सरकार परिवर्तनको असर
प्रहरी एआइजीको ‘फुली’मा राजनीति
‘घटुवा गरेर डिआइजी बनाइदिऊँ कि राजीनामा दिएर जाने ?’

काठमाडौँ । सरकार परिवर्तनको प्रत्यक्ष असर नेपाल प्रहरी र सशस्त्र प्रहरीभित्र पर्ने गरेको छ । सरकार परिवर्तनसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा गृहमन्त्री बालकृष्ण खाँडले हस्तक्षेप शुरु गर्दा कतिपय प्रहरी अधिकारीहरुले सरकारी जागिरको जीवनमा नमिठो अनूभूति गरिरहेका छन् ।
नेपाल प्रहरीमा आइजीपीका दाबेदारका रुपमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा अहिले जिम्मेवारीविहीन भएका छन् । ओली नेतृत्वको अघिल्लो सरकारले पनि सशस्त्र प्रहरीका एआइजीहरु जानकी भट्टराई, राजेश श्रेष्ठ, सुबोध अधिकारी, निराकार विक्रम शाह र खडानन्द चौधरीले पदावधि बाँकी हुँदै राजीनामा दिएर घर जानु पर्ने बाध्यकारी अवस्था सिर्जना गरिएको थियो ।
‘घटुवा गरेर डिआइजी बनाइदिऊँ कि राजीनामा दिएर जाने ?’ भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हप्काएपछि उनीहरू राजीनामा दिन बाध्य भएका थिए । डिआइजी प्रथम श्रेणी र एआइजी विशिष्ट श्रेणीका हुन्छन् ।
यसरी तल्लो श्रेणीमा घटुवा हुनुभन्दा राजीनामा दिनु ठिक लागेर बर्दीधारीहरू घर गए । तर, त्यसपछि त्यही सशस्त्रमा नियमानुसार नै खड्ग राई, मन्दिप श्रेष्ठ, पुष्पराम केसी, रामशरणहरुको म्याद थप भयो । सुरज श्रेष्ठ र प्रविन श्रेष्ठहरुलाई भने घर गए । सशस्त्र प्रहरीभित्रै व्यवसायिक अधिकारी थिए, सुरज श्रेष्ठ । उनको म्याद थप्ने विषयमा तत्कालीन प्रधानमन्त्री ओली सकारात्मक बन्न सकेनन् ।
अहिले अघिल्लो सरकारले दरबन्दी थप गर्दै पदस्थापन गरे पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यसलाई कार्यान्वयन नगर्न निर्देशन दिएपछि थापा फुली लगाएको २६ दिन बित्दा जिम्मेवारीविहीन भएका हुन् । नेपाल प्रहरीले केही दिनअघि सार्वजनिक गरेको एक वर्षको उपलब्धीमा दुई एआइजीको दरबन्दीलाई समेत जोडेर वार्षिक कार्यप्रगति सार्वजनिक गरेको छ ।
तर, एआइजी थापालाई भने अहिलेसम्म कुनै जिम्मेवारी दिएको छैन । अघिल्लो सरकारले उनलाई गत असार २४ गते एआइजीमा बढुवा निर्णय गरेको थियो । थापा २५ गते मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन भएका थिए ।
पदस्थापनसँगै बाँकी चार एआइजीको सरुवा गरिएको थियो । तर, सर्वोच्च अदालतको फैसलाबाट असार २८ गते ओली सरकार विघटन भएर त्यसको भोलिपल्ट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै थापाको पदस्थापना अलपत्र पारिएको हो ।
‘सरकार परिवर्तनपछिको सबैभन्दा बढी पीडा सुरक्षा निकायले भोग्नुपर्छ हिजोको दिन नेपाल प्रहरीभित्र यादव अधिकारीहरुले भोगेका थिए आज अरुले भोग्दैछन्’, एक प्रहरी अधिकारीले भने । उनका अनुसार अहिले व्यक्तिगत रुपमा थापाका लागि एआइजीको दरबन्दी ल्याए पनि नेपाल प्रहरीलाई आएको दरबन्दी भएकाले त्यसमा खुशी मान्नु पर्ने छ । सरकार नै पूर्वाग्रही भयो भने त्यसको अर्थ नहुने ती अधिकारीको धारणा छ ।
अहिले गृहमन्त्रीमा पदबहाली लगत्तै गृहमन्त्री बालकृष्ण खाँणले सरुवा कार्यन्वयन नगराउन निर्देशन दिए । त्यसपछि आइजीपी शैलेश थापा आफैले एआइजीहरुलाई फोन गरेर यथावत काम गर्न भने । अरु एआइजीहरु यथास्थानमा काम गरिरहेका छन् । तर थापा जिम्मेवारीविहीन भएका छन् ।
एआइजीहरु हरिबहादुर पाल महानगरीय प्रहरी कार्यालय, निरज शाही मानव श्रोत तथा प्रशासन विभाग, प्रद्युम्न कार्की प्रहरी प्रशिक्षण प्रतिष्ठान र विश्वराज पोख्रेल अपराध अनुसन्धान तथा कार्य विभागमा कार्यरत छन् । आइजीपी थापाले आफ्नै सचिवालयमा हाजिर गराउन सक्ने भए पनि एआइजी थापालाई अहिलेसम्म हाजिर गराइएको छैनन् ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एआइजी थापाले अहिलेसम्म पदस्थापन भएको स्थानमा हाजिर गर्न पाएका छैनन् । उनले प्रहरी प्रधान कार्यालयमा पनि हाजिर गरेका छैनन् । उनी अहिले विदामा रहेका छन् । यसअघि ओली सरकारले पाललाई कार्य विभाग र निरज शाहीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरेको थियो । यी हालै फुटाइएका विभाग हुन । पालले यसअघि दुवै विभाग एक हुँदा काम गरेका थिए । तर उनलाई मेट्रोबाट ७ महिनामै सरुवा निर्णय भएको थियो ।
आफूलाई अन्याय भएको भन्दै पालले आइजीपी थापासँग गुनासो गरेसँगै उनलाई मेट्रोमै राखिएको छ । ‘प्रहरी प्रधानकार्यालयले पनि सात महिनामै सरुवा गर्नु उपयुक्त छैन गम्भीर गल्ती गरेको देखिदैन भनेर सरकारलाई मनाउनु पर्नेमा सरकारको सरुवा निर्णय खुरुक्क मानेपछि एआइजी सरुवा भएको थियो । तर, गृहमन्त्रीले त्यसलाई कार्यान्वयन नगर भने मन्त्रीपरिषदबाट बदर भने गरेका छैनन्’, उच्च प्रहरी अधिकारीको भनाई छ ।
अहिले एआइजीहरु पनि आ–आफ्नै कार्यालयमा हाजिर भएका छन् । प्रहरी अधिकारीहरुबीच आएको सामान्य खटपटकै कारण एक साताअघि प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा भावी आइजीपीको दाबी गर्ने विश्वराज पोखरेल र सहकुल थापा दुवै उपस्थित भएनन् ।
प्रहरीमा अहिलेको अवस्था आउनुमा यसको सम्पूर्ण जिम्मेवारी आइजीपी र गृह सचिवले लिनुपर्ने प्रहरी प्रधान कार्यालयका अधिकारीहरु बताउँछन् । ‘प्रहरीमा राजनीतिकरण रोक्ने काम आइजीपीको हो, सके रोक्ने, नसके आत्मसमर्पण गर्ने होइन डटेर सामाना गर्ने हो, जुन पोजिसन छ, यो बडो महत्वपूर्ण छ, आन्तरिक र राष्ट्रिय सुरक्षाका लागि, सरकार र प्रहरी संगठन आफ्नै लागि त्यो पोजिसन खरिदार सुब्बाको जस्तो होइन,’ ती अधिकारीले भने ।
उनका अनुसार सबै पदका आफ्नै जिम्मेवारी छन् । जिम्मा लिएपछि उसले गर्नै पर्छ । प्रधानमन्त्री र गृहमन्त्री त फेरिरहन्छन् । स्थायी दरबन्दीका दायित्व हुन्छन् । मन्त्रालयका सचिवका पनि जिम्मेवारी हुन्छन । सचिव पार्टीको पिए त होइन गृह सचिवको काम संस्था बचाउने हो त्यसकारण अहिलेको अवस्थमा आउनुमा सचिवनै बढी जिम्मेवार छन् ।
सरकारले थापालाई एआइजीमा बढुवा गर्नु पहिले आइजीपीका दाबेदार विश्वराज पोखरेल मात्रै थिए । उनलाई पनि ओली सरकारले दरबन्दी थप गर्दै एआइजी बनाएको थियो । तर अन्तिममा त्यही सरकारले थापालाई पनि अगाडि बढायो ।
एकै आर्थिक वर्षभित्र एआइजीमा बढुवा गरेकाले थापालाई आइजीपी बनाउने ओली पक्षको रणनीति रहेको कतिपयको अनुमान थियो । हाल बढुवा भएका थापा र पोखरेल एउटै ब्याची हुन । तर पोखरेल एसएसपीबाट थापाभन्दा अगाडि लागेका थिए । एआइजी पनि उनी ७ महिना पहिले भएका हुन् ।
सरकारले एआइजीमध्येबाट जसलाई पनि आइजीपी बनाउन सक्ने भएकाले थापालाई भावी आइजीका रुपमा अगाडि सारेको धेरैको अनुमान थियो । तर, सत्ता फेरबदलसँगै प्रहरीका शक्ति पनि बदलिएका हुन् ।
आगामी वैशाख १९ गतेपछि पोखरेल थापामध्ये एकजना आइजीपी हुन्छन । हालका आइजीपी थापासँगै तीन एआइजीसँगै अवकाशमा जाने छन् । १० महिनाका लागि हुने आइजीपीका लागि सहकुल आएपछि पोखरेल पनि असन्तुष्ट रहेका छन् । त्यही कारण डिआइजी र प्रहरी निरिक्षकको ‘फुली’ लगाउने कार्यक्रममा उनी उपस्थित नभएको स्रोतको दाबी छ ।
अहिलेको सरुवा बदर र एआइजीको पदस्थापना गर्न मन्त्रिपरिषदबाटै निर्णय गर्नुपर्ने भए पनि गृहमन्त्रीले यी दुवै काम गरिरहेका छैनन् । ‘मन्त्रीको ध्यान प्रहरीको सरुवा बढुवामा गएकाले पनि एआइजीको पदस्थापनाबारे दिन चाहदैनन् । एआइजी थापाको ‘फुली’ खोस्ने सम्भावना पनि छैन । पदास्थापना पनि भएको छैन । यसबारेमा धेरैपटक कुराकानी भए पनि मन्त्रीले केही समयभन्दै रोकेर राखेका छन्’, मन्त्रालय स्रोतले भन्यो ।

















मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया