आइतबार, फागुन १७, २०८२

ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह

मेरोन्यूज २०७८ साउन २९ गते ९:१६

झापा । बिर्तामोडका व्यवसायीले ब्याज र किस्ताका लागि ताकेता नगर्न यहाँका बैंकलाई आग्रह गरेका छन् । कोरोना भाइरसका कारण व्यापार–व्यवसाय चौपट भएको भन्दै व्यवसायीले बैंकलाई ब्याज र किस्ताका लागि ताकेता नगरी लचकता अपनाउन आग्रह गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

बिर्तामोड उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको बैंकर्स क्लब बिर्तामोडसँगको छलफलमा संघका अध्यक्ष प्रकाश शिवाकोटीले लामो समयदेखिको निषेधाज्ञाका कारण उद्योगी–व्यवसायी मारमा परेको बताए ।

“महामारीका बेला व्यवसायी मारमा परेका छन्”, उनले भने, “उहाँको समस्या बुझिदिनु पर्छ ।”

अर्का व्यवसायी जीवनकुमार खड्काले निषेधाज्ञा अवधिमा व्यापार–व्यवसाय ठप्प भएका व्यवसायीलाई पहिचान गरी ब्याज ताकेता नगरिदिन र सकेसम्म लचक हुन आग्रह गरे ।

छलफलमा सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुवास श्रेष्ठले हाल कारोबार भएका तथा सञ्चालनमा रहेका उद्योगी–व्यवसायीलाई मात्र ब्याजका लागि ताकेता गरिएको बताए ।

“व्यापार बन्द भएका व्यवसायीलाई ताकेता गरिएको छैन”, उनले भने, “जुन व्यवसाय चलेको छ, त्यहीअनुसार काम गरिरहेका छौं ।”

छलफलमा एनआइसी एशिया बैंकका दशरथ पराजुली, सानिमा बैंकका अम्बिका खतिवडा, गुडविल फाइनान्सका सुमन पौडेल, मुक्तिनाथ विकास बैंकका हरि ओझालगायतका बैंक प्रतिनिधिले व्यापार र कारोबार नभएका व्यवसायीलाई ब्याज र किस्ताका लागि दबाब नदिइएको बताए ।

प्रतिक्रिया