आइतबार, माघ १८, २०८२

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज एकै दिन

विधान अधिवेशन, वडा गाउँ अधिवेशन र आन्तरिक विवादका विषयमा छलफल हुँदै

मेरोन्यूज २०७८ साउन २५ गते ८:४७

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक आज एकै दिन बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाएका छन् ।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटी बैठक सकिएपछि दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्नेछ ।

केन्द्रीय कमिटी बैठकमा आसन्न विधान अधिवेशन, वडा गाउँ अधिवेशन र पार्टी भित्रको आन्तरिक विषयमा छलफल हुने नेता विशाल भट्टराईले जानकारी दिए । एमालेले विधान अधिवेशन भदौ अन्तिम साता गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

अध्यक्ष ओलीले बोलाएका बैठक वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बहिस्कार गर्दै आएको छ ।

सो समूहको गत शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमतिको आधारमा पार्टी एकता सार्थक निष्कर्षमा पुर्‍याउनुपर्ने निर्णय गरेको छ । तर सहमति नजुटेसम्म ओलीले बोलाएको बैठकमा नजाने यो समूहका नेताहरुले अडान लिदै आएका छन् ।

प्रतिक्रिया