आइतबार, माघ १३, २०८१

कस्ता व्यक्तिमा देखिन्छ, दिर्घ कोभिडको समस्या ?

सञ्जिता खनाल २०७८ भदौ ३ गते १९:३५

काठमाडौं । अनामनगर बस्ने ३४ वर्षिया सपना पाठक कोरोना संक्रमणमुक्त भएको ३ महिना बित्यो तर उनमा थकान पहिलाको भन्दा बीसमा उन्नाइस भएको छैन् । अझै पनि उनलाई घरको बरन्डामा समेत पुग्न निकै मुस्किल पर्ने उनले सुनाईन् । “कोरोना नेगेटिभ रिपोर्ट आउँदा अब त ठिक हुन्छु भन्ने लागेको थियो तर अब त यो थकान हेर्दा कहिल्यै ठिक नहुने रहेछ की जस्तो लाग्छ,”उनले निकै मलिन अनुहार लगाउँदै सुनाईन् ।

Advertisement


ललितपुर पेप्सीकोला बस्ने ४५ वर्षका सन्तकुमार राई पनि कोरोना संक्रमण मुक्त भएका ४ महिना भयो तर उनको शरिरमा अझै पनि कुनै जोस जाँगर नै देखिदैन् । राईलाई सुरुको समयमा कोरोनाको सामान्य लक्षण देखिएको थियो । तर लक्षण बढ्दै गएपछि उनलाई सातौँ दिनमा आइसीयमै भर्ना गर्नु प¥यो ।


आइसीयू भर्ना भएको १५ दिनपछि मात्र स्वास्थ्यमा केही सुधार आएपछि उनलाई जनरल बेडमा सारिएको थियो । त्यसको आठौँ दिनमा उनी कोरोनामुक्त भए । त्यसपछि भने उनको स्वास्थ्यमा निकै सुधार भएको थियो । उनलाई चिकित्सकले डिस्र्चाज गरिदिए । तर घर आएको १५ औँ दिनमा अचानक स्वासप्रश्वासमा समस्या देखिने, काम्ने, डर मात्र लाग्ने समस्या देखियो ।


तुरुन्त त्रिवि शिक्षण अस्पताल आफ्न्तले पुर्याए । तर उनको पुन कोरोना परीक्षण गरियो, रिर्पोट नेगेटिभ आयो । उनमा देखिएको लक्षणको आधारमा चिकित्सकहरुले परामर्श गरेर औषधी सिफारिस गरेर घर पठाईदिए । अहिले पनि चिकित्सकको नियमित परार्मश र सिफारिसको औषधी सेवन गरिरहेका राईले मेरोन्युजसँग सुनाए ।


उनले भने,- “मलाई कुनै प्रकारको रोग थिएन्, एकैपटक कोरोना संक्रमण देखियो, संक्रममुक्त भएको ४ महिना भयो नियमित स्वासप्रश्वास सम्वन्धी समस्याको औषधि सेवन गरिरहेको छु ।”


कोरोना संक्रमण देखिएर आइसीयू र भेन्टिलेटरमा पुगेका विरामीहरुमा पोष्ट कोभिडको समस्या बढी देखिएको चिकित्सकहरु बताउँछन् । पछिल्लो दुई साता यता उपत्यकाका अस्पतालहरुको आइसीयू र भेन्टिलेटरमा कोरोनाका जटिल बिरामीहरु बढ्न थालेका छन् ।


चिकित्सकहरुका अनुसार, कोरोना संक्रमण देखिएकामध्ये कोहीमा लामो समयसम्म शारीरिक थकानको समस्या र कोहीमा मानसिक समस्या देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा.शेरबहादुर पुनले कोरोना संक्रमण देखिएर आइसियु र भेन्टिलेटरबाट घर फर्किएका केही बिरामीहरूमा दिर्घ कोभिडको समस्या देखिएको बताए ।


डा.पुनका अनुसार कोभिड–१९ निको भएपछि पनि केही बिरामीको स्वास्थ्यमा निरन्तर वा केहीमा तीनदेखि चार सातापछि समस्या देखिएमा त्यसलाई ‘लङ’ अर्थात दीर्घ कोभिड भन्ने गरिएको छ । “सङ्क्रमणमुक्त भएर घर गएकाहरूमा पुनः स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल आउँने गरेका छन् ।” डा पुनले भने,–‘उनहिरुमा ‘लङ’ कोभिडका समसया देखिएको छ ।’


कतिपयलाई कोरोना निको भएपछि पनि लामो समयसम्म चिकित्सकको परामर्शका आधारमा औषधी चलाउनु पर्ने आवश्यकता देखिएको डा पुनले जानकारी दिए ।

कोरोना निको भए पनि घर पुगेकाहरुमा शरीरमा अक्सिजनको मात्रा पुनः घटेर आउँने संख्या बढ्ने गरेको त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल डा. सन्तकुमार दास बताउँछन् । कोरोना संक्रमण मुक्त भएकाहरुमा अधिकांशले अत्यधिक थकान महसुस हुने, जोर्नी दुख्ने, रिङटा लाग्ने, अरुचि, श्वासप्रश्वासमा कठिनाइ भएर पुन अस्पताल आएको बताउने गरेको डा. दासले जानकारी दिए ।


डा. दासका अनुसार कोरोना निको भएर पनि पुन पोष्ट कोभिड भएर अस्पताल आएकाहरुमा मुटुमा समस्या देखिएर मुटुको औषधि नै चलाउनु पर्ने अवस्था सम्म देखिएको छ । उनले भने,–“कोरोना संक्रमण पुन बढ्न थालेको छ सामान्य हो भनेर हामीले हेल्च्याक्राई गदै नगरौँ, यसले शरिरमा कति समस्या पार्छ, थाहाँ छैन् ।”


श्वासप्रश्वासमा समस्या देखिएर शिक्षण अस्पताल पुगेका बिरामीहरूमध्ये केहीलाई ‘हाइ फ्लो अक्सिजन’को सहायतामा उपचार गनुपरेको चिकित्सकहरुले बताएका छन् । पछिल्लो समय दीर्घ कोभिडको समस्या पनि व्यापक बनेको त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा.निरज बमले बताए ।


उनका अनुसार कोरोना निको भएको लामो समयसम्म दीर्घ कोभिडको समस्या लिएर मानिसहरु अस्पताल आउँने गरेका छन् । उनले भने,“कोरोना नेगेटिभ देखिएपनि संक्रमणका कारण निमोनिया भएकाहरुमा लक्षण लामो समयसम्म देखिन्छ ।” घरमै एकान्तवासमा बसेका र सङ्क्रमणका कारण गम्भीर बिरामी नभएकाहरूमा पनि दीर्घ कोभिडको लक्षणहरू देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । उनले भने,“ होम आइसोलेसनमा बसेका वा कोरोना निको भएकाहरुमा कुनै पनि समस्या देखिएमा तुरुन्त चिकित्सकसँग परार्मश लिनुपर्छ ।”


विभिन्न अध्ययनहरुले तीनदेखि छ महिनासम्म कोरोना निको भए पनि असर रहिरह्ने देखाएको छ । मौसम परिवर्तनसँगै कोभिड–१९ सङ्क्रमणमुक्त भएका बिरामीहरूमा ज्वरो आउने, रुघा र खोकी लाग्नेजस्ता समस्या बल्झिएको चिकित्सकहरू बताउँछन् ।


ब्रिट्रिस मेडिकल जर्नलमा प्रकाशित लेखमा बेलायतमा भने लगभग दश प्रतिशतमा यस्तो समस्या देखिएको उल्लेख छ । अमेरिकामा ३५ प्रतिशत कोरोना पोजिटिभहरू तीन हप्तापछि पनि आफ्नो काममा फर्कन नसकेको उक्त लेखमा उल्लेख छ । अर्थात् यो समस्या विश्वव्यापी रहेको देखिएको अध्ययनहरुका आधारमा प्रष्ट भन्न सकिने अवस्था छ ।

कोरोना निको भएकाहरु केहीमा लामो समयसम्म मानसिक समस्या देखिने गरेको मानसिक रोग विशेषज्ञ डा. रितेश थापाले बताए । उनका अनुसार कोरोना निको भएर घर फर्किएकाहरुमा लामो समयसम्म डर चिन्ता ,बोल्न मन नलाग्ने जसता समस्या देखिने गरेको पाइन्छ । उनले भने,–“लामो समयसम्म अस्पतालमा एक्लै बसेँ, आखिरमा कोही नहुँदा पनि हुने रहेछ, अब किन चाहियो अरु आफ्न्त ? अब पनि म एक्लै बस्न सक्छु भन्न एक्लोपनको महसुस मानिसहरुमा वढाउने गरेको देखिएको छ ।”


डा थापाका अनुसार कोभिड मुक्त भएकाहरुमा सानो–सानो कुारमा पनि रिस उठ्ने, रुन मन लाग्ने, खाना खान मन नलाग्ने, आइसीयूमा बसेकाहरुमा त्यही आइसीयू वा भेन्टिलेटरको आवाज कानमा आइरहने जसको कारण निन्द्रा नलाग्ने जस्ता समस्या देखिएको पाइएको छ ।
स्वस्थ खाना, नियमित व्यायम गर्ने, सकारात्मक लेखहरू पढ्ने, आफूलाई तन्दुरुस्त राख्न कोशिश गर्ने, योगा/मेडिटेसन गर्ने, कुनै पनि नकारात्मक सोचाई आएको भए त्यस्ता मानिसहरुले आफ्न्तलाई भन्न वा चिकित्सकसँग परार्मश लिन डा. थापाको सुझाब छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया