बिहीबार, फागुन २१, २०८२

माधव नेपालको पार्टी सनाखत भएसँगै मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

ओली नेतृत्व सरकार र देउवा नेतृत्व सरकारबीचको अध्यादेशमा आकाश जमिन फरक

मेरोन्यूज २०७८ भदौ ३ गते १३:४५

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । समाजवादी केन्द्र, नेपालले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रचण्डले बुधबारदेखि देशको राजनीतिमा नयाँ कोर्स सुरु भएकाले सोहीअनुसार मन्त्रिपरिषद् विस्तार गर्ने बताए । उनले भने, ‘माधव नेपाल नेतृत्वको दर्ता भएको नयाँ पार्टीको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ, यसलाई चाँडो पूर्णता दिनु पर्दछ ।’

यस्तै, अन्तक्रियामा बोल्दै उनले वर्तमान सरकारले ल्याएको अध्यादेश सही भएको बताएका छन् । मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्व सरकारको सिफारिसमा दल विभाजनसम्बन्धि अध्यादेश जारी भएको थियो ।

‘केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा हामीले चर्कैसँगै आलोचना गरेका हौँ, तर अहिले शेर बहादुर देउवा जीको नेतृत्वको नयाँ सरकार हुँदा पनि त्यही अध्यादेश भन्ने ठूलो बहस चलेको छ,’ प्रचण्डले भने, ‘यो विषयमा बहस उठाउने सबैलाई धन्यवाद भन्न चाहन्छु, तर म के कुरा भन्नु भने– एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र, संविधान र गणतन्त्र सिध्याउने थियो, अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, संविधान र गणतन्त्र जोगाउने भएकाले यी दुईमा आकाश जमिनको फरक छ ।’

उक्त अध्यादेशको सिफारिसका आधारमा बिहीबार राष्टपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी थिइन । अध्यादेश प्रमाणीकरण भएसँगै नेकपा एमाले विभाजन भई नेता माधव कुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)बाट बाहिरिने तयारी गरेको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।

प्रतिक्रिया