सोमबार, माघ ७, २०८१

देउवा–प्रचण्ड : ३१ दिनमा १८ पटक भेट वार्ता, अझै लागेन मन्त्रीको टुंगो

शित्तल शर्मा २०७८ साउन ३१ गते २१:४०

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आज ३१ दिन पुगेको छ । यो ३१ दिनको बीचमा प्रधानमन्त्री देउवाको सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग १८ पटकभन्दा बढी भेटवार्ता भइसकेको छ । आइतबार साँझ पनि प्रधानमन्त्री देउवाको निवासमा प्रधानमन्त्री देउवा, प्रचण्ड, पूर्णवहादुर खड्का लगायतका नेताहरुको भेटवार्ता भएको छ ।

Advertisement

अर्काे सहयात्री दल जनता समाजवादी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग उनको ६ पटकभन्दा बढी भेट वार्ता भएको छ । सरकार निर्माणका लागि ‘निर्णायक भूमिका’ खेलको तर, एमालेभित्रै रहेर अन्तर संघर्ष गरिरहेका एमाले वरिष्ठ नेता माधव नेपालसँग पनि उनको कहिले दुई पक्षीय, कहिले गठबन्धन बैठकमा, कहिले औपचारिक कार्यक्रममा गरी ५ पटक भेट वार्ता भएको छ ।

राष्ट्रिय जनमोर्चाका नेतासँग पनि प्रधानमन्त्रीको आवश्यकताका आधारमा भेट वार्ता भएकै छ । तर, महिना दिनभन्दा बढी समय लिँदासम्म प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकार विस्तार गर्न असफल भइरहेका छन् । उनले ४ जना मन्त्री र एक जना राज्यमन्त्री मात्र बनाएर बाँकी आफ्नै काँधमा बोकिरहेका छन् ।

देउवाले सत्ता गठबन्धन दलभित्र मन्त्रालयसम्म भागबन्डा लगाउन सकेका छैनन् । उनलाई आफ्नै पार्टीबाट मन्त्री बन्नेहरू छान्न महाभारत छ ।

पछिल्लोपटक देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नो पार्टीको महाधिवेशन कार्यतालिका संशोधन र केन्द्रीय कमिटी बैठकसम्म पर्खिन भनेका रहेछन् । प्रचण्डले शनिबार पार्टी केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई राखेको प्रस्तावबारे खुलासा गरेका थिए ।

‘जसपाको आधिकारिता विवाद छिनोफानोका लागि समय लिइयो, एमालेभित्रको अन्तर संर्घषले एउटा स्वरुप लिएपछि विस्तार गर्नुपर्छ भन्ने थियो, अहिले कांग्रेसको केन्द्रीय कमिटीको बैठकअगाडि मन्त्रिमण्डल विस्तार नगरौँ भन्ने भएकाले यो गठबन्धनको र गठबन्धन दलभित्रको अवस्थाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ,’ प्रचण्डले आफ्नो पार्टीको बैठकमा भनेका थिए, ‘यद्यपि, यो ढिलो हाम्रो कारणले भएको हैन, हाम्रो तर्फबाट हिजैदेखि तयार थियौँ, आज मन्त्रीको नाम दिनुपर्यो भनेकै दिन स्थायी समितिको बैठक बसेर टुंग्याएर दिन सक्ने अवस्थामा छौँ ।’

कांग्रेसले शनिबारकै बैठकबाट महाधिवेशन तीन महिनापछि धकेलिसकेको छ । त्यो बैठकलगत्तै शनिबार देउवाको निजी निवास बुढानीलकण्ठमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो ।

जसपाले भदौ १ र २ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अब उसलाई पनि कुर्ने या के गर्ने भन्नेमा केन्द्रीत रहेर प्रधानमन्त्री र प्रचण्डबीचमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

३१ दिनमा १८ पटक भेट वार्ता

प्रधानमन्त्री देउवालाई सर्वाेच्च अदालतले संसद पुर्नस्थापना गरिदिएपछि प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । उनी अगाडिका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोर्याएर संसद विघटन गरेपछि गठबन्धन दलहरू रिट बोकेर सर्वाेच्च अदालत पुगेका थिए ।

देउवालाई प्रधानमन्त्री बनाउन मागसहित संसदका १४९ सांसदले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाए पनि राष्ट्रपतिले देउवा र तत्कालीन प्रधानमन्त्री ओली दुवैले प्रधानमन्त्रीमा गरेको दाबी नपुगेको निर्णय लिएकी थिइन् । त्यसले ओलीलाई सरकारमा रहन बाटो खुलेको मात्र थिएन, ओलीलाई संसद भंग गरेर चुनाव घोषणा गर्ने ठाउँसमेत दिएको थियो ।

तर, सर्वाेच्च अदालतले गत असार २८ गते संसद पुर्नस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउन परमादेश नै दिएपछि २९ असारमा देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । त्यसयता देउवा र प्रचण्डको भेट वार्ता बाक्लिँदो छ । कुनै दिन यी दुई नेताले दुईपटक भेट वार्ता गरेका छन् ।

कुनै-कुनै दिन मात्र देउवा र प्रचण्डबीच भेट वार्ता भएको छैन । यति बाक्लो भेट वार्ता हुँदासम्म सत्ता गठबन्धन दलहरूका बीचमा मन्त्रालयकै भागबण्डा नटुंग्गिएको नेताहरुले बताएका छन् । यसले गठबन्धन दलका नेताहरू आफै अन्योलमा रहेका छन् ।

प्रचण्डले अहिलेको गठबन्धनलाई ‘बाम–लोकतान्त्रिक गठबन्धन’ नामाकरण गरेका छन् । साथै, उनले आफ्नो पार्टीले गठबन्धनलाई आगामी संघ–प्रदेशसम्मको चुनावसम्म टिकाउनु पर्ने मत पार्टी बैठकमा राखेर सोहीअनुसार निर्णय लिन लागेका छन् ।

यस्तो छ, भेटघाट शृङ्खला

प्रधानमन्त्री भएको भोलिपल्टदेखि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्षबीच भेट वार्ता निरन्तर छ । गत पुसदेखि बालुवाटार नपुगेका प्रचण्ड देउवा प्रधानमन्त्री भएपछि ७ महिनापछि मात्र बालुवाटार प्रवेश गरेका थिए ।

ओलीले तत्कालीन नेकपाभित्रको विवाद चर्किंदै पहिलोपटक पुस ५ मा संसद भंगको निर्णय लिएयता उनले बालुवाटारभित्र खुट्टा राखेका थिएनन् । असार ३० मा उनले देउवाकै निवास बुढानीलकण्ठ पुगेर देउवासँग भलाकुसारी गरेका प्रचण्डले असार ३१ मा सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर सत्ता गठबन्धन दलको बैठकमा देउवासँगै रहेर सामूहिक छलफलमा सहभागी भएका थिए ।

साउन १ मा प्रधानमन्त्रीले प्रचण्डसँग आफ्नै निवासमा भेट गरेका थिए । त्यसपछि साउन ३ मा प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिए । साउन ५ मा प्रधानमन्त्रीले प्रचण्डसँग दुईपटक भेट वार्ता गरेका थिए । मध्यान्ह बालुवाटारमा भेट गरेका दुई नेताले साँझ प्रचण्डको निवासमा भेट गर्न प्रधानमन्त्री पुगेका थिए । प्रचण्ड पत्नी सीताको स्वास्थ्य लाभका लागि खुमलटार नै पुगेका उनले प्रचण्ड र पत्नी सीतासँग भेट गरेका हुन् ।

योबीचमा साउन २०, २१, २५, २७, २८ र २९ गतेमा देउवाले प्रचण्डसँग भेट गरेनन् । शनिबार पनि देउवाको निजी निवास बुढानीलकण्ठमा कांग्रेसको बैठकपछि देउवा र प्रचण्डबीचमा भेट वार्ता भएको थियो ।

तर, यी भेट वार्ताहरू कहिले गठबन्धन दलभित्रको अप्ठ्यारो कुर्ने, कहिले कसैलाई पर्खिने, कहिले सरकारको साझा नीति कार्यक्रम बनाउने र कहिले पार्टीभित्रका आन्तरिक बैठक सक्ने भन्दै समय गुजारिरहेका देखिन्छन् ।

माधव नेपालसँग उत्तिकै वार्ता

देउवालाई सर्वाेच्चले प्रधानमन्त्री बनाउन परमादेश दिएपछि सोही दिन अर्थात असार २८ गते माधव नेपाल निवासमै गठबन्धन दलका शीर्ष नेताहरू आन्तरिक छलफलका लागि पुगेका थिए । प्रधानमन्त्रीको सपथ लिएपछि पनि देउवा एकपटक नेपालको निवासमा पुगेर नेपाललाई धन्यवाद दिए ।

त्यसपछि ‘बाघ दिवस’को अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री र नेता नेपाल दुवै एकै साथ रहेर भेट वार्ता गरे । योबीचमा नेता नेपाल पनि बालुवाटार एकपटक प्रवेश गरिसकेका छन् । गठबन्धन दलको बैठकमा सहभागी हुन नेपाल आफै बालुवाटार एकपटक गइसकेका छन् ।

प्रचण्ड र माधव नेपालको भेट वार्ता त झन् निक्कै बाक्लो छ । दिनहुँ जसै प्रचण्ड आफै नेपालको निवास कोटेश्वर पुगेर नेपालसँग नियमती भेट वार्ता गरिरहेका छन् ।

प्रतिक्रिया