बुधबार, माघ ९, २०८१

राजस्व संकलनमा ३३ प्रतिशतले वृद्धि

मेरोन्यूज २०७८ साउन १४ गते २१:०२


काठमाडौँ । नेपाल प्रहरीले कानूनविपरीतका क्रियाकलापविरुद्धको कारवाहीबाट आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आवमा ३३ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ ।

Advertisement

आर्थिक वर्ष २०७६÷७७ मा दुई अर्ब १७ करोड राजस्व संकलन गरेकामा गत आवमा दुई अर्ब ९० करोड संकलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको सक्रियताका कारण राजस्व सङ्कलनमा वृद्धि भएको जानकारी दिए । उनका अनुसार चाँदी बरामदबाट भने १०० प्रतिशत नै बढी राजस्व संकलन भएको छ । अवैध मुद्रावापत झण्डै ७०० प्रतिशतले राजस्व सङ्कलन वृद्धि भएको प्रवक्ता कुँवरले जानकारी दिए ।

यसैगरी सुन बरामदबाट ३३ दशमलव ७५ प्रतिशतले राजस्व संकलन बढेको छ । ट्रफिक कारवाहीमा समेत ३० दशमलव ७६ प्रतिशतले बढेको छ । अवैध सुन बरामदबाट प्रहरीले अघिल्लो वर्ष २० करोड ३० लाख राजस्व संकलन गरेकामा गत वर्ष रु २७ करोड १५ लाख संकलन गरेको छ । अवैध मुद्रामा अघिल्लो वर्ष ९९ लाख राजस्व संकलन गरेकामा गत आर्थिक वर्षमा ७ करोड बढी राजस्व संकलन गरेको छ ।

यस्तै गत आर्थिक वर्षमा अवैध सामान बरामदबाट ८५ करोड राजस्व संकलन भएको छ । नेपाल प्रहरीतर्फ गत आर्थिक वर्ष २८ अर्ब ३६ करोड बजेट विनियोजन भएकामा राजस्व संकलन सहायताका आधारमा १० दशमलव २५ प्रतिशत योगदान प्रहरी कारवाहीबाट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया