अस्पताललाई बजेट अभाव, धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

बलेवा । बजेट अभावले धवलागिरि अस्पतालमा निर्माण शुरु भएको शिशु सघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखि चार सातासम्मका बालबालिकाका लागि स्थापना गर्न थालिएको शिशु सघन उपचारकक्ष (एनआइसीयू) निर्माणले बजेट अभावका कारण गति लिन नसकेको हो ।
गण्डकी प्रदेशकाे स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा उक्त कक्ष निर्माणका लागि ६० लाख रुपैयाँ उपलब्ध गराएको थियो । तीन करोडको आश्वासन पाएको अस्पतालले उक्त कक्ष निर्माणको काम थालेको थियो ।
विनियोजित बजेटले एनआइसीयूका लागि आवश्यक उपकरणलगायतका व्यवस्थापन अपुग भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताए ।
“हामी अत्यावश्यक परेमा अहिलेसम्म निर्माण भएको संरचनाबाट उपचार गरिरहेका छौं, तर आवश्यक सबै पूर्वाधार र उपकरण तयार गर्न बजेटको अभाव छ”, पोखरेलले भने, “छिमेकी जिल्लाका अस्पतालले तीन करोड पाउँदा धवलागिरिले ६० लाखमात्रै पाएको विषयमा खोजी भइरहेको छ ।”
कुनै समय सिफारिस केन्द्रका रूपमा परिचित धवलागिरि अस्पतालले बागलुङमा दुई वर्षयता संरचना र जनशक्तिको प्रयोग गरेर सेवा दिने अस्पतालका रूपमा विकास गरिरहेको छ । एक वर्षअघि यस अस्पतालमा तीन शैय्याको सघन उपचारकक्ष स्थापना भएको थियो ।
अस्पतालमा तत्काल एनआइसीयू स्थापना भए नवजात शिशुको सुरक्षित उपचार हुने भएकाले काठमाडौं तथा पोखरा धाइरहनुपर्ने बाध्यता अन्त्य हुने अस्पताल विकास समितिका अध्यक्ष केवी राना बताउँछन् ।
“हामी काम गर्न तयार छौं र गरिरहेका छौं, सरकार आश्वासन दिन्छ बजेट दिँदैन”, राना भन्छन्, “धवलागिरि अस्पतालमा सबै क्षेत्रको सहयोग र समर्थन भए अस्पताल सक्षम अस्पतालका रूपमा विकास हुन्छ ।”
एनआइसीयू बनेमा चार सातासम्मका बालबालिकाको सुरक्षित उपचार हुने अस्पतालका बालरोग विशेषज्ञ प्रकाश थापाले बताए । अस्पतालले आपत्कालीन प्रयोगका लागि भेन्टिलेटर राखेर उक्त कक्ष सञ्चालनमा भने ल्याएको छ ।
बाढीपहिराका कारण सडक अवरुद्ध भएर काठमाडौं, पोखरा पुग्न नसक्दा बिनाउपकरण पनि चिकित्सक र स्वास्थ्यकर्मीले एनआइसीयू कक्ष सञ्चालन गरेर उपचार गरेका थिए ।
आपत्कालीन सञ्चालनका लागि समेत जनशक्तिको अभाव छ । सिकिस्त भएका, ज्वरो बढी आएका, दूध चुस्न नसक्ने, श्वास फेर्न गाह्रो भएका नवजात शिशुलाई एनआइसीयूमा नै राखेर उपचार गर्नुपर्ने डा. पोखरेल बताउँछन् ।
















निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया