आइतबार, वैशाख २७, २०८३

घमण्डले मै हुँ भन्नेहरूको अन्त्य भएको छ : माधव नेपाल

मेरोन्यूज २०७८ साउन १६ गते १५:०९

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले घमण्डले शक्तिशाली भन्नेहरूको अन्त्य भएको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले घमण्डी जोकोहीको अन्त्य भएको बताएका हुन् ।

Advertisement
NiccNicc

‘तपाईहरूले घमण्ड नपाल्नुहोस्, घमण्डले मै हुँ भन्नेहरूको पनि दुुःखद् अन्त्य भएका छन्, यस्ता धेरै इतिहासहरू रहेका छन्,’ आफू पक्षका अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘आफ्नो सिद्धान्त र वामपन्थीको विश्वासमार्फत सही बाटोमा अघि बढ्नुहोस्, जनताको मन जित्ने काम गर्नुहोस् ।’

यस्तै, नेता नेपालले सर्वोच्च अदालतले विघटिन प्रतिनिधिसभा पुनः गठन गरेको भन्दै धन्यवाद दिए । ‘सर्वोच्च अदालतले संसद पुनः स्थापना गरिदिएको छ, फेरि विघटित गराएर सत्ता कब्जा गर्ने कोही कसैले हर्कत गरे मात्र त्यो शय्या हुने छैन,’ नेता नेपालले भने, ‘कोही कसैले राजा ल्याउने कुरा गरेका छन्, इतिहासको एउटा कुनामा फालेको विषयलाई कसैले ल्याउन खोजे राम्रो हुने छैन ।’

नेता नेपालले अरुको सम्मान, इज्जत र विश्वास गर्न अखिल फोर्सका नेतृत्व तथा कार्यकर्ताहरूलाई आग्रह गरे । उनले अरूको सम्मान गरे मात्रै आफूले पनि सोही सम्मान र इज्जत पाउने बताए । नेता नेपालले भने, ‘सही निर्णयमा सतिसाल जस्तै अडिक भएर उभिनुहोस्, विद्यार्थी र जनताको विश्वास जित्नुहोस्, खराब काममा नलाग्नुहोस् ।’

यस्तै, नेता नेपालले भारतीय एसएसबीले नेपाली युवाले नदी तर्दै गर्दा तुइन काटिदिँदा बेपत्ता भएको घटनाप्रति नेपाल र भारत सरकारको ध्यानाकार्षण गरेका छन् । ‘भारती एसएसबीका कारण नेपाली युवा नदीमा बेपत्ता भएका छन्, यस विषयमा भारत सरकारको ध्यान जाओस्, भारतीय सरकारसँग दोषीलाई कारबाहीको माग गर्दछु,’ उनले भने ।

प्रतिक्रिया