महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण हुने

कञ्चनपुर । महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालु आर्थिक वर्ष २०७८/०७९ मा बालबालिकालाई लक्षित गरी ९० लाख रुपैयाँको लागतमा ५० शैय्याको अस्पताल भवन निर्माण गर्न लागेको हो ।
भवन निर्माणका लागि निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौताको कार्य भइसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।
उनका अनुसार बालबालिकालाई लक्षित गरी बनाइन लागेको अस्पताल असोज महिनाभित्रै निर्माणका सबै कार्य पूरा हुने समय सीमा निर्धारण गरिएको छ ।
कोभिडको सङ्क्रमणमा परेका बालबालिकाको निर्माण हुने अस्पतालमा उपचार हुनेछ । उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी, औषधि, आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था हुने बताइएको छ ।
बाल चिकित्सा अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले विशेष प्राथमिकतामा राखेको छ ।
बाल चिकित्सा कोभिड अस्पतालको आइतबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले शिलान्यास गरे ।
“पहिलो चरणको कोरोनाको सङ्क्रमण हुँदा पूर्वसतर्कता अपनाइँदा प्रदेशका ५८ नागरिकको मात्रै ज्यान गएको थियो”, उनले भने, “दोस्रो चरणमा कम तयारी हुँदा ५२० ले ज्यान गुमाए । त्यसमा अधिकांश युवा रहेका थिए । तेस्रो चरणमा मानवीय क्षति रोक्नका लागि पूर्वतयारीमा लागेका छौं ।”
त्रिनगर र गड्डाचौकी सीमा नाकामा भारतबाट फर्कनेको चापलाई मध्यनजर गर्दै एक÷एक हजार अट्ने होल्डिङ सेन्टर निर्माणको कार्य अगाडि बढिसकेको उनले बताए ।
महाकाली अस्पतालमा यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ५० शैय्याको आइसोलेसन भवन निर्माण गरेको थियो । अस्पतालमा बिरामीको चापको आधारमा १०० शैय्या थप गरिएको छ ।
सरसफाइ शुल्कमा कटौती
भीमदत्त नगरपालिकाले सरसफाइ शुल्कमा ५५ प्रतिशतले कटौती गरेको छ । नगरवासीबाट लिँदै आएको सरसफाइबापतको शुल्क नगरपालिकाले चालु आवदेखि कटौती गरेको हो ।
नगरपालिकाले ब्रह्मदेव गड्डाचौकी क्षेत्रमा वार्षिक दुई हजार ६४० (मासिक २२०) शुल्क लिँदै आएकामा चालु आर्थिक वर्षमा घटाएर एक हजार २०० बनाएको छ । महेन्द्रनगर बजारको तीन किलोमिटरसम्म आवासीय क्षेत्रमा प्रतिघरबाट वार्षिक दुई हजार ६४० शुल्क लिइँदै आएको चालु आवमा घटाएर एक हजार ५०० राखिएको छ ।
नगरपालिकाका प्रवक्ता हिमाल चन्दले सबैलाई सरसफाइमा समेट्न शुल्क घटाइएको बताए । उनका अनुसार नगरपालिकाले सरसफाइ शुल्कबापत घरबाट दैनिकरूपमा फोहोर सङ्कलन गरी व्यवस्थापन गर्दै आएको छ ।
नगरपालिकाले दायरालाई फराकिलो बनाउँदै प्रगतिशील कर नीति अवलम्बन गरेको उनको भनाइ छ । नगरपालिकाले गत आवमा करिब २३ करोड आन्तरिक राजस्व सङ्कलन गरेको छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया