मुख्यमन्त्री पोखरेलद्वारा खोप केन्द्रको अनुगमन

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराका विभिन्न खोप केन्द्रमा अनुगमन गरेका छन् ।
कोरोनाविरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको, घण्टौँसम्म लाइनमा बस्नुपरेकोलगायत गुनासा आएपछि उहाँले आज आकस्मिकरुपमा स्थलगत अनुगमन गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले पोखराको वडा नं ७ को रत्नचोकस्थित खोपकेन्द्र, वडा नं ८ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र वडा नं १ को खोप केन्द्रमा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिए । त्यस्तै लाइनमा बसेका सेवाग्राही, खोप लगाइसकेका व्यक्ति र खोप लगाउने काममा संलग्न स्वास्थ्यकर्मीसँग पनि केन्द्रमा भएको व्यवस्थापन, समस्या र चुनौतीका बारेमा पनि उनले जानकारी लिए ।
मुख्यमन्त्री पोखरेलले भीड नियन्त्रणका लागि खोप केन्द्र बढाउन र लाइन व्यवस्थित गर्नका लागि तत्काल प्रहरी सङ्ख्या बढाउन प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र कास्कीका प्रहरी उपरीक्षक रमेश थापालाई निर्देशन दिए ।
संघ र प्रदेश सरकारले खोेप अभियानलाई प्राथमिकतामा राखेको भन्दै अब विस्तारै सबै उमेर समूहलाई पुग्ने गरी आउने भएकाले भीडभाड नगरिदिन सर्वसाधारणलाई अनुरोध गर्दै उनले भने, “उमेर समूहअनुसार हामीले खोप वितरण गरेका छौँ, बाँकी रहेको केही खोप प्राथमिकताकै आधारमा उपलब्ध गराएका छौँ, हतार नगरी दिनुहोला, प्रदेशवासीलाई खोप दिलाउने जिम्मा प्रदेश सरकारको हो ।”
खोप समयमा नआएको, लामो समयसम्म लाइनमा बस्दा पनि खोप नपाइएको, खोप बोक्ने गाडी पर्याप्त नहुँदा धेरै बेरसम्म कुर्नुपरेको गुनासो सेवाग्राहीको थियो । वडा कार्यालयले चेकलिस्ट बनाएर त्यसैका आधारमा नाम टाँसिदिएमा भीडभाड कम हुने सर्वसाधारणको सुझाव थियो ।
अनुगमनमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विनोदविन्दु शर्मा, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक थापा, जिल्ला स्वास्थ्य कार्यालय र महानगर स्वास्थ्य महाशाखा प्रमुख सहभागी थिए ।
सो अवसरमा स्वास्थ्य सचिव शर्माले सोमबार शुरु भएको यो चरणको खोप अभियान आज सकिने र त्यसपछि कोभिशिल्डको दोस्रो डोज लगाउन शुरु गरिने जानकारी दिए ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया