आइतबार, माघ ६, २०८१

पार्टी छाेडेका नेतालाई कारवाही गर्न एमालेले बोलायो केन्द्रीय कमिटी

१० बुँदे कार्यान्वयन र विधान महाधिवेशनबारे पनि छलफल हुने

मेरोन्यूज २०७८ भदौ १० गते ८:३७

काठमाडौं । नेकपा (एमाले) ले आसन्न विधान महाधिवेशन, १० बुँदे कार्यान्वयन र एमाले छाडेका नेतालाई कारवाही गर्ने विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

Advertisement

बैठक मध्यान्ह १२ बजेपछि ललितपुरसको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने छ । एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमाले केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो ।

१० बुँदे सहमति कार्यान्वयनको अर्काे सहमति पश्चात माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्दै छ ।

केन्द्रीय कमिटी बैठकमा १० बुँदे कार्यान्वयन प्रस्ताव सम्वन्धी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन बारे र पार्टी बिभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारवाही प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले आगामी असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन, कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिकाको अधिवेशन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

१४ जना सांसदलाई कारवाही गर्न एमालेले गरेको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले रोकेर राखेको विषयमा पनि आजको बैठकमा छलफल हुने नेता तामाङले बताए ।

प्रमुख प्रतिपक्षी दल एमाले फुटाउन सरकार र सभामुख नै लागि परेको एमालेका शीर्ष नेताले बताउँदै आएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले सरकारले अध्यादेश ल्याएर र कारवाही सिफारिस भएका सांसदलाई सभामुखले कारवाही नगरी एमाले फुटाएको आरोप लगाएका थिए ।

नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेताहरुलाई घरघरबाट उठाएर एउटा रिसोर्टमा लगि वन्धक बनाएको ओलीको आरोप थियो ।

प्रतिक्रिया