अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई हवाई तथा अन्य बाटोबाट उद्धार गर्न निर्देशन दिएको हो ।
यसअघि औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले अरु कर्मचारीहरुसँगै १५ सय नेपालीलाई सुरक्षित स्थानमा लैजान पहल गरेको बताए ।
उनले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताए । आज बिहान मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा सीसीएमसी, गृह, पर्यटन लगायत मन्त्रालयका प्रतिनिधि रहने गरी संयन्त्र बनाएको थियो ।
प्रतिक्रिया