साहारा खोज्दै जुम्लादेखि जर्मनी पुगेका धन

काठमाडौँ । अचेल भाषा अनुवादक धन चौलागाईको दौडधुप बढ्दो छ । नेपाली, जर्मनी र अंग्रेजी भाषाको अनुवादकका रुपमा उनी जर्मनी, अष्ट्रिया, स्वीट्जरल्याण्ड र अन्य देशका कुना–कुना दौडिरहेका छन् । विभिन्न देशका सरकार तथा कम्पनीले उनको सहयोग माग्ने गरेको छ । भाषाप्रतिको प्रेमले सन् २००९ मा उनले डल्मेट्चर नेपाली नामक भाषा अनुवाद गर्ने कम्पनी सुरु गरिसकेका छन् ।
जर्मनीको म्युनिख सहरमा सुरु गरिएको डल्मेट्चर नेपाली कम्पनीमार्फत धनले अनुवादसँगै अड्डा अदालतमा पर्ने गरेका मुद्दा, सरकारी तथा निजी कम्पनीका कार्यालयमा आइपर्ने काम गर्दै आएका छन् । यस्तै, उनी पथ प्रदर्शकको काममा समेत क्रियाशील छन् । जर्मनी भाषासम्बन्धि व्यावसायिक काम थाल्ने उनी औँलामा गन्न सक्ने नेपालीभित्र पर्छन् । जर्मनीस्थित नेपाली राजदूतावासमा काम गर्ने राजेन्द्र स्थापितपछि उनी एक्ला नेपाली हुन् ।
जर्मनीको म्युनिख विश्व विद्यालयबाट सोसल वर्कमा स्नातक गरेका चौलागाई वर्षेनी पर्यटकहरूलाई घुमाउन नेपाल आइपुग्छन् । यति, मात्र होइन सामाजिक सहयोगका काममा उनले हात हालेका छन् । आफू जहाँ रहे पनि मन नेपालमै हुन्छ, उनको । जर्मनीमा विभिन्न च्यारिटी कार्यक्रम गरेर त्यसबाट उठ्ने रकम नेपालमा सामाजिक सेवामा खर्चिने गर्छन् । नेपालका भूकम्प पीडितका लागि उनले तीन सय घर बनाउन सफल बने । ‘गोरखा, ओखलढुंगा, नुवाकोट जिल्लाका भूकम्प पीडितहरूका लागि नयाँ आवास बनाउन सफल भएपछि निकै खुसी लाग्यो,’ उनले सुनाए, ‘म जहाँ रहे पनि नेपाल र नेपालीका लागि योगदान गरिरहन्छु ।’
जुम्लाको नुवाकोटमा जन्मिएका चौलागाईलाई आफ्नो जीवन कुनै चलचित्रको कथा जस्तै लाग्छ । सानै हुँदा बुवा–आमा गुमाए । परिवारमा दाइ, काका, काकी भए पनि पढ्ने, लेख्ने वातावरण पाएनन् ।
गाई चराउने, खेतमा काम गर्नु पर्ने बाध्यता थियो । उनको दयनीय अवस्था देखेर बाल मन्दिरमा काम गर्ने एक व्यक्तिले उनलाई काठमाडौँ ल्याए । त्योबेला उनको उमेर ८ वर्ष मात्र थियो । तर, बाल मन्दिरमा ५ वर्ष पुगेकालाई मात्र भर्ना लिइन्थ्यो । ‘जसले मलाई काठमाडौँ ल्याउनु भयो उहाँको नाम त याद छैन, तर मलाई आफ्नो उमेर ५ वर्ष भन्नु भनेर सम्झाइरहनु हुन्थ्यो,’ उनले सुनाए, ‘मैले त्यसै गरेँ, मेरो भर्ना भयो ।’
जुम्लादेखि काठमाडौँसम्म ल्याउने ती व्यक्ति बेलाबेला भेट्न आइरहन्थे । चाँदबाग स्कुलले त्यही बेला एउटा परीक्षा लियो । परीक्षामा नाम निकाल्नेहरुूलाई त्यही पढ्न पाउने व्यवस्था थियो । परीक्षा दिने ४५ जनामध्ये ५ जनामा पर्न उनी सफल भए ।
४ कक्षासम्म चाँदबागमै पढेका उनी फेरि बाल मन्दिरमै फर्के । त्यही बेला उनले बाल मन्दिर वेल्फेयर क्लब खोलेर अतिरिक्त क्रियाकलापमा सक्रिय बने । यसै क्लबमार्फत पशुपति बृद्धाश्रममा गएर सहयोग गर्ने, कला, पेन्टिङ जस्ता सिर्जनात्मक काममा लाग्ने, आफ्ना साथीहरूलाई संलग्न गराउन थाले । बाल मन्दिरमा रहँदा धेरैका प्रिय थिए । कोही बिरामी भए अस्पताल लैजाने, अस्पतालमा कुर्ने, अफ्ठ्यारो पर्दा अरुलाई सहयोग गर्ने, काम आयोजना गर्दा नेतृत्व गर्ने गर्थे ।
त्यही बेला जर्मनीकी नागरिक डा. रोशी स्रोइटर निरन्तर बाल मन्दिर आउने जाने गर्थिन् । र, त्यहाँका बालबालिकालाई सहयोग गर्थिन् । त्यसै क्रममा उनीसँग धनको बोलचाल, भेटघाट बाक्लिदै गयो । यहाँको अवस्थाबारे उनले बयान गर्थे ।

सम्बन्ध विस्तारै राम्रो बन्दै गयो । ‘माया दिने केयर गर्ने कोही भेटे झैं लाग्यो,’ त्यो पल सम्झिदै उनले भने । डा. रोशीले धनसँगै बसिरहेकी पोखराकी एक विद्यार्थी अनुराधालाई धर्म पुत्रीका रुपमा ग्रहण गरिन् । त्यसै मौकामा धनलाई छोरा मानेर जर्मनी पुर्याइन् । धनले त्यहीको शिक्षा दिक्षा पाए । जर्मन र अंग्रेजी भाषा राम्रो बनाउँदै गए । तर, नेपाली भाषा, संस्कृतिलाई पनि उत्तिकै माया गरिरहे । हरेक दिन नेपाली भाषाका समाचार, तथा लेख पढ्ने, युट्युबहरुमा नेपाली भाषामै बनेका डकुमेन्टी हेर्ने क्रम छुटाएनन् । अहिले पनि त्यो सिलसिलालाई निरन्तरता दिइरहेका छन् ।
जर्मनी भाषामा कारिसिमोको शब्दको अर्थ हुन्छ, सकारात्मक । कारिसिमो संस्थाका सचिव रहेका धनले जर्मनीमा विभिन्न च्यारिटी सो कार्यक्रमहरु आयोजना गरेर नेपालका विद्यार्थीका लागि निरन्तर सहयोग गर्दै आइरहेका छन् । नेपालको चिल्ड्रेन्स फ्यूचर अर्गनाइजेसनले विभिन्न जिल्लाका एक सय ९ जना अनाथलाई पढाइरहेको छ । बाँकी १ सय ८० जना बालबालिकाको पढाईमा सहयोग पुर्याउँदैै आएको छ ।
यसलगायत अरु संस्थासँग समन्वय गरेर उनी अगाडि बढिरहेका छन् । आफ्ना लागि मात्र नभई उनले नेपालका विद्यार्थीहरूको सुनौलो भविष्यका लागि योगदान पुर्यायाइरहेका छन् । उनले केही वर्षअघि मात्रै धादिङको सुनगाभा एकेडिमीमा पढ्ने १५ जना विद्यार्थीलाई जर्मनी घुमाउने व्यवस्था मिलाए ।
तीन हप्ताको त्यो बसाईमा नेपाल र जर्मनीका विद्यार्थीहरुले एक अर्कासँग धेरै कुरा सिक्ने मौका पाए । यसपालि तनहुँ, नुवाकोट, पोखरा, धादिङ, ओखलढुंगालगायत अन्य केही जिल्ला पुगेका उनी यस्तै रचनात्मक कामलाई निरन्तरता दिन घोत्लिरहेका हुन्छन् । नेपालका विभिन्न ठाउँ कुदिरहेका हुन्छन् । उनका बारेमा निर्माण गरिएका तीनवटा डकुमेन्ट्री जर्मनीका टेलिभिजनले प्रशारण गरिसकेका छन् । त्यस्तै, जर्मनी, अष्ट्रियाका विभिन्न पत्रपत्रिका र अनलाइनले उनका बारेमा समाचार छापिसकेका छन् ।
धनको सकारात्मक पक्ष भनेको उनी अरुलाई दोष दिएर, गुनासो गरेर बस्दैनन् । बरु आफूले आफ्नो स्थानबाट के सहयोग गर्न सकिन्छ, सधैँ त्यसैमा जोड दिन्छन् । राजनीतिमा उनको रूची छ । समाजसेवा त उनले आफूसँगै अघि बढाएका छन् ।
हरेक दिनजसो नयाँ डकुमेन्ट्री हेर्न छुटाउँदैनन् । नेपाली गीत, संगीत उनको मुटुमा छ । एक्लै हुँदा सुनेर आनन्दित बन्छन् । ‘म जहाँ पुगे नि के भयो ?’ उनी भन्छन्, ‘मेरो मन त, नेपाली हो ।’
प्रतिक्रिया