आइतबार, फागुन १७, २०८२

कर्णालीका होटल व्यवसायीद्वारा राहत माग

मेरोन्यूज २०७८ साउन १५ गते ८:४३

सुर्खेत । सुर्खेतका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहतको माग गरेका छन् । होटल व्यवसायी संघ सुर्खेतले बिहीबार कर्णाली प्रदेश सरकारलाई आफ्नो मागपत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटल व्यवसायलाई उकास्न राहत माग गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकाले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले जानकारी दिए ।

“विगत दुई वर्षदेखि हामी थला परेका छौँ, राज्यले पनि हामीबाट कर लिने बेला लिन्छ, तर अहिले हामी समस्यामा पर्दा केही राहत दिन सक्दैन”, उनले भने ।

कोरोना महामारीको यस्तो अवस्थामा खोप दिन पनि कञ्जुस्याइँ गरिरहेको भन्दै अध्यक्ष रावतले व्यवसायीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए ।

उनका अनुसार सुर्खेतमा मात्र एक हजार २५० होटलमा पाँच हजार कर्मचारी रहेका छन् । कर्णालीका होटल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने मागसमेत गरिएको रावतले जानकारी दिए ।

व्यवसायीको मागप्रति सरकार गम्भीरः मन्त्री बुढाक्षेत्री
प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले होटल व्यवसायीका मागप्रति सरकार गम्भीर रहेको बताए । व्यवसायीको मागपत्र बुझ्दै मन्त्री उनले कोरोना महामारीको चपेटामा होटल व्यवसाय क्षेत्र पनि परेकाले प्रदेश सरकारले यसलाई माथि उकास्ने खालका कार्यक्रम ल्याउने जानकारी दिए ।

कोरोना भाइरसविरुद्धको खोप होटल व्यवसायीलाई पनि लगाउन मन्त्रालयले पहल गर्ने उनको भनाइ थियो ।

“अहिले हाम्रो प्राथमिकता भनेको नागरिकको स्वास्थ्य हो, त्यसैले सबै नागरिकलाई खोप लगाउने लक्ष्य छ, सोहीअनुसार स्वास्थ्यकर्मी, सञ्चारकर्मी, ज्येष्ठ नागरिक, सफाइकर्मी र शिक्षकलाई खोप लगाउने काम भइरहेको छ”, उनले भने ।

होटल व्यवसायी र यहाँ काम गर्ने कर्मचारीमा पनि कोरोनाको जोखिम हुने भएकाले केन्द्र सरकारसँग समन्वय गरी खोप लगाउन प्रदेश सरकारले आवश्यक पहल गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया