एनआरएनएको उपाध्यक्षमा आर के शर्माको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी कार्यकालका लागि उपाध्यक्षमा राजेन्द्र कुमार शर्माले उम्मेदावारी दिने घोषणा गरेका छन् । कतारमा बस्दै आएका उनले उम्मेदवारी दिनुको कारण र आधार समेत स्पष्ट पारेका छन् ।
उनको भनाई जस्ताको तस्तै
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् २०२१–२०२३ कार्यकालका लागि उपाध्यक्ष पदको उम्मेदवार म आरके शर्मा (राजेन्द्रकुमार शर्मा)को अपील
आदरणीय गैरआवासीय नेपाली अग्रज,दाजुभाई तथा दिदीबहिनीहरु,
सर्वप्रथम, म यहाँहरु सबैमा नेपालीहरुको नजिकिदै आएका महान चाडपर्वहरुको अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । यो अवसरमा म समस्त नेपाली र विश्वभर विभिन्न क्षेत्रमा क्रियाशिल मेरा गैर आवासीय अग्रज तथा मित्रजनहरुमा सुस्वास्थ्य, दीर्घायू तथा निरन्तर प्रगतिको कामना गर्दछु । कोभिड महामारी अझै साम्य नभएकाले सबैमा स्वास्थ्य सावधानी अपनाउन र सजक रहन हार्दिक अपील गर्दछु ।
विश्वभर छरिएर रहेका नेपालीमनहरुलाई एकताबद्ध गर्दै मातृभूमी नेपालको विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको १८ बर्ष पुगिसकेको छ । यो यात्रालाई सफलतापूर्वक यहाँसम्म ल्याई पुर्याउन हाम्रा अग्रज तथा तपाईहरु सबैको लगाव र समर्पणले सम्भव भएको हो । सबैको साझा प्रयासले गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीको साझा संस्थाकोरुपमा विकास भएको छ । ८० भन्दाबढि देशमा औपचारिक सञ्जालको विस्तार गरेर एनआरएनए वास्तवमै जुनसुकै भुगोलमा रहने नेपाली मनहरुको साझा संस्था बनेको छ ।
गैरआवासीय नेपाली संघको ‘नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्रसहित चलेको अभियानमा म विभिन्न समयक्रममा यहाँहरुको विश्वासमा नेतृत्वमा रहेर समेत जिम्मेवारी निर्वाह गरेको छु । मध्यपूर्व संयोजकको २ बर्षे कार्यकालको अवधि होस् या आइसीसी सचिव पदमा रहेर यस पवित्र सामाजिक संस्थाबाट प्राप्त अनुभवलाई संगालेर आगामी कार्यकाल २०२१—२०२३ को लागि एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।
म मध्यपूर्व संयोजक हुँदा होस् या आइसीसी सचिव हुँदा हामीले एनआरएन अभियान र सरकारले चाल्नु पर्ने कदम तथा दीर्घकालीनरुपमा अपनाउनु पर्ने पोलिसीका विषयहरु निरन्तर उठाइ रहेका छौं । केही विषयहरु संवोधन भएपनि हामीले उठाएका केही मुद्धाहरुलाई स्थापित गर्न अझै सकेका छैनौ । सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार बनाउँदै श्रमिकहरुको सम्मान र देश विकासको रामवाण रेमिट्यान्सको सही सदुपयोग अझै हुन सकेको छैन । एनआरएनएलाई विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा चौतारी बनाउने मेरो अभियान छ । मेरो तन, मन र धन सदैव एनआरएन अभियानमा समर्पित रहने ब्यहोरा हार्दिकताका साथ अनुरोध गर्दछु ।
विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाईले मलाई उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढि योगदान दिन गरेको अनुरोधलाई आत्मसात् गर्दै उपाध्यक्ष पदमा उम्मेदबार दिने निर्णय गरेको हुँ । एनआरएनको यो अभियानलाई थप उचाईमा पुर्याउन सतप्रतिशत प्रतिवद्ध रहेको जानकारी गराउँदछु ।
उपाध्यक्ष पदमा मेरा ५ आधार
१, सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगारः वैदेशिक रोजगारमा रहेका मध्यपूर्व, मलेसिया, दक्षिण कोरिया, जापान, अफ्रिका लगायतका देशमा रोजगार गर्ने कामदारका मुद्दा पहिलो प्राथमिकतामा राख्न मेरो उम्मेदवारी हो । आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरुको सही सम्मान हुन सकेको छैन । देश धान्ने हिरोहरुको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ । सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्यमा छुट्टै कोष स्थापना गरी पीडितलाई तत्काल सहयोग गर्न र स्वास्थ्य सुरक्षा तथा जनचेतनाका कार्यक्रम संचालन गर्न मेरो उम्मेदवारी हो ।
२, गैरआवासीय नेपाली नागरिकताः सन् २००५देखि हाम्रो माग गैरआवासिय नेपाली नागरिकताको निरन्तता अझै टुङ्गोमा पुगेको छैन । २०७२ को संविधानले गैरआवासिय नागरिकताको हक प्रत्याभुत गरेपनि नागरिकता बिधेयक विचाराधिन छ । कानुन ल्याई कार्यान्वयनमा ल्याउन संघको तर्फबाट लबी गर्न मेरो उम्मेदवारी हो । त्यसैगरी गैरआवासिय नेपालीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली ऐन बन्ने प्रकृयामा छ । गैरआवासीय ऐन हाम्रो माग अनुसार ल्याउनका लागि मेरो उम्मेदवारी हो ।
३, रेमिट्यान्सको सही सदुपयोग र लगानीः विदेशबाट पठाएको रेमिट्यान्सको ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । देश विकासको रामबाण मानिने रेमिट्यान्सलाई अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा योगदान पुर्याउने वातावरण बनाउनु मेरो प्राथमिकता हो । साथै विदेशी लगानी नेपाल भित्र्याउन र विदेशमा रहेका आम एनआरएनहरुको सामुहिक लगानी ल्याउन मेरो विशेष जोड रहनेछ । १० अर्बको एनआरएन नेपाल डेभलपमेण्ट फण्डमा विशेषगरी श्रमिक बर्गको लगानी सुनिश्चितता गर्नका लागि पनि मेरो उम्मेदवारी हो ।
४, स्वदेशमा पर्यटन प्रवर्दन र विदेशमा नेपाल चिनाउनः पर्यटकहरुलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्नेछु । पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैर आवासीय नेपाली विज्ञहरुलाई समेटेर विशेष कार्यदल गठन गरी एनआरएन अभियान अन्तर्गत नै पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरु संचालन गर्नतिर दत्तचित्त भएर लाग्नेछु । साथै, एनआरएनए भनेको नेपाल बाहिरको नेपाल हो त्यसैले विदेशमा नेपाल र नेपालीपन झल्काउन पहल गर्नेछु ।
५, एनआरएनमा सबैको स्वामित्वः एनआरएन धनीहरुको मात्रै संस्था भन्ने भ्रमलाई चिर्दै सम्पुर्ण विदेशमा रहनुभएका नेपालीहरुको साझा संस्थाकारुपमा विकास गर्ने लक्ष्य मैले लिएकोछु । मध्यपूर्वमा नेपालीलाई समस्या पर्दा होस् वा अफ्रिकामा नेपाली चेली परिबन्दमा पर्दा, चाहे विश्वकै कुनै कुनामा नेपालीले दुख पाउँदा एनआरएन सधै निस्वार्थ रुपमा खट्नु पर्छ । यसमा मेरो भूमिका अग्रपंक्तिमा रहनेछ । विदेशमा रहेका कलाकार, खेलाडी, स्वास्थ्यकर्मी, विद्यार्थी र विभिन्न पेशाकर्मीको छुट्टै सञ्जाल बनाएर राष्ट्र विकासमा टेवा पुर्याउने कार्यको शुरुवात गर्नेछु । भावनात्मक एकतासहितको बलियो संगठन बनाउन पहल गर्नेछु ।










लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
फूलखेतीबाट वार्षिक ८ लाख आम्दानी गर्दै धनगढीकी सुशीला
एमएडब्लू वृद्धि मोटर्सद्वारा बिर्तामोडमा नयाँ नामी भिगो अनावरण
दरबारमार्गमा जलरङ माध्यममा नयाँ प्रयोग
पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषित सहर
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया