आइतबार, माघ ६, २०८१

खोटाङ समाज हङकङद्वारा लाखौंको स्वास्थ्य सामग्री सहयोग

मेरोन्यूज २०७८ साउन २४ गते ६:५४

खोटाङ । खोटाङ समाज हङकङले खोटाङ जिल्लाका सबै स्थानीय तहलाई नौ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

Advertisement

विश्वभर फैलिएको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउन समाजले दुई नगरपालिका र आठ गाउँपालिकालाई शनिबार नौ लाख ५२ हजार ५६ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको समन्वयमा खोटाङ समाज हङकङले चार थान अक्सिजन सिलिण्डर, स्यानिटाइजर स्प्रे, पिपिइ, फेसशिल्ड, पल्स अक्सोमिटर, थर्मलगन, गाउन, सर्जिकल ग्लोब्स, ह्याण्ड स्यानिटाइजर, स्ट्रेचर, ह्वीलचेयरलगायतका सामग्री उपलब्ध गराएको छ ।

जिल्लाका सबै स्थानीय तहमा पठाउने गरी समाजका सदस्य धर्मराज राईले जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष बबि चाम्लिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

खोटाङमा जन्मिएर हाल हङकङमा बसिरहेका खोटाङेले स्थापना गरेको समाजको अगुवाइमा हङकङमा सञ्चालन गरिएको सहयोग अभियानका क्रममा जम्मा भएको रकमबाट काठमाडौँमा स्वास्थ्य सामग्री खरिद गरेर जिल्ला ल्याइएको समाजका सदस्य राईले बताए ।

समाजमा आवद्ध खोटाङेले आफ्नो मातृभूमिका लागि उपलब्ध गराएको स्वास्थ्य सामग्री जिल्लाका हरेक स्थानीय तहमा करिब ९०/९० हजार रुपैयाँ बराबरको पुग्ने अनुमान गरिएको छ ।

यसअघि खोटाङ सेवा समाज युके (बेलायत)ले जिल्ला अस्पताल खोटाङ र स्थानीय तहलाई दुई चरणमा स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ भन्ने नाराका साथ समाजले २४ लाख ६० हजार २०० रुपैयाँको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

पहिलो चरणमा थर्मलगन, कन्सन्ट्रेटर मेसिन, पल्स अक्सोमिटर, इन्ट्युवेशन सेट, अक्सिजन मास्क, सक्सन ट्युब, गाइड्लर एरवेज, थ्रीवएज अक्सिजन कारमेला र दोस्रो चरणमा पोर्टेबल एक्सरे मेसिन, प्यासेन मनिटर, स्टाण्ड माउन्टेड, एन्टिजेन टेस्ट कीटलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको समाजका सदस्य जानुका राईले बताइन् ।

समाजका अध्यक्ष डा. प्रमोद कोयी राईले भर्चुअल माध्यमबाट एक कार्यक्रम गरी खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलको रोहबरमा जिल्ला कोभिड अस्पताल र स्थानीय तहलाई स्वास्थ्य स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

दश स्थानीय तह रहेको जिल्लामा हाल कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन घट्दै गएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) खोटाङले जनाएको छ ।

डिसीसिएमसीका अनुसार गत वैशाखयता दुई हजार ५१४ जनालाई सङ्क्रमण देखिएको जिल्लामा हाल ३६९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पूर्वी पहाडी जिल्ला खोटाङमा अहिलेसम्म निषेधाज्ञा लागू गरिएको छैन । निषेधाज्ञाले जिल्लामा निर्माणाधीन विकास निर्माणका काममा समस्या हुनुका साथै विभिन्न विकृति फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू नगरेको हो ।

सरकारले ठूला शहर तथा बजारमा ५०० र पहाडी जिल्लामा २०० सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लागू गर्न निर्देशन दिएको थियो ।

जिल्लामा निषेधाज्ञा लागू नगरिए पनि सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गरिएको प्रमुख जिल्ला अधिकारी एवं डिसीसिएमसीका संयोजक शर्माले बताए ।

प्रतिक्रिया