अफगानिस्तानमा रहेका नेपाली चाँडो फर्काउनुपर्छ : सांसद

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद भैरवबहादुर सिंहले अफगानिस्तानमा नेपाली कुन अवस्थामा छन् भन्ने जानकारी सरकारले संसद्समक्ष दिनुपर्ने र उनीहरुलाई चाँडै नेपाल फर्काउनुपर्नेमा जोड दिए । उनले दार्चुलामा जयसिंह धामी घटनाको छानबिन गर्न सरकारले बनाएको समितिले लामो समयसम्म पनि प्रतिवेदन नदिएकामा आक्रोश व्यक्त गरे ।
सांसद मनकुमारी जिसीले आफगानिस्तानमा रहेका नेपाली समस्यामा हुँदा पनि सरकार चुप लागेको र दार्चुला घटनामा उच्चस्तरीय समिति अझैसम्म बन्न नसकेको औँल्याइन् । सांसद रेखाकुमारीले अफगानिस्तानमा तालिवानले कब्जा गरेपछि धेरैले आआफ्ना नागरिक फिर्ता बोलाए पनि सरकारलाई अझै आफ्ना नागरिकको अवस्था के छ भन्नेसमेत जानकारी नभएको बताइन् ।
सांसद विमला नेपालीले सर्बोच्च अदालतले आर्थिक अवस्थाका आधारमा र एकपटक मात्रैका लागि आरक्षण दिने निर्णय संविधान र ऐनमा बाझिएको तथा यसले दलित, मधेशी, महिलालगायतको अपमान गरेको बताउनुभयो ।
सांसद विमला विकले दार्चुला घटना भएको १८ दिन हुँदा पनि नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग आँखामा आँखा जुधाएर कुरा गर्न नसकेको बताइन् । सांसद भरकुमार शाहले कूटनीतिक पहल गरेर अफगानिस्तानबाट नेपाली फर्काउनुपर्नेमा जोड दिए ।
सांसद भवानीप्रसाद खातुनले बेलायती र गोर्खा सैनिकबीच समान व्यवहारको माग राख्दै पटकपटक आन्दोलन भएर विगतमा विभिन्न समझदारी भए पनि त्यसको कार्यान्वयन नभएकाले सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद भीमसेनदास प्रधानले भूमाफियाले बालुवा खानी र प्लटिङ गर्दा वातावरण क्षय भएकाले काठमाडौँ उपत्यकामा हरियाली मासिएको बताए । सांसद महेन्द्रकुमारी लिम्बूले अँध्यारोलाई उज्यालो बनाउन कुलमान नियुक्ति गरेको र सरकारले खोप ल्याउन पहल गरिरहेको बताए ।
सांसद महेश बस्नेतले सरकारले अझैसम्म अफगानिस्तानबाट नेपाली फर्काउन ढिलाइ गरिरहेकाले यसअघिको सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गरेको कुराबाट सिक्नुपर्ने बताए ।
सांसद महेश्वरजंग गहतरातले सडक बनिसकेका स्थानमा पुल चाँडो निर्माण सम्पन्न गरेर हुलाकी राजमार्ग चालू हुनुपर्नेमा जोड दिए । सांसद मीनबहादुर विश्वकर्माले कोशी राजमार्गमा पहिलेपहिले १५/१५ मिटर चौडाइ भनिए पनि अहिले ६२ मिटर चौडाइ कायम भएको तर धेरै नागरिकले मुआब्जा नपाएको औँल्याए ।
सांसद मिना सुब्बाले समान हकको माग गर्दै अनशनमा रहेका गोर्खा नेपालीको स्वास्थ्य अवस्था नाजुक भएकाले त्यसमा सरकारले विगतमा भएका समझदारी कार्यान्वयन गर्न कूटनीतिक पहल थाल्नुपर्नेमा जोड दिइन् ।
सांसद मिना पाण्डेले सरकारले अफगानिस्तानमा भएका नेपालीका चाँडो उद्धार गर्नुपर्ने र देशभित्रै बाढी, पहिराको आक्रन्त बनाएका नागरिकको व्यवस्थापनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिइन्। सांसद मैनाकुमारी भण्डारीले गम्भीर समस्या भएका दुर्गम जिल्लाका नागरिकलाई हेलिकप्टरबाट अस्पताल पु¥याएर उपचार गर्नुपर्ने बताइन् ।
सांसद मोहन बानियाँले सरकारसँग अफगानिस्तानमा कति नेपाली छन् भन्नेसमेत तथ्यांक नभएकाले म्यानपावरको तथ्यांकमा भर परेको बताइन् । सांसद यज्ञबहादुर बोगटी कोभिड संक्रमण बढिरहेको जिल्ला र पालिका अस्पतालमा डाक्टरको व्यवस्था हुनुपर्नेमा जोड दिए ।
सांसद यज्ञबहादुर सुनुवारले कुनै पनि देशमा सरकार त्यहाँका नागरिकले सहयोग नगरे सत्तामा नटिक्ने र देश नै छाड्नुपर्ने हुनसक्ने अफगानिस्तानबाट देखिएको बताए । सांसद राजबहादुर बुढाक्षेत्रीले विकास बजेट कटौती गरेर पनि विद्यार्थीलाई खोप दिएर कक्षा सञ्चालन गर्नुपर्नै बताए । सांसद रेनुका गुरुङले गोर्खा सैनिकको समान हकका लागि सरकारले वार्ता गनुपर्ने बताए ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया