शनिबार, माघ २६, २०८१

शुक्लाफाँटमा पाटेबाघको सँख्या वृद्धि

मेरोन्यूज २०७८ साउन १४ गते १७:१३


काठमाडौं । सुरक्षित बासस्थानले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या प्रतिवर्ष बढ्दो छ ।

Advertisement

निकुञ्ज कार्यालयले बासस्थानको संरक्षण, चोरी शिकारी नियन्त्रण लगायतका कार्य निरन्तर अगाडि बढाउँदै आएपछि पाटे बाघको संख्या बढेको हो ।

सन् २०१८ मा गरिएको गणनाअनुसार शुक्लाफाटा निकुञ्जमा १६ पाटे बाघ फेला परेका थिए । त्यसमा भालेको संख्या ९, पोथीको ६ र लिंग खुल्न नसकेको १ रहेको थियो । प्रत्येक ५ वर्षमा गरिने बाघ गणनामा सन् २००९ मा शुक्लाफाँटामा बाघको संख्या १० थियो ।

सन् २०१३ मा बढेर १७ पुगेको थियो । गएको ५ वर्षको अवधिमा ८ देखि १२ को हाराहारीमा रहेको पाटे बाघ १६ पुगेको हो । थोरै क्षेत्रफल भएको शुक्लाफाँटा निकुञ्ज बाघको धेरै घनत्व भएको क्षेत्रमा चिनिन्छ ।

निकुञ्ज कार्यालयले गत महिना गरेको अनुगमनमा पाटे बाघ अघिल्ला वर्षको तुलनामा सुधारोन्मुख अवस्थामा रहेको पाइएको जनाएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीका अनुसार पाटे बाघको अनुगमनको कार्य पूरा गरी स्वचालित क्यामेराबाट प्राप्त तस्वीर विश्लेषण गर्ने कार्य भइरहेको छ ।

पाटे बाघको संख्या सन्तोषजनक पाइएको उनले भने, ‘आहारा प्रजातिको संरक्षणसँगै पाटे बाघको उपस्थिति उत्साहजनक अवस्थमा रहेको पाएका छौँ ।’

आहारा प्रजातिको घनत्व निकै राम्रो भएकाले पाटे बाघको बासस्थानसमेत राम्रो अवस्थमा रहेको चौधरीले बताए । पाटे बाघका आहारा प्रजातिका लागि चरन क्षेत्रमा सुधारसँगै पानीको कमी हुन नदिन निकुञ्जभित्र १ सय ४५ बढी कृत्रिम पोखरी निर्माण गरी निरन्तर पानीको व्यवस्था गरिँदै आएको छ ।

निकुञ्जमा ५५ बढी साना–ठूला गरी प्राकृतिक ताल रहेका छन् । बाघ जोगाउनका लागि निरन्तर गस्ती, बासस्थान रहेको क्षेत्रको सुरक्षाका लागि एक सातादेखि १० दिनसम्म ठाउँठाउँमा क्याम्पेनिङ गरी निकुञ्ज क्षेत्रमै बस्ने गरी सुरक्षाकर्मीको टोली परिचालन गर्ने, सुराकी परिचालन गर्नेलगायतका कार्य हुँदै आएको सूचना अधिकारी चौधरीले बताए ।

पाटे बाघ निकुञ्जको कोर एरिया, मध्यवर्ती क्षेत्रका वन र चुरे क्षेत्रमा पाइने गरेका छन् । निकुञ्ज नजिकै भारतीय दुधुवा नेशनल पार्क पर्ने भएकाले बाघले सीमा वारपार गर्ने भएकाले पनि कहिले बाघको सङ्ख्यामा थोरैले घटीबढी हुने गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षित वन्यजन्तु, अनुसूची १०मा पाटेबाघ सूचीकृत छ । सन् १९७४ देखि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ संरक्षण कार्य गरिँदै आएको छ । बाघ गणनाको कार्य भने सन् १९९९ देखि हुँदै आएको छ । निकुञ्जको ३०५ वर्ग किलोमिटर क्षेत्र पाटे बाघको मुख्य बासस्थान भनेर चिनिन्छ । पाटेबाघ विश्वकै सबैभन्दा आकर्षक र सुन्दर जनावरको श्रेणीमा पर्दछ ।

सन् २०१० मा रसियाको सेन्टपिटर्स वर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । नेपालमा पाटे बाघको सङ्ख्या भने हालसम्म २३५ रहेको छ । पाटे बाघ पारिस्थितिकीय प्रणालीमा सबैभन्दा माथिल्लो तहमा पर्ने मांसहारी जनावारका रूपमा छ । विश्वमा पाइने जम्मा नौ बाघका उपप्रजातिमध्ये तीन उपप्रजाति लोप भइसकेका छन् ।

निकुञ्जले पाटेबाघको संरक्षणसँगै आहारा प्रजातिका लागि खानेपानी, चरन क्षेत्रको व्यवस्थापन गरी बासस्थान सुधार गर्ने, पाटेबाघ तथा त्यसको आहारा, प्रजातिको चोरी शिकारी हुन नदिन संरक्षण शिक्षा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पाटे बाघको आहारा प्रजातिबारे अध्ययन र अनुसन्धान गर्नेलगायतका कार्य अगाडि बढाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार पाटे बाघ मार्ने तथा यसका अंगको चोरी शिकारीमा संलग्न व्यक्तिलाई १५ वर्ष कैद र रु १० लाखसम्म जरिवाना गर्ने कानूनी व्यवस्थासमेत गरेको छ ।

प्रतिक्रिया