नेपाल टेलिकमको सफ्टवेयर सुरक्षा जोखिम बढ्दै
काठमाडौं । सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको विभिन्न टेलिकम प्रणाली सुरक्षाको जोखिममा रहेको देखिएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले प्रयोग गर्ने अधिकांश प्रणालीमा पर्याप्त जोखिम व्यवस्थापन नभएको भेटिएको महालेखापरीक्षकले उल्लेख गरेको छ ।
महालेखापरीक्षकको प्रतिवेदन अनुसार कम्पनीको बिलिङ प्रणाली, डाटा सेक्युरिटी, विभिन्न किसिमका सफ्टवेयर, सूचना प्रविधि उपकरणहरुको सञ्चालन लगायतका क्षेत्रमा पर्याप्त जोखिम व्यवस्थापन नभएको भेटिएको हो ।
यद्यपी कम्पनीले अन्य कम्पनीहरुका उपकरण तथा सफ्टवेयरहरुको प्रयोग गरिरहेकोले सफ्टवेयर सुरक्षाको जोखिम अत्यन्त बढी रहेको समेत महालेखापरीक्षकले उल्लेख गरेको छ ।
कम्पनीले टेलिकम कोर उपकरण तथा ती उपकरणहरु रहेका भवनहरुमा सुरक्षाका लागि पहुँचमा नियन्त्रण, तापक्रमको नियन्त्रण, भवन आइसोलेट जस्ता उपायहरुको समेत उचित प्रबन्ध नपरेको औंल्याईएको छ । यसका अतिरिक्त कम्पनीले सफ्टवेयर तथा डाटा सेक्युरिटीको समेत बलियो सुरक्षाको प्रबन्ध यथाशीघ्र गर्नुपर्ने सुझाब समेत महालेखापरीक्षकको कार्यालयले दिएको छ ।
महालेखापरीक्षकले आफ्नो प्रतिवेदनमा कम्पनीको उपकरण र सफ्टवेयरहरु जोखिममा रहेको उल्लेख गरिरहँदा केही महिनाअघि मात्र कम्पनीको ग्राहक डाटाहरु ह्याक भएको समाचार बाहिर आएको थियो । ह्याकरले टेलिकमका केही डाटाहरु डार्क वेबमा राखेर बेचेको दाबी गरेको थियो ।
यदपी सो डाटा तथा तथ्यांकहरु टेलिकमको नभएको कम्पनीले दाबी गरेको थियो । केही दिनअघि ह्याकरले डार्क वेबमा कम्पनीका डाटाहरु ह्याक गरेर राखेको भन्ने समाचारहरु प्रकाशित भएकोमा हाल कम्पनीले ह्याक नभएको बताएको हो । त्यसैगरि टेलिकमले ग्राहकहरुको सम्पूर्ण डाटा सुरक्षित रहेको समेत जानकारी दिएको हो ।
नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानबिन सुुरु गरेको थियो ।
कम्पनीले यसको लागि आन्तरिकरुपमा छानबिन समिति गठन गरेर अध्ययन अनुसन्धान गराएको थियो । सोही समितिको अध्ययन अनुसन्धानको निष्कर्षको आधारमा कुनै आक्रमण नभएको दाबी गरिएको हो ।
‘कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानबिन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको छ र आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।
प्रतिक्रिया