग, तपस्या, बलिदान र सर्वहारावर्गीय भावना, मूल्यमान्यता, जीवनशैली, संस्कार र संस्कृतिको हार्दिक स्मरण गर्ने, तिनको अवलम्बनको लागि दृढ प्रतिबद्धता गर्ने र कार्यान्वयनको निम्ति कसिलो प्रतिवद्दता व्यक्त गर्ने एक ऐतिहासिक अवसर हो आज साउन ७ गते ४३औं पुष्पलाल स्मृती दिवस । यससन्दर्भमा हार्दिक श्रद्धासुमन आदरणीय कमरेड पुष्पलाल श्रेष्ठप्रति !!
आज पुष्पलाल कामरेड र उहाँका योगदानको स्मरण , श्रद्धा र मूल्यांकन गर्दा यस्तो देख्न सकिन्छ ।
लाग्छ, नेपाली देशभक्त, जनवादी र क्रान्तिकारी जनता, कार्यकर्ता र नेताहरुले पुष्पलाललाई स्मरण र श्रद्धा गर्नाका केही विशिष्ट र विलक्षण कारण छन् । ती हुन् :-

१) सादा जीवन र उच्च विचार अर्थात् क्रान्तिकारी विचार-राजनीति र सर्वहारावादी जीवनशैली र संस्कृती ।
२) अकण्टक अध्ययन र अचूक संघर्ष ।
३) असीम त्याग र आजीवन तपस्या ।
४) उल्लेख्य बलिदान र अमूल्य योगदान आदि-इत्यादी !
यी सबैको व्याख्या-विश्लेषण अहिले यो छोंटो लेखमा आवश्यक र सम्भव दुवै छैन । तथापि केही उल्लेख्य योगदान यस्ता छन् जस्ले गर्दा पुष्पलाल महान र सदासर्वदा मानसम्मान योग्य हुनुहुन्छ भन्ने उच्च मूल्यांकन गर्ने अवस्थामा पुग्न सकिन्छ । मूलतः ती हुन् :-
– प्रथम : अन्याय र अपमानपूर्ण पजनी पनि पचाउनु र पदप्रतिको मोह नहुनु !
राणाशासनको दवदवाका बीच २००६ सालमा भूमिगतरुपले प्रवासनमा रहेर नेकपा स्थापना गर्न पहिलो र महत्वपूर्ण पहल पुष्पलालको नै थियो ।सबैभन्दा सक्षम, सक्रिय, इमान्दार, अध्ययनशील, अनुशासित अनि सही विचार र आचारका धनी भएर नै उहाँ संस्थापक महासचिव हुनु भएको हो । तर पनि उहाँलाई प्रथम महाधिवेशन २००८ मै महासचिव पदबाट पजनी गर्दा समेत उहाँ चुपचाप पार्टी निर्णय र अनुशासन मान्दै समर्पित रुपमै क्रियाशिल हुनुभयो । स्मरणीय छ कि लेनिन दिवसको ऐतिहासिक अवसरका उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने उक्त महान् अवसरमा र पार्टीको पहिलो पर्चा मार्फत पार्टी स्थापना भएको घोषणा कार्यक्रम गर्नेजस्तो महत्वपूर्ण बेलामा समेत अनुपस्थित रहनुभएका मनमोहन अधिकारीलाई पो प्रथम महाधिवेशनबाट महासचिव बनाइयो ।
यसरी अन्याय र अपमानजनक तरिकाले पुष्पलाललाई पजनी गरियो र दिव्य दुई दसकसम्म पनि उहाँलाई ससम्मान पुनर्स्थापित गरिएन । अझ मनमोहनले राजाको वैधानिक नायकत्वमा शान्तिपूर्ण रुपले समाजवादको प्रचार गर्नेजस्ता गतिविधिहरु गर्ने सर्तमा एउटा भूमिगत र क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई खुला र शान्तिपूर्ण बाटोमा ल्याउनु भयो भने दोस्रो महाधिवेशन (२०१४)मा महासचिव चुनिएका भनिएका केशरजङ्ग रायमाझीले त झन् सिङ्गो पाटीलाई एककिसिमले दरवारमा बुझाए ।
तैपनि पुष्पलालको क्रान्तिकारी विचार र इमान्दारीको अझै उपेक्षा नै गरियो । तथापि, २०१९ मा बल्लतल्ल तेस्रो महाधिवेशन त भयो तर पनि पुष्पलालको विचार, क्षमता र योगदानको कुनै आवश्यकता र सम्झनासम्म गरिएन र तुल्सीलाल महासचिव बनाइनु भयो । यसरी पार्टी पूरै गतिहीन र मतिहीन हुँदै, आन्तरिक गुटबन्दी र वादविवादमा रुमल्लिरह्यो भने बाह्यरुपमा पार्टी शान्तिपूर्ण, खुला र वैधानिक तवरले नगन्य गतिविधिमै सिमित भयो ।
यसबिचमा राजा महेन्द्रले २००७ सालको आन्दोलनद्वारा स्थापित नेपाली काङ्ग्रेसको जननिर्वाचित वीपी कोइराला नेतृत्वको सरकार, सदन र संसदीय बहुदलीय व्यवस्था सबैलाई सैन्य कू द्वारा विघटन गरेर निर्दलीय र निरंकुश पंचायती व्यवस्थाको स्थापना र संचालन गरे । देशमा यस्तो ठूलो प्रतिक्रान्ती हुँदा र पार्टीका नेताकार्यकर्ताहरु गिरफ्तार हुँदा त नेतृत्वले आत्मसमर्पण गर्ने अनि पार्टी र आन्दोलन पूरै बिसर्जन हुने खतरा देखेपछी पार्टी र आन्दोलनलाई बचाउनको लागि बाध्यताबस २०२५ मा गोरखपुरमा राष्ट्रिय सम्मेलन गरी पुष्पलाल कमरेडले आफ्नो नेतृत्वमा पार्टी पुनर्गठन गर्नु भयो । यसरी पार्टी र यसको क्रान्तिकारी, स्वाभिमानी र समाजवादी चिन्तन, चरित्र र धारलाई पुष्पलालले बचाउन महत्वपूर्ण भूमिका निभाउन भयो ।
– दोस्रो : पार्टी र आन्दोलनलाई वैचारिक विचलन, विघटन र विसर्जन हुनबाट बचाउन मात्र होइन, यिनलाई गति समेत दिन र क्रान्ति सम्पन्न गर्नको लागि नेपाली समाज, नेपाली मानसिकता, नेपाली राजनीतिक आन्दोलनको इतिहास, राजनीतिक शक्ति सन्तुलन र नेपालको विशिष्ट भूराजनीतिक अवस्था आदिलाई मध्यनजर गर्दै राजाको निरंकुश र निर्दलीय पंचायती व्यवस्थालाई ढाल्न र फाल्नको लागि नेपाली काङ्ग्रेससँग संयुक्त भएर आन्दोलनलाई सफलतामा पुराउनुपर्ने अत्यन्त, वस्तुवादी, बैज्ञानिक र क्रान्तिकारी कार्यनीती अघि सार्नु ।
तर विडम्बना यो कार्यनीतिलाई एकातिर वीपीले ‘काङ्ग्रेस गणतन्त्रवादी कम्युनिस्टसँग सहकार्य गर्ने शक्ती होइन र गर्नु हुँदैन किनकि नेपालमा संवैधानिक राजतन्त्र नै अपरिहार्य व्यवस्था हो’ भन्नेजस्ता संकीर्ण, अनुदारवादी, अदूरदर्शी र संवैधानिक राजतन्त्रवादी सोंच राखेर अस्वीकार गरे भने अर्कातिर उदीयमान चर्चित र तिलस्मी नेताका रुपमा स्थापित कम्युनिस्ट नेता मोहनबिक्रम सिंहबाट त पुष्पलालको यसै कार्यनीतिलाई लिएर उहाँको तेजोबध गर्ने निहुँ बनाउँदै ‘गद्दार पुष्पलाल’ नामक पुस्तक नै लेखेर हदैसम्मको आक्रमण भयो ।
जब कि पुष्पलालको यो विचार र राजनीति विशेषत: निरंकुश पंचायत व्यवस्थाका विरुद्धमा काङ्ग्रेस-कम्युनिस्ट शक्ति अर्थात् लोकतान्त्रिक र वामपन्थी शक्तिहरू बीच कार्यगत एकता र संयुक्त मोर्चा हुनुपर्छ भन्ने नीति कति धेरै ठिक रहेछ भन्ने कुरा त २०४६ र २०६२/६३ को काङ्ग्रेस-कम्युनिस्टको संयुक्त जनआन्दोलनबाट क्रमशः पंचायत र राजतन्त्र नै फालेबाट पुष्टि भैसकेको छ । स्मरणीय छ कि २०४६ को जन-आन्दोलनको सफलताका पछाडि पुष्पलालको कार्यगत एकता र संयुक्त मोर्चासम्बन्धी नीतिको मात्र होइन, स्वयं पुष्पलालकी उत्तराधिकारी जीवनसँगिनी साहना प्रधानको प्रत्यक्ष नेतृत्वको ७ वामपार्टीहरुको मोर्चाको प्रमुख भूमिका रहेको थियो ।
पुष्पलालका विचार र राजनीति अनि संगठन र संघर्ष आदिमा भए-गरेका सही र सफल अनि क्रान्तिकारी र इमानदारीपूर्ण विचार, व्यवहार र नेतृत्वको विगतमा जोजसबाट, जेजती र जस्तो-जसरी अवमूल्यन, अपहेलना र अन्याय गरियो, त्यो साह्रै नै दुखद र अक्षम्य गल्ती थियो भन्ने कुरा आज इतिहासले पुष्टि गरिसकेको छ । यो कुरालाई महसुस गरेर नै हिजो पुष्पलालको संयुक्तमोर्चा नीतिप्रति असहमत, असहिष्णु र आक्रामक रहेको नेपाली काङ्ग्रेस र मोहनविक्रम सिंह (चौम/मसाल) यी दुवै संयुक्त आन्दोलन गर्नमा सहमत भएर नै संयुक्त जनआन्दोलन भएर त्यो सफल पनि भएको थियो भने मोहनविक्रमले त पुष्पलाललाई गद्दार भन्नू ठूलो गल्ती भएको भनी स्वीकार्दै उहाँ र उहाँको पार्टी नेकपा(मसाल) ले आज सच्चाइसकेको अवस्था छ ।
यसप्रकारका सही विचार र राजनीति अनि संगठन र संघर्षको यथोचित नेतृत्व गर्दागर्दै पनि पुष्पलाल यसरी उपेक्षित हुनुमा एकातिर पुष्पलालमा रहेको क्रान्तिकारी निष्ठा, नैतिकता, सोझोपना, इमानदारी र अनुशासनजस्ता कुराहरुप्रति आफ्नै पार्टी, आन्दोलन र नेतृत्वभित्रका गैरक्रान्तिकारी, गुटवादी, अवसरवादी, अनैतिक, प्रतिशोधपूर्ण र व्यक्तिवादी महत्वाकांक्षी सोंच र सनकले युक्त भएका राजनीतिक धूर्तहरु र तिनले गरेका गम्भीर उपहास र आघातजन्य क्रियाकलापहरुले काम गरेका छन् भने अर्कातिर नेपाली काङ्ग्रेस र मुख्यतः वीपी कोइरालाभित्रकै कम्युनिस्टलाई हेर्ने र बुझ्ने सन्दर्भमा भए-गरेका संकीर्ण, अनुदारवादी, अदूरदर्शी, पूर्वाग्रही र प्रतिशोधी विचार, भावना र कार्यहरुले काम गरेका छन् ।
नेपालमा नयाँ जनवादी गणतन्त्र र समाजवाद-साम्यवादको विचार र संगठनलाई मात्र होइन आन्दोलन र गणतन्त्रलाई नै स्थापित र विकसित गर्नमा स्वच्छ, स्वविवेकयुक्त र स्वाभिमानी अनि निस्वार्थ, निर्भिक र निर्णायक भूमिका र योगदान यदी कसैको छ भने त्यो पुष्पलालको नै छ र त्यो अरु कसैको भन्दा बढी नै छ भन्ने कुरा छर्लङ्ग छ ।
त्यसैले पुष्पलाल हामी सच्चा र स्वच्छ, इमान्दार र नैतिकवान, स्वाभिमानी र न्यायप्रेमी, देसभक्त र जनवादी, वामपन्थी र प्रगतिशिल अनि समाजवादी र साम्यवादी नेपालीहरुका एक सच्चा गुरु, आदर्श नेता, श्रद्धेय व्यक्तित्व र अविस्मरणीय नेतृत्व हुनुहुन्छ र चिरकालसम्म भैरहनुहुनेछ । अन्तमा फेरि पनि हार्दिक श्रद्धासुमन सच्चा र स्वच्छ एक अत्यन्तै इमान्दार र निष्ठावान क्रान्तिकारी नेता कमरेड पुष्पलाल श्रेष्ठप्रति !!













नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको शिष्टाचार भेट
टिचिङ अस्पतालले बन्द गर्यो स्वास्थ्य बीमा कार्यक्रम
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया