मंगलबार, फागुन १९, २०८२

रिले अनसन सुरु गरेका भूपु गोर्खाले अन्ततः थाले आमरण अनशन

मेरोन्यूज २०७८ साउन २५ गते ६:५४

लन्डन । समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन सुरु गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य कुनै विकल्प नभएपछि आमरण अनशन गर्नुपरेको आमरण अनशनरत एक सदस्य ज्ञानराज राईले बताए ।

नेपाल सरकारले शनिबार गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईलाई पत्र लेखी बेलायत सरकारसँग कूटनीतिक तवरबाट संवाद थाली समस्या समाधान गर्ने कुराको अवगत गराउँदै भोक हडताल रोक्न अनुरोध गरेको थियो तर उक्त कुरालाई आन्दोलनरत समूहले अस्वीकार गरेको छ ।

बेलायत सरकारले वार्ताका लागि मिति तोकेर आधिकारिक पत्र नपठाएसम्म भोक हडताल कायम नै रहने सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक राईले बताए ।

भोक हडतालमा भूपु सैनिक ज्ञानराज, पुष्पा घले र धनबहादुर गुरुङ बसेका छन् । बेलायतका विभिन्न नेपाली संस्था र बेलायती नागरिकले समेत आफ्ना कार्यक्रमको पक्षमा ऐक्यबद्धता देखाएको संयोजक राईले बताए ।

गत हप्ता रिले अनशन चलिरहेकै बेला भूपु गोर्खाको हकहितका लागि खोलिएका नेपाली संघसंस्थाका प्रतिनिधिले लन्डनस्थित नेपाली राजदूतावास पुगी राजदूत लोकदर्शन रेग्मीलाई भेटेर अनशनबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया