कोरोना बीमाको भुक्तानी अझै अन्योलमा
अर्थ मन्त्रालय भन्छ - प्रक्रियामा छ नआत्तिनुस
काठमाडौं । भक्तपुर लोकन्थलीका रामप्रसाद शर्माले कोरोना बीमा गरेपनि भुक्तानी नपाएको गुनासो गरेका छन् । मेरोन्युजसँग कुरा गर्दै उनले सरकारद्धारा घोषणा भएको कोरोना बीमा बापतको रकम पहिलो समूहले पाएपनि आफु लगायत अधिकांशले नपाएकोमा आपत्ति जनाएका हुन् ।
उनी जस्तै कोरोना बीमा गरेको रकम नपाएकाले पाउनुपर्ने भन्दै राष्ट्रिय बीमा संस्थान रामशाहपथमा धाउनेको संख्या बढ्दो छ । सरकारी बीमा संस्थानसँगै नीजि बीमा कम्पनीबाट पनि बीमा गर्नेको संख्या धेरै छ ।
१ लाख ३७ हजार सर्वसाधारणले कोरोना बीमाबाट पाउनुपर्ने पैसाको लागि दाबी गरे पनि १७ हजारले मात्र पाएको र १ लाख २० हजार व्यक्तिले भुक्तानी पाउनबाट बन्चित भएको बीमा समितिले जनाएको छ ।
बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले अर्थमन्त्रालयले आफ्नो दायित्व पूरा नगर्दा सर्बसाधारणले कोरोना बीमा दाबी भुक्तानीबाट बञ्चित हुनुपरेको बताए । उनले मेरोन्युजसँग कुरा गर्दै बीमा कम्पनीहरुले आफ्नो दायित्व पूरा गरेपनि अर्थमन्त्रालयले आफ्नो हिस्साको रकम निकासा नगरेकाले कोरोना बीमाको भुक्तानी नभएको दाबी गरे ।
३ अर्ब ५० करोड रुपैयाँ बराबरको भुक्तानी अर्थसमितिले गर्नेगरी मापदण्ड बनाइएपनि अर्थ मन्त्रालयले निकासा नगरेकाले भुक्तानी नभएको समिति अध्यक्ष सिलवालले जानकारी दिए ।
अर्थमन्त्रालयबाट निकासा हुनुपर्ने कोरोना बीमाको रकम कहिले निकासा हुन्छ भन्ने कुरा अझैं पनि अन्यौलमा छ । यद्यपी अर्थमन्त्रालयले भने छिट्टै रकम निकासा हुने बताएको छ । अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले रकम निकासाको लागि बीमा समितिले पत्र लेखेकोले बीमा गर्ने व्यक्ति आत्तिन नहुने आश्वासन दिए ।
कोरोना बिमा मापदण्ड २०७७ अनुसार बिमा कम्पनीले जतिसुकै बिमा गरे पनि १ अर्बसम्म, त्यो भन्दा माथि २ अर्बसम्म नेपाल पुनर्बिमा कम्पनीले, साढे २ अर्बसम्म बिमकको महाविपत्ति बिमा कम्पनीको कोषले, यसमाथि ३ अर्ब ५० करोडसम्म बिमा समितिले, र ३ अर्ब ५० करोडभन्दामाथिको अर्थमन्त्रालयले भुक्तानी गर्नुपर्ने नियम छ ।
राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगा राम कडेलले दाबी भुक्तानीका लागि बजेट निकासा गर्न अर्थ मन्त्रालयसँग समन्वयन गरेपनि पर्खाईमा रहेको जानकारी दिए ।
सुरुमा बिमा समितिले सामाजिक उत्तरदायित्व भन्दै बीमा नीति ल्याउन अनुरोध गरेकाले २०७७ वैशाख ७ देखि निर्जीवन बीमा कम्पनीहरु अघि बढेका थिए । बीमा गर्ने र बीमा रकम दाबी गर्ने बढेपछि गत जेठ १७ गते यो नीति रोक्ने निर्णय सरकारले गरेको हो ।
यद्यपी सरकारले पनि दायित्व लिन तयार भएपछि जेठ २३ मा फेरि यसलाई नियमित गर्न सरोकारवालाहरु तयार भएका हुन् । कोभिड बीमा सुरु हुनुअघि सरोकारवाला संस्था सबैले कोरोना बिमा मापदण्ड २०७७ बनाएपनि कोरोनाबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न आर्थिक वर्ष २०७७÷०७८ को बजेट वक्तव्यको बुँदा ५५ र २८५ मा कोरोना बीमासम्बन्धी व्यवस्था गरिएको छ ।
तर अर्थमन्त्रालयले नै दाबी बापतको रकम भुक्तानी नगर्दा बीमा कम्पनीले वैशाखदेखि दाबीको भुक्तानी दिन छाडेका छन् ।
कोरोना बीमा बाफत १० अर्ब ९७ करोड ७३ लाख ५३ हजार ७ सय ६१ रुपैयाँ बराबरको दाबी परेको समितिले जनाएको छ । जसमध्ये बीमा कम्पनीको महाविपत्ति बिमा कम्पनीको कोषबाट ३ अर्ब ५० करोड, सम्बन्धित बीमा कम्पनीहरुबाट १ अर्ब ३१ करोड ११ लाख ७९ हजार २ सय ३९ रुपैयाँ भुक्तानी भएको छ ।
तर अझैं पनि ६ अर्ब १६ करोड रुपैयाँ बराबरको कोरोना बीमाको दाबी भुक्तानी हुन बाँकी रहेको समितिले जनाएको छ । कोरोना बीमा मापदण्ड बमोजिम अर्थमन्त्रालयले ७ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गर्न बाँकी रहेको बीमा समितिका अध्यक्ष सिलवालले जनाएका छन् ।
किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया