सवारी चालक अनुमति पत्र परीक्षा खुकुलो बनाइयो

काठमाडौँ । सवारी चालक अनुमति पत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ ।
यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको हो । परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको हो । सवारी चालक अनुमतिपत्र परीक्षाको लिखित र प्रयोगात्मक दुबै परिवर्तन गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए ।
लिखित परीक्षाका लागि विभागको वेवसाइटमा प्रश्न राखिएको छ । वेवसाइटमा राखिएका पाँच सय प्रश्नभित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा. भुसालले बताए । कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ । कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्ने उनले बताए ।
नयाँ मापदण्डानुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ । पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अंक ल्याउनु पर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अंक थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो ।
उनले भने, ‘लिखित परीक्षामा सीमित प्रश्नबाटै आउने भएकाले उत्तीर्ण अंक पहिले ५० भएकामा अहिले ६० बनाइएको छ ।’ प्रयोगात्मक परीक्षामा सामान्य खालका गल्ती भइहालेमा पनि सहभागी उत्तीर्ण नहुने गरेकामा अहिले ससाना गल्ती गरे पनि अनुत्तीर्ण नहुने मापदण्डमा व्यवस्था छ । प्रयोगात्मक परीक्षामा आठ वटा आधार रहेकामा कुनैमा गल्ती गर्नै नहुने र कुनै कुनैमा सानो गल्ती भइहालेमा पनि पास नै हुने प्रवक्ता डा. भुसालले बताए ।
पहेलो धर्कामा छुँदा, एक पटक केही गरी गाडी बन्द भएमा वा मोडमा बत्ती नबाल्दा पनि छुट दिइने व्यवस्था छ । उनले भने, ‘उकालोमा रोकर अड्याउनु पर्नेमा गल्ती हुँदा भने फेल हुनेछ ।’ भारत, चीन, बेलायत, अमेरिकालगायतका देशमा भन्दा हाम्रो अप्ठेरो परीक्षा प्रणाली भएकाले परीक्षा प्रणाली केही सजिलो बनाउन लागिएको विभागले जनाएको छ ।
अरु देशमा ६०÷७० प्रतिशतसम्म पास दर रहेकामा नेपालमा २५÷३० प्रतिशतको हाराहारीमा मात्रै सहभागी पास भएको पाइन्छ । नेपालमा सवारी चालककै कारणले दुर्घटना बढेको भन्दै परीक्षा प्रणाली थप कडा हुनुपर्ने विषय उठिरहँदा विभागले भने यसलाई खुकुलो बनाउन लागेको छ ।
चालकको व्यवहारका कारण दुर्घटना हुने र दुर्घटनाको परीक्षा प्रणालीमा सम्बन्ध नहुने विभागका प्रवक्ता डा. भुसालले बताए । परीक्षा प्रणाली कमजोर हुँदा दुर्घटना बढी हुन्छ भन्ने कुनै पनि अध्ययनले नदेखाएको उनले बताए ।
दुर्घटना चालकले नजानेर वा हेलचेक्र्याइको कारणले हुने गरेको छ । चालकले मादक पदार्थ खाएर सवारीसाधन चलाएर दुर्घटना भएको पाइन्छ । उनले भने, ‘कुनै पनि चालकले आफू परिपक्व नभइ सडकमा जाँदैन, ज्यानको माया सबैलाई हुन्छ ।’
विभागले मापदण्ड लागू गरिसकेको भए पनि अहिले यातायात कार्यालय बन्द भएकाले खुल्नासाथ परीक्षा नयाँ प्रणालीमा लिइने छ । मापदण्ड जेठदेखि लागू गरिएकोमा साउनमा केही संशोधन गरिएको थियो ।










मौन पीडामा रहेकी कालिमायाको याचना …
राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया