शुक्रबार, माघ १६, २०८२

सरकारी लगानीमा सोलार प्लान्ट निर्माण हुँदै

मेरोन्यूज २०७८ साउन १८ गते १३:४३

काठमाडौं । देशकै ठूलो सरकारी सोलार प्लान्ट आउँदो चैतमा निर्माण हुने भएको छ । नुवाकोटमा निर्माण भइरहेको सोलार प्लाण्टबाट हालसम्म ११ मेगावाट बिजुली उत्पादन भई त्रिशूलीस्थित देवीधाट जलविद्युत केन्द्रको सबस्टेसनमा जोडिइसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

निर्माणको कार्य गरिरहेको प्राधिकारणले बाँकी १३ मेगावाट बिजुली आउँदो चैतसम्म उत्पादन गर्ने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए । त्रिशूली जलविद्युत केन्द्रका विभिन्न स्थानमा सोलार प्लाण्ट जडान गरेर बिजुली उत्पादन गर्ने लक्ष्य रहेको रहेको छ ।

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत सोलारमा लगानी भएको हो । सोलार आयोजनालाई ४ अर्ब रुपैयाँ ऋण सहयोग दिएको छ ।

आयोजनाको काम सुरु गर्न २०१७ मा चीनको राइजन इनर्जी लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । राइजन सोलार प्यानल उत्पादक कम्पनी हो । आयोजनाबाट वार्षिक ३ करोड ३० लाख युनिट बिजुली उत्पादन हुनेछ ।

देवीघाट विद्युत केन्द्रका नाममा रहेको जग्गामा सोलार प्यानल राखेर उत्पादित बिजुली सोझै राष्ट्रिय प्रणाली ग्रीडमा जोडिनेछ ।
देवीघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत जडानका लागि ६६ ३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेका छन् ।

ठेक्का पाएको चिनियाँ कम्पनीले आउँदो ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गर्नेछ । सरकारीसँगै निजी क्षेत्र पनि सोलामा लागको छ । अपी पावर कम्पनी लिमिटेडलगायतले सौर्य प्रणालीबाट बिजुली उत्पादन गर्न लागेको छ ।

विद्युत विकास विभागले सौर्य प्रणालीबाट बिजुली उत्पादन गर्न अनुमतिपत्र (लाइसेन्स) दिँंदै आएको छ । बुटबल सोलार आयोजनाबाट ८ दशमलब ५ र मिथिल्ला सोलारबाट १० गरी गत आर्थिक वर्षमा १८ दशमलब ५ मेगावाट बिजुली सोलारबाट उत्पादन भइसकेको छ ।

देशका विभिन्न क्षेत्रमा अहिले सोलारबाट बिजुली उत्पादन सुरु भएको छ । सोलारबाट बिजुली उत्पादन गर्न निजी क्षेत्र लागेको छ । विद्युत प्राधिकरणले पनि सोलारको बिजुली खरिद गरिरहेको प्रवक्ता तिम्सिनाले उल्लेख गरे ।

प्रतिक्रिया