माधव नेपाल पक्षको बैठक ४ बुँदे निश्कर्षमा टुंगियो, यही महिना एकता गर्ने लक्ष्य
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ । आज दिउँसो बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बसेको बैठकले ४ वटा प्रस्तावहरू प्रस्तुत गरेको केन्द्रीय कमिटी सदस्य रघुजी पन्तले जानकारी दिएका हुन् ।
बिहीबारदेखि सुरु भएको बैठक आज सकिएको हो । बैठकपछि बोल्दै सदस्य पन्तले माधव कुमार नेपालको धारणा प्रस्तुत गरेका थिए । नेता नेपालले बैठकलाई सम्बोधन गर्दै केपी ओलीले आफूलाई जति नै गाली गरे पनि पार्टी एकताको पक्ष रहनु पर्ने अवस्था आएको पन्तले जानकारी दिए ।
यस्तै, बैठकले सर्वोच्च अदालतको फैसलासँगै पुनः स्थापना भएको प्रतिनिधिसभाको स्वागत, १० बुँदे प्रस्ताव हुँदै गर्दा वरिष्ठ नेतामाथि हुने आरोप तथा लान्छाना रोक्ने, पार्टी एकताको प्रयास भइरहेको अवस्थामा एक पक्षीय ढंगले सदस्यता नवीकरणजस्ता कामले एकतामा भाँजो हाल्ने काम रोक्नु पर्ने र अहिलेसम्म भएका १० बुँदे सहमतिलगायतका कामले एकताको आधार बनाएको अवस्थामा थप काम कारबाही गर्न स्थायी समितीलाई जिम्मा दिइएको पन्तले जानकारी दिए ।
केन्द्रीय कमिटी सदस्य पन्तले नेता नेपाल पक्ष सरकारमा जाने विषयमा कुनै छलफल नभएको बताए । ‘हामी सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन, यो असम्भव कुरा हो,’ उनले भने, ‘हामी सत्ता पक्षमा छैनौँ र विपक्षी गठबन्धनमा पनि छैनौँ ।’
पार्टी एकताका लागि विभिन्न चरणमा काम भइरहेको भन्दै उनले सकारात्मक पक्ष भएको बताए । उनले भने, ‘पार्टी एकताको प्रमुख आधार १० बुँदे सहमति हो, योबाहेक अरू विषयमा पनि छलफल भइरहेको छ, त्यसैले समानान्तर गतिविधि रोक्नु पर्ने अवस्था आएको छ ।’
‘यो महिनाभित्रै पार्टी एकता गरौँ भन्ने हाम्रो चाहना हो,’ नेता पन्तले भने, ‘हामी सम्मानसहितको एकताको पक्षमा छौँ, एकता दुवै पक्षको जित हो, एकता भएन भने दुवै पक्षको हार हुन्छ ।’
प्रतिक्रिया