नेपालमाथी भारतीय सैनिकको दादागीरी, ज्यादतीका श्रृङ्खला कहिलेसम्म ?
यस्तो छ पटक-पटक गरेको ज्यादतीका श्रृङ्खला…
काठमाडौँ । पछिल्लो सयम एउटा घटना निकै उत्कर्षमा छ । घटनाले संसदमा समेत के सत्ता, के प्रतिपक्षका सांसदहरु, सवै उस्तै गरी तात्तिएका छन् । घटना हो– महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा नदीमा खसेका जयसिंह धामी बेपत्ता प्रकरण ।
८ साउनमा व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए ।
महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताएका थिए । जयसिंहसँगै रहेका केहीले तुइन तर्न पाएका थिए । केही तर्दै थिए । त्यही क्रममा एसएसबीले तुइन काटिदिएको थियो । जयसिंह नदीमा खसेर बेपत्ता भएका थिए । स्थानीय विक्रमसिंहले भने, ‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन काटिदियो, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी नदीमा खसेर बेपत्ता भएका हुन् । ५-६ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ’ त्यही बेला भारत पांगलमा रहेका भारतीय एसएसबीले तुइन काटिदिएको हुन् ।’
धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनु पर्ने बाध्यता छ । सोही बाध्यताका कारण जयसिंह माथिको क्रुर ज्यादती भएको स्पष्ट बुझिन्छ । सरकारले यस घटनाबारे छानविन समिति गठन गरेर अनुसन्धानलाई अगाडि बढाएको छ । छानविन टोली अहिले घटनास्थलमा छ । तर सरकारले एसएसबीको त्यो हेपाह प्रवृत्तिबारे भने औपचारिक रुपमा भारतसँग विरोध जनाउन सकेको छैन ।
पहिले स्थलतय अध्ययन गरेर छानविन कमिटीले प्रतिवेदन ल्याएपछि त्यसले औँल्याएका विषयका आधारमा रहेर आफ्नो धारणा सरकारले बनाउने गृहमन्त्री बालकृष्ण खाँणले संसदमा सांसदहरुले यो प्रकरणमा उठाएको प्रश्नको जवाफ दिँदै भनेका थिए ।
ठूलो संख्यामा आएका भारतीय सुरक्षाकर्मीले नेपालीको बस्तीमा पसेर सरसमान लुटेको त्यतिबेला प्रकाशित नेपाली अखबारहरूले लेखेका छन् ।
एसएसबीले नेपाली नागरिकमाथिको ज्यादती र नेपाली नागरिककै ज्यान लिएको घट्ना यो नै पहिलो भने होइन । नेपाली शासकहरुको भारतीय शासकहरुको रवैयाको डटेर विरोध गर्न नसक्ने शैलीकै कारण भारतले पटक पटक नेपालमाथि हेपाह प्रवृत्ति देखाउँदै आएको छ ।
सीमा क्षेत्रमा त झन भारतीय पक्षले पटक पटक नेपालीमाथि ज्यादती गर्ने र आफ्नो क्रुरता देखाएका घटनाको अनगिन्ती श्रृंखला नै छन् ।
ज्यादतीका श्रृङ्खला
वि.सं २०४० भदौ ३० मा करिब एक दर्जन भारतीय प्रहरीले अवैध रूपमा नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरी दुई जनालाई गोली हानी हत्या गरेका थिए । सो आक्रमणमा परी केही घाइते पनि भए । त्यसको भोलिपल्ट ठूलो संख्यामा आएका भारतीय सुरक्षाकर्मीले नेपालीको बस्तीमा पसेर सरसमान लुटेको त्यतिबेला प्रकाशित नेपाली अखबारहरूले लेखेका छन् । सो घटनाबारे नेपाल सरकारले भारत सरकारसमक्ष कडा विरोध जनाएको थियो ।
त्यस्तै २०४४ मंसिर २८ गते भारतीय प्रहरीको जत्थाले गोरखा ल्यान्डका आन्दोलनकारीलाई कारबाही गर्ने बहानामा इलामको सीमावर्ती गाउँ माने भन्ज्याङमा लुटपाट गरी कैयौँ घरमा आगजनी गरेको थियो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती दु:ख दिन र अशान्ती मच्चाउने मात्र नभई नेपालीहरुको हत्या गर्नसमेत उत्रिरहेका अनेक घटना छन् । एसएसबीको अमानवीय शैलीलाई चित्रण गर्ने एउटा घटना हो ‘खैरापुर नाकाको गोली प्रहारको अर्काे घटना ।
२०६४ साल कात्तिक ९ गतेका दिन भारतको मणिपालबाट फर्कने क्रममा बर्दिया जिल्लाको गुलरिया बस्ने राम दुलारे चमारलाई एसएसबीले खैरापुर नाकामा गोली प्रहार गरी हत्या गरेको थियो । दैनिक उपभोग्य सामान लिएर फर्कंदै गरेका चमारलाई दशगजा क्षेत्रमै गोली हानिएको थियो । तर एसएसबीले रोक्न खोज्दा नमानेपछि गोली प्रहार गर्न बाध्य भएको बताएको थियो ।
त्यस्तै, गोली प्रहारका अर्को घटना हो –खड्क शाहीको घटना । गत २०७१ साल साउन ७ गतेका दिन कालिकोट जिल्लाका तिलखाया बस्ने २७ वर्षीय खड्ग शाहीलाई एसएसबीले कुट्दा उनको मृत्य भएको थियो । नेपालबाट चोरीको मूर्ति लखनउतर्फ लैजाने क्रममा पक्राउ परेका उनलाई अचकोवा क्याम्प छेउमा एसएसबीले कारबाही गरेको थियो भने सँगै रहेका सुर्खेतका राजेश शाही हालसम्म बेपत्ता छन् । उनको कुनै अत्तो पत्तो छैन ।
एसएसबीको ज्यादतीको विषयमा कोर्दै गर्दा छुटाउनै नहुने एउटा घटना हो, मोरङ अमाहीको घटना । वि.सं २०६७ साल जेठ ११ गतेका दिन मोरङको अमाहीमा एसएसबी टोली हतियारसहित छिर्यो । सामान किनेर फर्किरहेका नेपालीलाई पछ्याउँदै आएको एसएसबीले उनीहरूलाई पक्रेर लैजान खोज्दा नेपालको प्रहरी चौकीका हवल्दार शम्भु चौधरीले रोकेपछि एसएसबीका निरीक्षक हितेन्द्र सिंहले गोली चलाए । उक्त गोली लागेर मोरङका ५५ वर्षीय वासुदेव साहको मृत्यु भएको थियो ।
नेपाली भूमिमै पसेर एसएसबीका एक जवानले गोली हान्दा ३२ वर्षीय गौतमको मृत्यु भएको थियो ।
२०६७ साल फागुन ५ गतेका दिन हर्क बहादुर शाहीलाई एसएसबीले चोरी सिकारको आरोप लगाउँदै नेपाली भूमिको १० मिटरभित्र पसेर गोली प्रहार गरेको थियो । घाइते भएका शाहीलाई एसएसबीको लम्बी कुवुबाटमा लगेकोसम्म स्थानीयले सुइको पाएका थिए । तर त्यसपश्चात उनको कुनै अत्तोपत्तो छैन । राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय नेपालगन्जले छानबिन गर्दा शाहीलाई एसएसबीले नै लगेको निष्कर्ष निकालेको थियो ।
२०७२ साल मंसिरमा देशमा नाकाबन्दी चलिरहेको थियो । उक्त समयमा समेत एसएसबीको ज्यादती रोकिएको थिएन । सुनसरीको भन्टाबारीस्थित नेपाली भूमिमा गोली चलाउँदा स्थानीय अशोक यादव, मनोज यादव, नरेश यादव र सरोज यादव घाइते भएका थिए । नाकाबन्दीताका इन्धनको जोहो गर्न पुगेका उनीहरूलाई भन्टाबारी नाकाबाट लखेट्दै आएका एसएसबीद्वारा गोली हानिएको थियो ।
गत २०७३ साल फागुन २६ गतेका दिन कञ्चनपुरका ३२ वर्षीय गोविन्द गौतमले सीमाक्षेत्र पुनर्वासमा कल्भर्ट निर्माणबारे भएको विवादका कारण ज्यान गुमाउनु पर्यो । सीमाभित्र कल्भर्ट निर्माण गर्दा भारतीय पक्षबाट विरोध भएपछि विवाद बल्झिएको थियो । नेपाली भूमिमै पसेर एसएसबीका एक जवानले गोली हान्दा ३२ वर्षीय गौतमको मृत्यु भएको थियो ।
सीमा प्रहरी कार्यालय आनन्दबजारका अनुसार त्यसअघि पनि बारम्बार यो क्षेत्रमा झडप र तनाव हुने गर्थ्यो । त्यो १८ औँ झडप रहेको थियो । गोविन्द गौतमले सीमा विवादका कारण मृत्यु वरण गरेकै भोलिपल्ट उनलाई सहिद घोषणा गरिएको थियो ।
इटालीले गरेको उक्त अमानवीय व्यवहारप्रति भारत चुप बस्न सकेन । भारतले घटनालगत्तै कानुनी लडाइँ अगाडि बढाएको थियो
२०७५ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी गरिरहेका बेला एसएसबीले कञ्चनपुरको पुनर्वास क्षेत्रमा नेपालीपक्षले जंगली जनावर नियन्त्रणका लागि लगाएको तारबार उखेलेर फालिदिएको थियो । यी प्रमुख घटना हुन्, जसले उसको ज्यादती कुन हदसम्म छ भन्ने छर्लंग पार्छ ।
न्याय पाउन खरो उत्रने भारत अरुलाई किन ज्यादती गर्छन ?
सन् २०१२ को फ्रेबुअरीमा केरलाको निन्दाकार हार्बरमा माछा मार्न निस्केका केरलाका जेलेस्टाइन र अजिस पिंकुलाई इटालीका सैनिकले हत्या गरेका थिए । इटालीले गरेको उक्त अमानवीय व्यवहारप्रति भारत चुप बस्न सकेन । भारतले घटनालगत्तै कानुनी लडाइँ अगाडि बढाएको थियो ।
सोही घटनाका कारण दुई देशबीचको सम्बन्धमा उतारचढाव पनि देखिएपछि र कैयौँ प्रयासपछि भारतको अदालतमा ९ वर्षपछि यो मुद्दा २०२१ मा बन्द भएको छ । आफूमाथि परेको दुर्व्यवहार र ज्यादतीमाथि खरो भएर उत्रने भारत किन पटक-पटक मित्र राष्ट्रप्रति हेपाह प्रवृत्ति देखाउन तत्पर भइरहेको छ ? प्रश्न उठेको छ ।
भारतका यस्ता एकपछि अर्काे श्रृङ्खलाबद्ध घटनाको जमेर विरोध जनाउन, भारतीय राजदुतलाई बोलाएर आपत्ति र विरोध जनाउन र भारतीय सरकारलाई विरोध जनाउन अहिले सरकारमाथि दबाब बढेको छ ।
सरकारले छानविन समितिको प्रतिवेदन आएपछि यो विषयमा अब कुन स्टेप लिन्छ ? त्यो अहिले प्रतिक्षाको विषय बनेको छ ।
दया दुदराज
मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया