विमला वली प्रकरण
सांसद विमलालाई मन्त्रीको गाडीमा नेपालगञ्ज भनेर बुटवल पुर्याएपछि…
ओनसरी घर्ती भन्छिन : नेपालगञ्ज भनेर बुटवल पुर्याएको रहेछ

बुटवल । लुम्बिनी प्रदेशसभाका सांसद विमला वली अहिले चर्चामा छिन । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेकपाबाट उपचुनावमा विजयी भएकी उनले एमाले-माओवादी विभाजनपछि माओवादी केन्द्र रोजेकी थिइन ।
उनी सांसद हुनुअगाडि उक्त स्थानमा उनकै श्रीमान उत्तरकुमार वली सांसद थिए । तत्कालीन एमालेबाट चुनाव जितेका उनका श्रीमानको २०७५ फागुन १० गते बुटवलबाट दाङ फर्किदै गर्दा सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि उक्त क्षेत्रमा उपचुनाव भयो । त्यसबेला एमाले र माओवादी एकता भई नेकपा बनिसकेको थियो ।
नेकपाले उत्तरकुमारकी पत्नी विमलालाई उपचुनाव लडाउने निधो लिए । उपचुनावमा सूर्य चिन्ह लिएर उनले चुनाव जितिन् । तर, उनको पार्टी नेकपा सर्वाेच्च अदालतको गत फागुन २३ को निर्णयपछि अलग भयो । उनले एमाले वा माओवादीमध्ये एउटा रोज्ने पाइन ।
गत वैशाखसम्म उनी मौन बसिन् । उनलाई एउटा पार्टी रोजिहाल्नु पर्ने बाध्यता आएन । जब प्रदेश सरकारहरू एकपछि अर्को गरी डगमगाउन थाले । त्यसपछि उनी तानातानमा परिन् । प्रदेशमा मुख्यमन्त्री सम्हालेका एमाले नेता शंकर पोखरेलले उनलाई एमालेमा आउन भने । तर, उनले पोखरेलको पद धरापमा पार्ने गरी मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइरहेको अवस्थामा माओवादी केन्द्र रोजिन् ।
एमालेले उनलाई आफ्नो पक्षको सांसद हुने बताए पनि उनले प्रदेश सभा दल कार्यालय, प्रदेश सभा सचिवालयदेखि माओवादीका अध्यक्ष प्रचण्डसम्मलाई पत्र लेखेर माओवादी केन्द्र रोज्ने निर्णय लिएको बताइन् ।
हेर्नुहोस त्यसबेला उनले जारी गरेको पत्र


विमलाले माओवादी केन्द्र रोजेपछि एमालेकै सांसद हुने तर्क एमालेका नेताहरुले गरिरहे । उनीमाथि कारबाही हुनेसमेत धम्की दिए । तर, कर्णाली प्रदेशका प्रकाश ज्वालासहित प्रदेशसभा सदस्यमाथि कारबाही प्रक्रियाअगाडि बढाएको जस्तो एमालेले विमलामाथि कुनै प्रक्रिया चालेनन् ।
विमलाले माओवादी केन्द्र रोजेको कारण कारबाही गर्ने आधार बलियो नभएकाले एमालेले कारबाही प्रक्रिया अगाडि नबढाएको चर्चा प्रदेश सभामा हुने गरेको थियो । विमला पनि माओवादी केन्द्रको बैठकमा सहभागी हुने, विपक्षी गठबन्धनका क्रियाकलापमा हस्ताक्षर गर्दै आइरहेकी थिइन् । तर, एकाएक उनी गत साउन १५ गते हराइन् । उनी हराएसँगै अनेक अडकलबाजी लगाइन थालियो ।
दुईमध्ये एक पार्टी रोज्ने बेलामा उनको चुनावी खर्च माओवादीले व्यहोरेर आफ्नोतिर लगेको चर्चा चल्यो । अहिले फेरि त्यो खर्च मुख्यमन्त्री पोखरेलले व्यहोर्ने गरी विमलालाई एमालेतिर लगेको चर्चा चलिरहेको थियो ।
त्यहीबेला दुई दिनअगाडि मात्रै विमलाको हस्ताक्षरसहित सञ्चारमाध्यमलाई दुई पानाको एउटा विज्ञप्ति सार्वजनिक भयो । जहाँ उनले आफू माओवादीमा नभई एमालेमा नै रहेको उल्लेख गरेकी थिइन् ।
हेर्नुहोस् वक्तव्य


विमला एमालेमा नै फर्किन भन्ने चर्चाका बीच माओवादी केन्द्रले चाहेमा अब उनको पद खोस्न सक्ने टिकाटिप्पणी हुन थाल्यो । तर, बुधबार विमलाको बारेमा थप नयाँ चर्चा शुरु भएको छ । उनी माओवादी नेताहरुको सर्म्पकमा पुगिन । माओवादीको लुम्बिनी प्रदेशका संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’लाई उनले एसएमएस पनि पठाइन् र भनिन्, ‘म माओवादी केन्द्रमै छु, दुई दिनअगाडि जारी गरिएको विज्ञप्ति नक्कली हो ।’
विमलालाई नेपालगञ्ज माइतीघर जाने भनेर मन्त्रीकै गाडीमा चडाएर मुख्यमन्त्रीको निवासमा लगेर बन्धक बनाएको र त्यहाँबाट उम्केर उनी अहिले माओवादीको सर्म्पकमा आएको माओवादीका प्रदेश सांसदहरुको भनाई छ । विमला अहिले आफूहरूकै सर्म्पकमा रहेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । तर, उनीसँग अहिले सञ्चारकर्मीहरुले कुरा गर्न पाएका छैनन् ।
यसबारे माओवादीका प्रदेश अध्यक्ष ओनसरी घर्तीले विमलालाई मन्त्रीको गाडीमा नेपालगञ्ज भनेर बुटवल पुर्याएको बताएकी छन् ।
विमला प्रकरणबारे अनेसरीको भनाई – विमलालाई मन्त्रीको गाडीमा नेपालगञ्ज भनेर बुटवल पुर्याएका रहेछन्

विमलाको माइती नेपालगञ्जमा नै हो । नेपालगञ्ज जाऔँ भनेर मन्त्रीकै गाडीमा हालेर लगिएको रहेछ । आफ्नो माइती घर नेपालगञ्जमै रहेकाले उहाँले पनि जान स्वीकार गर्नु भएछ। नेपालगञ्ज जानका लागि भनेर गाडी चढाइएकी उहाँलाई अमिलियाबाट सीधैँ पूर्वतर्फ लगिएको रहेछ ।
नेपालगञ्ज पश्चिततर्फ जानु पर्नेमा अमिलियादेखि पूर्वतर्फ गाडी कुदाएपछि उहाँले असन्तुष्टि जनाउनु भएको रहेछ । त्योबेला उहाँले आफू अपहरणमा परेको भनेर बल्ल थाहा पाउनु भएको रहेछ।
त्यसपछि उहाँलाई सीधै मुख्यमन्त्री शंकर पोख्रेलको निवासमा पुर्याइएको रहेछ । झण्डै साता दिनअघि बुटवल पुर्याइएकी उहाँलाई बाहिर निस्कनै नदिई राखिएको रहेछ । बिहीबार निस्कनासाथ उहाँ हाम्रो सम्पर्कमा आउनु भयो । अहिले हाम्रा माननीय ज्यूहरुसँग उहाँ सुरक्षित हुनुहुन्छ । उहाँलाई अब कुनै अप्ठ्यारो पर्न दिने छैनौँ ।
















त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
जुम्लामा बढ्यो चुनावी सरगर्मी
नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया