सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

रोल्पा । वर्षायाममा यहाँका अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी आवतजावतमा सास्ती भोग्दै आएका छन् । पूर्वीक्षेत्रको महत्वपूर्ण बजारकेन्द्र सुलिचौरबाट वडाचौर, हार्जङ, गुम्चाल, सिउरी हुँदै गाम जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ ।
ती स्थानबाट सुलिचौरसम्म आउँदा दुई दिनसम्म पैदल हिँड्नुपरेको स्थानीयवासीको गुनासो छ । बिरामी बोकेर सुलिचौरसम्म आउँदा दुई दिन लाग्ने सुनछहरी गाउँपालिका– ४ स्युरीका हर्क घर्तीमगरले बताए ।
“बाटो अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले थप सास्ती भोग्ने गरेका छन्”, उनले भने । सुलिचौरमा रहेका बैंक, अस्पताल, खाद्यान्न खरिद तथा स्थानीय उत्पादन बिक्रीका लागि पैदल यात्रा गर्नुपरेको स्थानीयवासीको गुनासो छ । बाटो मर्मत गर्न स्थानीय सरकार र अन्य सरोकारवालाको अझैसम्म ध्यान नगाएको उनीहरुको गुनासो छ ।
जिल्लाको पश्चिम र उत्तर भेगमा जनताले पनि यस्तै सास्ती भोग्ने गरेका छन् । शहीदमार्ग र रामपुर कपुरकोट सडकखण्डमा वर्षात्सँगै सडक हिलाम्ये हुने समस्या छ ।
शहीदमार्गको ट्याक खुला भएको एक दशक पूरा भए पनि सडक सुधार हुन नसक्दा यात्रुले हिलो र धुलोको समस्या भोग्दै आएका छन् । यस्तो सडकमा आफूहरु सधैँ अत्यधिक जोखिम मोलेर गाडी चलाउन बाध्य रहेको जीप चालक तीलक बुढामगरको भनाइ छ ।
वर्षातका समयमा हिलो र खाल्डाखुल्डीले सताउँछ भने हिउँदको समयमा धुलो उड्दा स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको अर्का चालक लीला घर्तीमगरले बताए । शहीदमार्ग सडक तथा रामपुर कपुरकोट सडकखण्डमा दिनहुँ सयौँको सङ्ख्यामा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन लामो तथा छोटो दूरीमा चल्ने गरेका छन् ।
शहीदमार्ग दाङबाट सुरु भई जिल्लाको होलेरी हुँदै थवाङसम्म १३८ किलोमिटर लामो छ । दाङको घोराही उपमहानगरपालिका हुँदै रोल्पाको रुन्टीगढी गाउँपालिका, त्रिवेणी गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिकाको थबाङ हुँदै रुकुमपूर्वको भूमे गाउँपालिकासम्म फैलिएको छ ।
सो सडकमा वर्षातका समयमा दाङबाट पश्चिम रोल्पाको व्यापारिक केन्द्र घर्तीगाउँसम्म यातायातका साधन चले पनि त्यस अगाडि भने बाटो अवरुद्ध हुने गर्दछ ।
शहीदमार्गसँग जोडिएका सहायक मार्ग अवरुद्ध हुँदा स्थानीयले पैदलयात्रा गर्न बाध्य भएका छन् । घर्तीगाउँबाट ४८ किलोमिटर दूरीमा रहेको थवाङ सडक वर्षात्का समयमा बन्द हुँदा स्थानीयवासी घण्टौँ लगाएर पैदल यात्रा गर्ने गर्दछन् ।
शहीदमार्ग सडक जिल्ला सदरमुकाममा लिवाङमा रहेको शहीदमार्ग सडक आयोजनाले हेर्ने गर्दछ ।
जिल्लाको पूर्व र पश्चिम जोड्ने रामपुर कपुरकोट सडकखण्डमा पनि समस्या आउने गरेको छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख दिपक डाँगीका अनुसार सडकमाथिबाट झर्ने ढुङ्गामाटो र सडक मुनिबाट जाने पहिराले सडकलाई प्रभावित गर्ने गर्दछ ।
रामपुर कपुरकोट सडकखण्ड प्यूठानबाट शुरु भएर रोल्पाका सुनिलस्मृति गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका र गङ्गादेव गाउँपालिका हुँदै सल्यानसम्म पुगेको छ ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया