आइतबार, माघ १३, २०८१

माहाकाली नदी घटनाबारे संसदीय समिति गठन गर्न एमालेको माग

मेरोन्यूज २०७८ साउन १९ गते १४:२९

काठमाडौं । नेकपा एमालेका सांसद्ले दार्चुलाको माहाकाली नदीमा भएको घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा दार्चुलाबाट निर्वाचित एमाले सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाको छानविन गर्न संसदीय छानविन समिति गठनको माग गरेका छन् ।

Advertisement

साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका बताइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शुरुमै एमाले सांसदले घटनाबारे उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिउका थिए ।

उनले दार्चुला घटनाबारे अविलम्ब भारतसँग औपचारिक छलफल गरी दोषी भारतीय सुरक्षाकर्मी (एसएसबी)लाई मानव हत्या गरेको अभियोगमा कारबाही गर्न माग गरे ।

उनले भने, ‘दार्चुला घटनाबारे सरकारले अविलम्ब भारतसँग विरोध जनाउनु पर्छ । दोषी एसएसबीलाई मानव हत्या गरेको अभियोगमा कारबाही गर्न माग गर्दछु । युद्धमा पनि जीउज्यान जोगाउनु मानवीय धर्म हुन्छ । तर, जयसिंह धामीको हत्या भएको छ । सीमामा यसरी नेपाली नागरिकको हत्या हुँदा पनि सरकार भारतीय राजदूतलाई बोलाउनुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसिरहेको छ ।’

एमालेले भारतीय राजदूतसँग सोध्नुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसेको भन्दै विरोध जनाएको छ ।

एमालेले घटनाबारे भारतसमक्ष औपचारिक विरोध दर्ता गर्नुपर्ने, घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने, मृतकका आफन्तलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।

सांसद ठगुन्नाले आफन्तले भारतीय प्रहरी चौकीमा किटानी जाहेरी दिँदासमेत सुनुवाइ नभएको बताउँदै नेपाल सरकारले भने घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लागाए ।

प्रतिक्रिया