सोमबार, जेठ २६, २०८२

गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन माग

मेरोन्यूज २०७८ साउन २९ गते १०:२०

कञ्चनपुर । प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन कञ्चनपुरका सात विद्यार्थी सङ्गठनले माग गरेका छन । कलेजलाई विश्वविद्यालय मातहत ल्याएर आगामी वर्षदेखि पठनपाठन सञ्चालन गर्न सङ्गठनमा आवद्ध विद्यार्थीले माग गरेका हुन् ।

प्रस्तावित मेडिकल कलेजलाई तत्काल छिटोभन्दा छिटो सुप विश्वविद्यालयअन्तर्गत ल्याएर शैक्षिक कार्यक्रम सञ्चालनको नमूना तयार गरी आगामी वर्षदेखि प्रारम्भिक चरणको अध्ययन–अध्यापन सञ्चालन गर्न माग गरिएको अनेरास्ववियुका केन्द्रीय सचिव गणेश सिंह ऐरीले बताए ।

“मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने छलफल पनि थालिएको छ”, उनले भने, “प्रतिष्ठान नभएर सुुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउनुपर्छ ।”

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय विसं २०६६ मा घोषणा गरिएको थियो । विद्यार्थी सङ्गठनले मेडिकल कलेज सञ्चालनमा सरकार उदासीन देखिएको आरोप समेत लगाएका छन् ।

“मेडिकल कलेज सञ्चालनमा राज्यले देखाएको उदासीनताले सबै चिन्तित छौं”, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सहमहामन्त्री अच्युतराज कलौनीले भने, “प्रस्तावित गेटा मेडिकल कलेजको प्रक्रिया अघि बढाउने सन्दर्भमा शैक्षिक कार्यक्रम सञ्चालनको मोडेल अझै तयार भएको छैन । त्यो छिटो तयार गरी कार्यान्वयनमा ल्याउनुपर्छ ।”

Advertisement
machhapuchare

अहिले आएर मेडिकल कलेजका रूपमा अगाडि बढाउने वा छुट्टै स्वायत्त प्रतिष्ठान बनाएर सञ्चालन गर्ने भन्ने विषय छलफल भइरहेको उनले बताए ।

विद्यार्थीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयमार्फत प्रधानमन्त्री देउवालाई शैक्षिक कार्यक्रम सञ्चालनको नमूना तयार गरी आगामी वर्षदेखि प्रारम्भिक चरणको पठनपाठन सञ्चालन गर्न माग गर्दै बिहीबार मागपत्रसमेत बुझाएका छन ।

प्रतिक्रिया