बिहीबार, फागुन २१, २०८२

को हुन् ? भाइरल नाम ‘राम बहादुर’

हिमाल पुन २०७८ भदौ ५ गते १९:५९

काठमाडौं । सामाजिक सञ्जाल सबैका लागि खुल्ला मञ्च हो । बुझ्नेले उपयोगी त नबुझ्नेका लागि अनुपयोगी । सूचना प्राप्त गर्नसमेत सहज बन्दै गएको सामाजिक सञ्जालमा बेला बखत केही न केही भाइरल हुँदै आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कुनै समय ‘विनोद’ नाम एकाएक चर्चामा आएको थियो । त्यस्तै यतिबेला सामाजिक सञ्जालमा एउटा नाम चर्चामा रहँदै आएको छ । सामजिक सञ्चाल ट्विटरको ट्रेन्डिमा रहेको यो नाम फेसबुकमा समेत देखिन थालेको छ । उक्त नाम हो ‘राम बहादुर’ ।

‘राम बहादुर’ चर्चामा पुगेसँगै विभिन्न ट्रोलसमेत बन्दै आएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता राम बहादुर थापा ‘बादल’को फोटोको प्रयोग गरेर समेत यो नाम ट्रोल भइरहेको छ ।

चर्चाको उत्कर्षमा रहेको यो नाम एकाएक कसरी चर्चामा आयो ? जिज्ञासाको विषय बनेको छ । यो नाम एकाएक चर्चामा आउनुको कारण थाहा नभए पनि यो नाममा चर्चाको शिखरमा छ । तर, यो नाम किन यति चर्चामा छ योबारे सबै अज्ञात छन् ।

केही दिनअघि नेपालको ट्विटर ट्रेण्डिङमा अफगानिस्तान र तालिवान थियो । तर, हिजो आज राम बहादुर नाम ट्रेन्डिङमा छ । यसको कारण के हो ?

यो नाम चर्चामा आउनुको मूल कारण हो, सञ्जय सिलवाल गुप्ताको पोडकास्ट भिडियो । बुधबार गुप्ताले ज्योती ग्रुपका निर्देशक सौरभ ज्योतिसँग अन्तरर्वार्तामा बोलेको ‘रामबहादुर’को प्रसंगले नै सामाजिक सञ्जालमा ट्रोल बनेको हो ।

अन्तर्वार्तामा देशको व्यापार घाटाको विषयलाई लिएर गुप्ताले देशमै बनेका उत्पादनहरू र आयातित वस्तुमा कसरी सन्तुलन ल्याउन सकिन्छ भनेर गरेको प्रश्नमा ज्योतीले देशकै सामान प्रयोग गर्नु पर्ने कुरालाई जोड दिँदै “रामबहादुर”को नाममा एउटा उदाहरण दिएका थिए ।

उनले अन्तर्वार्तामा भनेका छन्, “नेपालीलाई नै नेपाली उत्पादनको बारेमा सचेतना छैन, हामीले हाम्रो सोच बदल्नु पर्छ ।”

उदाहरण दिँदै उनी थप्छन्, “रामबहादुर भन्ने एउटा साधारण नेपाली, आलार्म क्लक बज्छ, उठ्छ अनि निभाउँछ, त्यो आलार्म क्लक चीनमा बनेको हो, किचनमा जान्छ र आफ्नो लागि अमेरिकामा बनेको केलोक्सको सिरेल बनाएर खान्छ, लिभाइसको जिन्स लगाउँछ अनि बंगलादेशको शर्ट लगाउँछ, अनि जापानमा बनेको मोटरसाइकल चढ्छ र जागिर खोज्न निस्किन्छ ।”

“दिनभर जागिर खोजेर थाकेर रामबहादुर घर फर्केपछि ऊ मलेसियामा बनेको सोफामा बस्छ, फ्रान्समा बनेको वाइन गिलासमा हाल्छ र ब्राजिलमा बनेको चप्पल लगाउँछ, चीनमा बनेको टेलिभिजन हेर्छ, र ऊ आफ्ना लागि राम्रो आम्दानी हुने जागिर नेपालमा किन पाइएन भनेर सोच्छ,” उनी भन्छन् ।

उनले बोलेको यही उदाहरणका कारण यो नाम ट्विटरको ट्रेन्डिङमा परेको हो । साथै उनको सामाजिक सञ्जालमार्फत चर्को आलोचनासमेत भइरहेको छ । यो विषय चर्चा आएसँगै ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतीको बारेमा विविध ट्रोलसमेत बनेका छन् ।

थुप्रै मिमहरू ट्वीटर र फेसबुकमा शेयर भएका छन् भने टिकटकमा विभन्न भिडियोहरू बनेका छन् ।

सञ्जय सिलवाल गुप्ताको पोडकास्ट

प्रतिक्रिया