बिहीबार, फागुन २१, २०८२

कांग्रेसको निर्वाचन समितिले अपूर्ण नामावली नबुझ्ने

महाधिवेशन भाड्न पौडेल समूहले पक्षपोषण गरेको संस्थापनको आरोप

मेरोन्यूज २०७८ भदौ १० गते १०:१८

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले क्रियाशील सदस्यताको अपूरो नामावली नबुझ्ने बताएको छ । समितिले महामन्त्री पूर्णबहादुर खड्काले बुझाउन खोजेको ३८ जिल्लाको नामावली बुधबार बुझेको थिएन ।

Advertisement
nepal life insurencenepal life insurence

त्यसपछि निर्वाचन समितिका संयोजक महादेव यादवले जिल्ला सभापतिहरु आन्दोलनमा रहेको र पार्टीभित्र सदस्यताका विषयमा सहमति बनिनसकेको भन्दै पूरा नामावली मात्रै बुझ्ने जानकारी महामन्त्री खड्का र प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई गराएका थिए ।

यसले कांग्रेसको ९ मैसिरदेखि १३ मंसिरसम्म १४ औं महाधिवेशन गर्नेगरी तीन भदौमा बनाएको कार्यतालिका विथोलिने सम्भावना बढेको छ । त्यो कार्यतालिका अनुसार १८ भदौमा वडा अधिवेशन गर्नुपर्ने हुन्छ । १८ भदौ आउन एक सातामात्रै बाँकी रहदा क्रियाशील सदस्यताको नामावली बुझाउन नसकेपछि अधिवेशन सुरु हुनेमा आशंका बढेको हो ।

कांग्रेसको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जिल्ला सभापतिहरु नामावली सार्वजनिक गर्नु पर्ने माग राखेर पार्टी कार्यालयमा धर्नामा बसेको र त्यो धर्नालाई पदाधिकारीसहितका शीर्ष नेताले समर्थन जनाएकाले अपूरो नामावलीको सूची बुझ्न नसक्ने जानकारी पार्टी नेतृत्वलाई गराएको बताए ।

‘सदस्यताको विवाद सकिएको छैन । जिल्ला सभापतिहरु सदस्यताको नामावली सार्वजनिक गर्न माग गर्दा पार्टी केन्द्रीय कार्यालयमा धर्नामा हुनुहुन्छ । त्यसलाई शीर्ष नेताहरुले नै समर्थन गर्नुभएको छ,’ समिति सदस्य घिमिरेले मेरोन्युजसँग भने, ‘यस्तो अवस्थामा अपूरो नामावली हामीले बुझ्न सक्दैनौ भनेर नेतृत्वलाई जानकारी गराएका छौं ।’

अनशनमा बसेका जिल्ला सभापतिहरुले नामावली सार्वजनिक गर्न पर्ने माग गर्दै आफूहरु अनशनमा रहेकाले अपूरो र सार्वजनिक नगरिएको नामावलीको सूची नबुझ्न निर्वाचन समितिलाई आग्रह गरेका थिए ।

जिल्ला सभापतिहरुको अनशनमा एक्केबद्धता जनाउन नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराल, दीपक गिरीलगायत पार्टी केन्द्रीय कार्यालय पुगेका थिए ।

यता संस्थापन भने नेता पौडेल समूह र सो समूह निकट जिल्ला सभापतिहरुको कुरा सुनेर समितिले नामावली नबुझेको भन्दै निर्वाचन समितिसँग रुष्ट भएको छ ।

महामन्त्री खड्काले आफूले नामावली बुझाउँदा नबुझेको भन्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई व्रिफिङ गरेका छन् । देउवाले निर्वाचन समिति संयोजक महादेव यादवलाई टेलिफोन गरेर टुंगिएको जति बुझेर अधिवेशन सुरुवात गर्न भनेका छन् ।

तर, संयोजक यादवले भने आफूहरुले सदस्यताको नामावली बुझेर सार्वजनिक गर्दा भोटर लिष्ट सार्वजनिक गरेको हुने भन्दै पहिला सार्वजनिक गरेर मात्रै आफूहरुलाई बझाउन सुझाएका थिए ।

निर्वाचन समितिको जिम्मेवारी निष्पक्ष रुपमा महाधिवेशन सम्पन्न गर्नु रहेको भन्दै ती सदस्यले आन्दोलनकै बीचमा केही जिल्लाको नामावलीमात्र बुझ्दा निष्पक्षतामा प्रश्न उठ्ने बताए ।

पार्टीका शीर्ष नेताहरुले सहमति गरेर केही जिल्लाको मात्रै पनि नामावली बुझाए भने निर्वाचन समिति बुझ्न तयार रहेको निर्वाचन समिति सदस्यहरु बताउँछन् ।

प्रतिक्रिया