आइतबार, फागुन १७, २०८२

२ लाख २२ हजार राशिकाे नेजा ग्रामिण सामुदायिक पत्रकारिता पुरस्कार रसुवाकी आचार्यलाई

मेरोन्यूज २०७८ साउन १० गते ८:३०

काठमाडौं । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा प्रदान गर्दै आएको नेजा ग्रामिण सामुदायिक पत्रकारिता पुरस्कार यस पटक रसुवा जिल्लालाई कर्म क्षेत्र बनाएर पत्रकारितामा सक्रिय अनु आचार्यलाई प्रदान गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल पत्रकार महासंघले वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा गठन गरेको छनौट समितिले सिफारिस गरेका अन्तिम ३ जना पत्रकारहरु मध्ये नेजाद्धारा गठित संघका पूर्व अध्यक्ष भोला आचार्य संयोजक तथा पत्रकारहरु विजय घिमिरे र प्रतिमा बास्कोटा सदस्य रहेको छनौट समितिले अनु आचार्यलाई प्रदान गर्ने निर्णय सहित सिफारिस गरेको हो ।

पुरस्कार प्राप्त गरेकी आचार्य ६ वर्षदेखि पत्रकारितामा सक्रिय छिन् ।

सामुदायिक रेडियो, रेडियो रसुवा १०२ दशमलव १ मेगाहर्जबाट पत्रकारिता यात्रा सुरु गरेकी आचार्यले नयाँ पत्रिका राष्ट्रिय दैनिकमा यो वर्ष नेपाल र चीन व्यापार व्यवस्थापन कब्जा गर्न चीन बस्ने नेपाली व्यवसायीले सरकारी छाप नै किर्ते गरी नक्कली समिति खडा गरेको बारे समाचार लेखेकी थिइन् ।

उनको नियमित समाचार फलोअपका कारण व्यापार कब्जा गर्ने प्रयास विफल भएको थियो ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आजबाट सुरु हुन लागेको सातौं अधिवेशन तथा १४ औं साधारणसभाको उद्घाटन सत्रमा संघले पुरस्कृत हुने पत्रकारको नाम घोषणा गर्नेछ भने सो पुरस्कार नेपालमा नेजासँगको समन्वयमा नेपाल पत्रकार महासंघले एक कार्यक्रमकाबीच वितरण गर्नेछ । सो पुरस्कार सगै २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरिनेछ ।

संघले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा हरेक २ वर्षमा नेपालका ग्रामिण जिल्लामा बसेर पत्रकारिता गर्ने उत्कृष्ट पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया