कांग्रेसको १४ औं महाधिवेशन
क्रियाशील सदस्यतामा महिला सहभागिता : कति सन्तुष्ट छन् कांग्रेस नेत्री ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकै छ । क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई केही जिल्लामा बिवाद भए पनि अपुर्ण प्रतिबेदन बुझाएको छ । मंगलबार बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा सभापतिलाई बुझाएको प्रतिवेदनमा भनिएको छ, “प्रतिवेदनमा धनुषाको क्षेत्र नम्बर–४ र सर्लाहीे क्षेत्र नम्बर–२ को नयाँ क्रियाशील टुंग्याउन नसक्दा पुराना मात्रको सिफारिस गरेका छौँ । सप्तरी र बारा जिल्लाको नयाँ सदस्यबारे नेताहरुबाटै आवश्यक निर्णयका लागि अनुरोध गरेका छौँ ।”
सोही प्रतिवेदन अनुसार कुल संख्याको ७४.२६ प्रतिशत अर्थात ६ लाख ५३ हजार ४३८ जना पुरुषले क्रियाशील सदस्यता लिएको देखिन्छ । १ लाख ९९ हजार ९७ जना अर्थात २२.६२ प्रतिशत मात्र महिला कांग्रेसको क्रियाशिल सदस्य रहेको देखिएको छ ।
कांग्रेसका महिला क्रियाशिल सदस्यको संख्याले के देखाउँछ भने कांग्रेसमा अझै पनि नेतृत्व तहमा आउँन महिलालाई चुनौति नै छ । कांग्रेसको विधानमै एकतिहाई महिलाको प्रतिनिधित्व भनिएको छ । अर्को नेपालको संविधानले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चितताको ब्यवस्था गरेको छ ।
तर सदस्यतामा पनि महिलालाई त्यही अनुसार सक्रिय बनाउने, सदस्यता बनाउने तर्फ भने अझै नपुगेको तथ्यांकले देखाएको कांग्रेस नेतृहरु बताउँछन् ।
कांग्रेस सचेतक एवम् कांग्रेस नेतृ पुष्पा भुसालले १३ औँं महाधिवेशनको तुलनामा अहिले क्रियाशिल महिलाको सदस्यता वढेको बताइन् । तर यसले मात्रै महिलाहरु नेतृत्व तहमा अझै आउन चुनौति नै रहेको उनको भनाई छ । भुषालका अनुसार, कांग्रेससँग १३ औँ महाधिवेशनमा महिला क्रियाशील सदस्यको संख्या १० प्रतिशत मात्र थियो । पार्टी केन्द्रीय समितिमा करिव १७ प्रतिशत महिला सहभागिता थियो ।
‘महिला क्रियाशील सदस्यता बढाउने हाम्रो लक्ष्य हो,’ भुषालले मेरोन्यूजसँग कुरा गदै भनिन्,–‘महाधिवेशनपछि निरन्तर क्रियाशील सदस्यता दिन मिल्ने भनेको छ, विद्यानमै त्यो खालको ब्यवस्था छ । तर महाधिवेशनको नजिकमा मात्र क्रियाशील सदस्य लिने/दिने जुन चलन बनेको देखिन्छ । यसले महिला सहभागिता उल्लेख्य मात्रामा अझै पुग्न नसकेको हो ।’
महाधिवेशन सकिने बितिकै महिलालाई क्रियाशील सदस्यता दिएर भएपनि प्रतिशत बढाउनु पर्ने उनको भनाई छ । संविधानमै ३३ प्रतिशत भनेको हुदाँ स्वभाविक रुपमा नै संगठनभित्र महिला नेतृत्व अव त्यही अनुपातमा बनाउन राजनिितक दलहरु वाध्य छन् । तर संगठनको सदस्यतामा पन िसहभागिता बढाउन कांग्रेसले महन्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।
त्यसैगरी, कांग्रेसकै अर्का नेतृ डा.डिला संगौला पनि अहिलेको महिला क्रियाशील सदस्यताको प्रतिशतले पनि नेतृत्व तहमा असर पार्ने बताउँछिन् । ‘हामीले पटक –पटक महिला क्रियाशीलको संख्या बढाउँनुपर्छ, त्यसो गर्ने वातावरण निर्माण गर्नुपर्छ , त्यसो भएमात्रै वा संगठनको क्रियाशिल सदस्यतामै एक तिहाई महिला सहभागिता जुटाउन सकेमात्र हरेक संगठनमा सोही अनुसारको नेतृत्व र्निाण गर्न सकिन्छ,’ संग्रौलाले भनिन् ।
महिलाले क्रियाशील सदस्यता लिनै नचाहेका कारण संख्या उत्साहजनक नभएको कुरामा उनी सहमत छैनन । क्रियाशिल सदस्यता लिने/दिने ठाँउमै पुरुष हुदाँ महिला कम क्रियाशील भएको उनको भनाई छ ।

‘संविधानमै ३३ प्रतिशत महिला हुनुपर्ने भनिएको छ । नेपाली कांग्रेसको विधानमा ३३ प्रतिशत भन्ने छ तर सदस्यता दिदाँ चाही २२ प्रतिशत मात्र दिने ? यही संख्याले त नेतृत्व तहमा जान महिलालाई समस्या पार्ने देखिन्छ,’ संग्रौलाले भनिन,–‘जिल्ला, गाँउ, वडा तहसम्मै हामीले भनिरहेको थियौ । तर त्यहाँ महिला नेतृहरुले आफुहरुलाई क्रियाशील सदस्यता खोज्दा पुरुषले क्रियाशील नदिएको गुनासो थियो । जसको परिमाण अहिले देखिएको छ ।’
संख्यामा महिला नेतृहरुको केन्द्रीय समितिमा प्रतिनिधित्व ३३ प्रतिशत हुने देखिएपनि नेतृत्व तहमै भने प्रतिनिधित्व गर्ने अवस्थामा अझै महिला नेतृहरुले हिम्मत देखाएका छैनन । कांग्रेस नेतृ इश्वरी न्यौपानेले पहिलाको तुलनाले महिला क्रियाशील सदस्य तीन गुणाले बढेको भएपनि महिलाले नै क्रियाशील सदस्यता कम लिएको बताउँछिन । उनले भनिन् –‘अब आउँने १५ औँ महाधिबेशनमा सबै समयमै लागेर यसको प्रतिशत भने बढाउँनुपर्छ ।’
उनका अनुसार, पहिला पहिला जो आफ्नो छ त्यसलाई दिने महिलाले पनि वास्ता नगर्ने र पुरुषले पनि ल लिनु भनेर नदिने गरेको अवस्था थियो । महिलाले आफ्नो अधिकार नखोजेको अवस्था पनि थियो । अहिलेको क्रियाशील मतदाता हुन् । वडादेखि केन्द्रसम्म एक तिहाई महिला सुनिश्चत नै गरेको उनले बताईन् ।
क्रियाशील सदस्य कम भए पनि महाधिवेशन प्रतिनिधीहरुमा प्रतिशत छुट्याएको हुदाँ समस्या नआउँने कांग्रेस नेतृ सरिता प्रसाईको तर्क छ । उनले भनिन्,–‘महिलाले महिलाको भोट मात्र भन्ने त हुदैन् पुरुषको पनि भोट आउँछ नि !” नेपालमा पहिलो पटक मन्त्रीमण्डलमा महिलालाई समावेश गर्ने पार्टी नेपाली कांग्रेस नै हो । द्वारिकादेवी चन्द ठकुरानी काग्रेसको नेतृत्वमा बनेको सरकारमा काग्रेसकै महिलाको तर्फबाट पहिलोपटक स्वास्थ्य सहायक मन्त्री बनेकी थिइन् ।
दिवंगत नेतृ शैलजा आचार्य सरकारमा उपप्रधानमन्त्री तथा पार्टीमा उपसभापति सम्म बनेको इतिहास काग्रेसमा छ । त्यस्तै मंगलादेवी सिंह पार्टीको नेतृत्व तहमा थिइन् । उनको २०५३ सालमा निधन भयो । नेपालको संविधानले संसदमा प्रतिनिधीसभामा सभामुख र उपसभामुखमध्ये एक महिलाको ब्यवस्था गरेको छ । स्थानिय तहमा गाउपालिकाको अध्यक्ष, उपाध्यक्ष मध्ये एक महिला, नगरपालिकाको मेयर या उपमेयरमध्ये एक् महिला अनिवार्य गराएको छ । तर, त्यो अनुरूप नेपाली कांग्रेसको विधानमा पार्टी नेतृत्वमा महिलालाई नेतृत्वमा पुरयाउन आरक्षणको व्यवस्था छैन ।
संवैधानिक ‘क्लस्टर’ अनुसार समावेशी कोटाका आठ सहमहामन्त्री हुने व्यवस्था विधानमा छ । सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री सहित १३ पदाधिकारी पदमा निर्वाचन हुने विद्यानमा व्यवस्था छ । जसमा एक महिला आरक्षणमा महामन्त्री बन्न पाउँने देखिन्छ । भने एक जना कोषाध्यक्ष मनोनियत गर्न पाउँने विधानमा उल्लेख छ ।
नयाँ विधानले आठवटै संरचनामा एक तिहाइ महिला सहभागिता रहनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाका कारण केन्द्रमा पनि न्यूनतम ५६ जना महिला सदस्यले प्रवेश पाउने छन् । त्यसका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिको नौ सदस्य पदमा महिलाबीच मात्रै प्रतिस्पर्धा हुने गरी खुला आरक्षणको व्यवस्था गरेको छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।









काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया