महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण हुने

कञ्चनपुर । महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालु आर्थिक वर्ष २०७८/०७९ मा बालबालिकालाई लक्षित गरी ९० लाख रुपैयाँको लागतमा ५० शैय्याको अस्पताल भवन निर्माण गर्न लागेको हो ।
भवन निर्माणका लागि निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौताको कार्य भइसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।
उनका अनुसार बालबालिकालाई लक्षित गरी बनाइन लागेको अस्पताल असोज महिनाभित्रै निर्माणका सबै कार्य पूरा हुने समय सीमा निर्धारण गरिएको छ ।
कोभिडको सङ्क्रमणमा परेका बालबालिकाको निर्माण हुने अस्पतालमा उपचार हुनेछ । उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी, औषधि, आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था हुने बताइएको छ ।
बाल चिकित्सा अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले विशेष प्राथमिकतामा राखेको छ ।
बाल चिकित्सा कोभिड अस्पतालको आइतबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले शिलान्यास गरे ।
“पहिलो चरणको कोरोनाको सङ्क्रमण हुँदा पूर्वसतर्कता अपनाइँदा प्रदेशका ५८ नागरिकको मात्रै ज्यान गएको थियो”, उनले भने, “दोस्रो चरणमा कम तयारी हुँदा ५२० ले ज्यान गुमाए । त्यसमा अधिकांश युवा रहेका थिए । तेस्रो चरणमा मानवीय क्षति रोक्नका लागि पूर्वतयारीमा लागेका छौं ।”
त्रिनगर र गड्डाचौकी सीमा नाकामा भारतबाट फर्कनेको चापलाई मध्यनजर गर्दै एक÷एक हजार अट्ने होल्डिङ सेन्टर निर्माणको कार्य अगाडि बढिसकेको उनले बताए ।
महाकाली अस्पतालमा यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ५० शैय्याको आइसोलेसन भवन निर्माण गरेको थियो । अस्पतालमा बिरामीको चापको आधारमा १०० शैय्या थप गरिएको छ ।
सरसफाइ शुल्कमा कटौती
भीमदत्त नगरपालिकाले सरसफाइ शुल्कमा ५५ प्रतिशतले कटौती गरेको छ । नगरवासीबाट लिँदै आएको सरसफाइबापतको शुल्क नगरपालिकाले चालु आवदेखि कटौती गरेको हो ।
नगरपालिकाले ब्रह्मदेव गड्डाचौकी क्षेत्रमा वार्षिक दुई हजार ६४० (मासिक २२०) शुल्क लिँदै आएकामा चालु आर्थिक वर्षमा घटाएर एक हजार २०० बनाएको छ । महेन्द्रनगर बजारको तीन किलोमिटरसम्म आवासीय क्षेत्रमा प्रतिघरबाट वार्षिक दुई हजार ६४० शुल्क लिइँदै आएको चालु आवमा घटाएर एक हजार ५०० राखिएको छ ।
नगरपालिकाका प्रवक्ता हिमाल चन्दले सबैलाई सरसफाइमा समेट्न शुल्क घटाइएको बताए । उनका अनुसार नगरपालिकाले सरसफाइ शुल्कबापत घरबाट दैनिकरूपमा फोहोर सङ्कलन गरी व्यवस्थापन गर्दै आएको छ ।
नगरपालिकाले दायरालाई फराकिलो बनाउँदै प्रगतिशील कर नीति अवलम्बन गरेको उनको भनाइ छ । नगरपालिकाले गत आवमा करिब २३ करोड आन्तरिक राजस्व सङ्कलन गरेको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया