प्रधानमन्त्रीबाट हटेपछि संसदमा ओलीको पहिलो सम्वोधन : निशाना कता-कता ?
ओलीको बोली : देउवालाई मत दिने सांसदलाई ‘जथ्था’ देखि लिपुलेक र लिम्पियाधुरामा सत्ता गठबन्धन साहैं डराएको प्रसंगसम्म
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारबाट हटेपछि संसदमा मंगलवार पहिलो पटक सम्वोधन गरेका छन् । एकदमै रवाफिलो शैलीमा संसदमा प्रस्तुत भएका ओलीले प्रधानमन्त्री शेरवहादुर देउवा देखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्मलाई ब्याङग्य गर्न छोडेनन ।
देउवालाई गत साउन ३ गते संसदमा विश्वासको मत दिएका १६५ सांसदलाई समेत आफु प्रधानमन्त्री हुँदा जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन भन्दै उनले आफुलाई प्रधानमन्त्रीबाट हट्दा समेत कुनै चिन्ता नरहेको पनि जिकिर गरेका थिए ।
उनले आफु परमादेशबाट नभई जनादेशबाट भएको र आफु जस्केला, झ्याल वा भेन्टिलेसनबाट नभई मूल ढोकाबाट फेरि आउने भन्दै त्यसलाई सुनिराख्न चेतावनी सम्म दिए ।
‘असाधारण जनमतका साथ मुलबाटो, मूल गेट मूल ढोकाबाट फेरि पनि प्रवेश गर्छु’ ओलीले भने ।
सत्ता गठवन्धनले सार्वजनिक गरेको सरकारको साझा नीति तथा कार्यक्रमप्रति तिखो आरोप लगाएका ओलीले एमसिसि के हुन्छ ? देउवालाई विश्वासको मत दिएका १६५ सांसदलाई ‘जथ्था’ सम्मको आक्षेप लगाँउँदै ओलीले कालापानी , लिम्पियाधुरा को कुरा उठाउन सरकार डराएको भन्द्यै त्यसलाई फिर्ता गर्न नसके ढेड वर्षपछि आफै आएर फिर्ता गर्ने सम्मको उदघोष गरे ।
ओलीले सत्ता गठवन्धनलाई लगाएको केही निशाना यस्ता छन् :
संसद किन छलेको ? छलेर ल्याएकोमा पनि खोइ कांग्रेसको अनुहार कतै देखिएन !
संसद् किन छल्नुपर्यो ? आज किन प्रस्तुत गर्न सक्नुभएन ? सरकारले आज किन संसदमा प्रस्तुत गर्न नसकेको ? संसद् छलेको, संसद् छलेको भनेर बडा चर्चा हुन्थ्यो, केपी ओली सरकारले संसद छल्यो भन्ने चर्चा हुन्थ्यो, संसद नभएका बेला जरुरी परेका काम गर्दा पनि संसद छलेको भन्ने कुरा आउँथ्यो। अहिले त बैठक चालू छ। अनि २६ गते संसद हुनेवाला छ, २४ गते बेलुका बाहिरै कतै संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम भनेर एउटा कागज प्रस्तुत भयो । संसद छलेर ल्याएकोले त्यसलाई कुनै मान्यता दिने कि नदिने ? त्यो सरकारले पेस गरेको हो भनेर ठान्ने कि नठान्ने ?
सायद तपाईंहरुको गहिरो समझदारीको कारणले सबै नेताहरु फोटोमा आउनुपर्ने होला। यहाँ पेस गर्दा एक जनाले पेस गर्नुपर्ने होला। सरकारको तर्फबाट पेस गर्नुपर्ने होला । अनि ओहोदामा नभएको सरकारी ओहोदामा नभएको मान्छेको त फोटो नआउला , त्यसै भएर होला । त्यसो भएर गठबन्धन भन्ने छ नि, गठबन्धनको फोटो आउनैपर्यो । अर्को पनि तपाईंहरुको त्यस्तो व्यवस्था, चलिरहेको छ नि हुन्छ र हुँदैनको। सरकार सञ्चालनको संयन्त्र ।
सरकारको न्यूनतम साझा कार्यक्रम हेरेँ विभिन्न अनुहार देखिन्छ, नेपाली कांग्रेसको अनुहारै देखिन्न। अचम्म लाग्यो । नेपाली कांग्रेसको अनुहार कतै छैन यसमा। नीतिमा छैन, कार्यक्रममा छैन। केहीमा पनि छैन ।
म जस्केलाबाट होइन, मूल ढोकाबाटै फेरि आउनेछु
म यो देश र यस देशका जनताको सेवाको निम्ति जन्मिएको जस्तो लाग्छ । म प्रधानमन्त्री बन्न जन्मिएको होइन । काम गर्दै जाँदा भएँ । म ६४ वर्षसम्म त प्रधानमन्त्री थिइनँ । भइयो । प्रधानन्त्रीबाट हट्दा भनेको थिएँ । म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाट फेरि आउनेछु । फेरि पनि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ मुलबाटो, मूल गेट मूल ढोकाबाट फेरि पनि प्रवेश गर्छु ।
मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर जनताले मत दिएर हो । म विभिन्न नेताका महत्वाकांक्षा, ईर्श्या, जलन आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन । उछिट्टएर प्रधानमन्त्री पद मेरो भागमा आएको होइन । जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन । म परमादेशबाट होइन, जनादेशबाट भएको हो । र, प्रधानमन्त्रीबाट हट्दा मलाई कुनै चिन्ता छैन ।
सरकारले काम गरेकै छ, आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम
अहिले सरकारले केही गरेन म भन्दिन , गरेको छ नी सरकारले काम त । सरकारले केही नगरेको भन्दा पनि आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरेको छ । विपक्षी गठबन्धनले सरकारको नेतृत्व गर्दा दसैं आउँदा केटाकेटी रमाए जस्तो गरिरहेको छन् । एक महिनासम्म सरकारले केही काम नगरेर बधाई र धन्यवादमै अल्झिरहेको छ ।
लिपुलेक र लिम्पियाधुरामा कति साह्रो डराएको ?
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिपुलेक र लिम्पियाधुरालाई समस्या भन्नुभएको छ । यो समस्या नभएर नेपालको पवित्र भूभाग हो ।
यो समस्या हो ? यो समस्या हो भने त छोडिदियो भने त समस्या समाधान होला नी ? स्पष्टरूपमा फिर्ता लिन्छौं भन्ने कि समस्या हो समाधान गर्छों भन्ने ? त्यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ? त्यो हाम्रो पवित्र भूभाग हो, फिर्ता लिनुस् । छोड्ने अधिकार कसैलाई छैन । सक्नुभएन भने ढेढ वर्ष पर्खिनुस् । हामी आउछौं । ‘कुन–कुन देशसँग कहाँ–कहाँ के समस्या छ ? कति साह्रो डराएको ? जिब्रोबाट पनि रगत आइसक्यो होला चपाउँदा चपाउँदा ।
एमसिसि के हुन्छ ?
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा साना कुरा गरेको छ । अहिलेको गठबन्धन सरकार हुँदा एमसीसी गर्नुभएको थियो । साझा न्यूनतम कार्यक्रममा एमसीसी बिर्सिनुभयो कि क्या हो । मैले त देखिनँ । छैन कहीँ ।
तपाईको साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे के गर्नुहुन्छ ? चुप लागेर हुन्छ ?
तपाई त बहुत मजबुत प्रधानमन्त्री हुनुहुन्छ । १६५ सिट तपाईंको साथमा छ । तपाईंको पछाडि छ । स्ट्रोङ, कसैको साथ चाहिँदैन तपाईंलाई । कसैको मद्दत चाहिँदैन तपाईंलाई । त्यो १६५ को सबल जत्थाले के भन्छ ? एमसीसी पास गर्ने, फेल गर्ने कि चुप लाग्ने ?
सत्ता पक्ष उन्मादमा छ
संविधानको सर्व स्वीकार्यता भएको छ । आवश्यकता पर्यो भने संविधानको संशोधन पनि गर्नुपर्छ । त्यसलाई संविधानको अस्वीकार्यता भन्न मिल्दैन । सरकारले अघिल्ला सरकारले गरेका राम्रा कामहरूलाई पनि निरन्तरता दिनुपर्छ । पछिल्लो समय सत्तारुढ दल र प्रतिपक्षबीच संवादहीनताको अवस्था आएको छ । अहिले सत्ता पक्ष उन्मादमा छ । प्रतिपक्षलाई ठेगान लाइदिन्छौं भन्ने देखिएको छ ।
राजनीतिक उपलब्धिहरूको महत्व अहिलेको सरकारले बुझोस् । सरकार निरन्तरताको कुरा पनि हो । अर्को सरकार फेरियो भने अघिल्लो सरकारले अघि बढाएका राम्रा कुराहरू अगाडि बढाउनुपर्छ । अघिल्लो सरकारले गरेका सहमतिलाई अगाडि बढाउनुपर्छ । अघिल्लो सरकारले गरेका राजनीतिक उपलब्धिलाई कार्यन्वयनमा लानुपर्छ । त्यतातिर ध्यानाकर्षण गर्न चाहन्छु ।
प्रतिक्रिया