टिकापुरका कांग्रेस सभापति २७ दिनदेखी धर्नामा
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्याता वितरणको विवाद बिभिन्न जिल्लामा अझै समाधान हुन सकेको छैन । क्रियाशील सदस्यता छानबिन समितिलाई दिएको समयमा क्रियाशील सदस्यताको विवाद नटुङ्गाउँदा यसले काँग्रेस वृत्तमा आक्रोश उत्पन्न गरेको छ ।
कैलालीमा पनि क्रियाशील सदस्याता सम्बन्धि विवाद देखिएको छ । कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा क्रियाशील सदस्यता सम्बन्धि विवाद देखिएको हो । कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ मा क्रियाशील सदस्यता वितरणमा मनोमानी भएको भन्दै क्षेत्रीय सभापति विगत २७ दिनदेखि धर्ना बसिरहेका छन् । कैलाली क्षेत्र नम्बर १ का सभापति भुवनेश्वर अधिकारीसहितका नेताहरू विधिविपरीत वितरण गरिएको क्रियाशील सदस्यता वितरण सच्याउनु पर्ने माग गर्दै धर्नामा बसेका छन् । टीकापुर नगरपालिका–१ मा पाँच सय ८१ जनालाई क्रियाशील सदस्यता वितरण गरिएको बताइएको छ ।
क्षेत्रिय सभापति अधिकारीले पाँच सय ८१ जनालाई अवेधानिक तरिकाले क्रियाशील सदस्यता बनाएको बताए । उनले विधान अनुसार क्षेत्रिय सभापतिले इन्ट्री गरेर मात्र केन्द्रमा नाम आउनु पर्ने हो तर आफूलाई थाहा नदिई इन्ट्री गरेको बताए ।
उनले भने, ‘२७ दिनदेखि धर्ना जारी छ । टिकापुर नगरपालिकाका पाँच सय ८१ जनाको क्रियाशील सदस्यता अवैधानिक तरिकाले केन्द्रमा आएको छ । क्रियाशील सदस्यताको फराम वडा, नगर हुँदै क्षेत्रमा आउनु पर्छ । तर, क्षेत्रमा नआएर सिधैं केन्द्रमा आएको छ । प्रक्रिया नपुगाइ आएकाले क्षेत्रिय सभापतिको नाताले मैलै इन्ट्री गरेको छैन । केन्द्रमा पठाएको पाँच सय ८१ जनाको नाम मलाई थाहा छैन । क्रियाशील सदस्यता वाफतको दस्तुर पनि आएको छैन ।’ उनले शक्तिको दुरुपयोग गरेर चोरबाटोबाट क्रियाशील सदस्यता वितरण गरेको बताए ।
उनले भने, ‘शक्तिको दुरुपयोग गरेर चोरबाटोबाट क्रियाशील सदस्यता वितरण भएको छ । पाँच सय ८१ जनालाई चोरबाटोबाट क्रियाशील सदस्यता वितरण गरेको छ । हामी २४÷२५ जना केन्द्रीय पार्टी कार्यालयमा आएर धर्ना दिइरहेका छौं । महासमिति सदस्य, पूर्व सांसद, पूर्व मन्त्रहिरु सबै धर्नामा हुनुहुन्छ । हाम्रा माग सम्बोधन नभए पार्टीको महाधिवेशनमा सहभागी हुँदैनौं र धर्ना पनि जारी राख्ने छौं ।’ सुरुमा कैलाली क्षेत्र नम्बर २ मा विवाद देखिएपनि अहिले त्यहाँ विवाद समाधान भइसकेको बताइएको छ ।
छानबिन समितिले पार्टी सभापति शेर बहादुर देउवालाई प्रतिवेदन बुझाउदै बाँकी रहेको विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्गोमा लगाउन आग्रह गरेको थियो । तर, केन्दीय कमिटीबाट पनि टुङ्गो लगाउन सकेन । पुनः विवाद समाधान गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिएको छ । उनीहरुलाई भदौ ३ गतेभित्र विवाद समाधान गर्न निर्देशन दिइएको छ ।
कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते सभापतिलाई प्रतिवेदन बुझाएको थियो । क्रियाशील सदस्यता विवाद देखिएका धनुषा क्षेत्र ४, सर्लाही क्षेत्र २ बारा र सप्तरीका नयाँ क्रियाशील सदस्यहरुको बारेमा पार्टी नेतृत्वले टुंग्याउनुपर्ने समितिले भनेको थियो । यी जिल्लाका पार्टी नेता तथा कार्यकर्ता पार्टी कार्यालयमा धर्नामा बसेका छन् ।
प्रतिक्रिया